अघिल्लो सोमबार (साउन १९ गते) खोटाङको केपिलासगढी गाउँपालिकामा रहेको एक विद्यालयबाट घर फर्किँदै गरेकी १४ वर्षीया बालिका साँझ अबेरसम्म पनि घर आइपुगिनन्।
अभिभावकले खोजी गर्न थाले। रातैभरि उनको केही सुराक भेटिएन। अभिभावक, गाउँले र शिक्षकहरूले पनि उनको खोजीमा सहयोग गरे। कतै फेला परिनन्।
भोलिपल्ट अर्थात् साउन २० गते मंगलबार उनी स्कुलबाट फर्कने बाटोमै रहेको जंगलको एउटा ओढारमा भेटिइन्। त्यसपछि बालिकाले जे सुनाइन्, त्यो सबैका लागि अत्याउने खबर थियो।
‘विद्यालयबाट फर्कने क्रममा उनीभन्दा केही सिनियर दुई जनाले बाटो छेकेर जंगलमा पुर्याएर जबरजस्ती करणी गरेको बालिकाले बयान दिएकी छन्,’ खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले सेतोपाटीसँग भने, ‘पीडित बालिकाले आफूमाथि दुई जनाले रातैभरि जबरजस्ती गरेको बताएकी छन्।’
लगत्तै प्रहरीले आरोपीहरूको खोजी थालेको तर एक साता बित्दासम्म पनि फेला नपरेको प्रहरी निरीक्षक मिश्रले बताएका छन्।
‘आरोपितहरू पीडितभन्दा थोरै सिनियरहरू हुन् भन्ने खुलेको छ’, मिश्रले सोमबार भने, ‘खोजी जारी रहे पनि फेला परेका छैनन्।’
केपिलासगढीस्थित एउटा विद्यालयमा कक्षा ८ मा पढिरहेकी बालिकालाई ती दुई जनाले बाटो छेकेर जंगलतिर लगेका थिए। घटनाको दिनयता ती बालिका विद्यालय आउन नसकेको उनका एक शिक्षकले जानकारी दिए।
‘उनी अहिलेसम्म विद्यालय आउन सकेकी छैनन्,’ बालिकाले पढ्ने स्कुलका एक शिक्षकले भने, ‘हामीले उनलाई हामी तिम्रो साथमा छौं भनेका छौं।’
प्रहरीका अनुसार घटनाको भोलिपल्टै परिवारले प्रहरीमा जाहेरी दिएका छन्। पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको प्रहरी भनाइ छ।