बुधबार दिउँसो दाङमा एक महिलाको शव उनकै घरनजिक गाडेको अवस्थामा फेला परेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव फेला परेको हो।
मृतक शारदाका श्रीमान ४१ वर्षीय मेघराज केसी फरार छन्। शारदाको हत्या मेघराजले नै गरेको आशंका प्रहरीको छ। शारदाको माइती पक्षले पनि बुधबार मेघराज नै हत्यामा संलग्न भएको बेहोरासहितको किटानी जाहेरी दिएका छन्।
'त्यस दिन मृतक शारदा घोराही बजारबाट घर फर्किएकी रहिछन्,' घटना अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, 'मृतकले घोराहीमा हात हेराउन आएको कुरा आफूलाई भनेको कुरा उनकी छोरीले गरेकी छन्। जाहेरीमा पनि सोही कुरा उल्लेख छ।'
घटना वैशाख १ गते मध्य राति भएको अनुमान छ। त्यो दिन शारदाकी छोरी र १५ वर्षीय कान्छा छोरा घोराहीको हेमन्तपुरस्थित मामाघर गएका थिए। जेठा छोरा भने रोजगारी सिलसिलामा भारत बस्छन्।
दिपायलमा बिहे भए पनि माइतीमा बस्दै आएकी छोरीले आमा शारदालाई दिउँसो फोन गरेकी थिइन्।
'आमाले घोराहीमा हात हेराउन गएको कुरा गरेपछि छोरीले संक्रान्तिको दिन पनि किन हात हेराउन गएको भनेर सोधेकी रहिछन्,' जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले भने, 'त्यसको केही बेरमा छोरीले बाबुसँग पनि कुरा गरेको देखिन्छ। बाबुले आमा आएकी छैन, तेरी आमा कहाँ गई कहाँ गई भनेर असन्तुष्टि पोखेको कुरा पनि छोरीले सुनाएकी छन्।'
यहाँ भएका छोराछोरीले बुवाआमाबीच त्यति राम्रो सम्बन्ध नभएको कुरा पनि गरेका प्रहरीले जनाएको छ।
शारदाका छोराछोरी मामाघरबाट वैशाख ३ गते मात्रै घर फर्किएका थिए। घर आएर बाबुआमालाई खोजे। फोन सम्पर्क गरे। तर दुवैको फोन स्विच अफ भनिरह्यो। त्यसपछि छोरी मामाघर नै फर्किइन् भने छोरा घरै बसे।
मेघराजकी ७५ वर्षीया आमा (शारदाकी सासू) भने घरै थिइन्। तर उनले वैशाख १ गते राति आफू घरमा नभएको बयान प्रहरीलाई दिएकी छन्। उनले त्यो दिन राति झन्डै दुई सय मिटर नजिकै जेठा छोरा (मेघराजका दाइ) को घरमा खाना खान गएको र उतै बसेको भनेकी छन्।
त्यस्तै भोलिपल्ट घर फर्किएर आए पनि छोराबुहारी र नातिनातिना कसैलाई नदेखेको उनले भनेकी छन्। फर्किएपछि आफू घरकै काममा व्यस्त भएको पनि उनले बताएकी छन्।
'मृतककी सासूले बोलेको कुरा कति सत्य हुन् भन्नेबारे आशंका गर्ने ठाउँ देखिएको छ,' डिएसपी गौतमले भने, 'अरू कुरा खुल्दै जाला। अहिलेसम्म चाहिँ मध्य रातमा श्रीमानले श्रीमतीको हत्या गरी घरनजिक खाडलमा गाडेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।'
डिएसपी गौतमका अनुसार शारदाको शव सुरूमा गाउँकै एक महिलाले देखेकी थिइन्। बुधबार मध्याह्न १२ बजेतिर ती महिला शारदासँग कुराकानी गर्न भनेर उनको घर पुगेकी थिइन्। त्यो बेला शारदाकी सासू मात्र थिइन्। उनले शारदा र मेघराजबारे सोध्दा सासूले आफूलाई थाहा नभएको बताइन्। त्यसपछि उनले ती महिलालाई 'कटहर फलेको छ, एउटा टिपेर लैजाऊ' भनिन्। ती महिला बारीमा भएको बोटतर्फ गइन्।
'जब उनी कटहरको बोट नजिक पुगिन्, उनले खाडलमा गाडेको अवस्थामा मानिसको पैताला देखिन्। त्यसपछि उनी त्यहाँबाट आत्तिँदै निस्किएकी रहिछन्,' डिएसपी गौतमले भने।
ती महिलाले घरमा आएर आफूले देखेको कुरा परिवारसँग गरिन्। पछि टोलका अध्यक्ष हुँदै वडाध्यक्षमार्फत प्रहरीमा सूचना आएको डिएसपी गौतमले बताए।
घरनजिकै उत्तरतर्फ मेवाको बोटमुनि दुई फिट जति गहिरो खाल्डोमा शव गाडेको अवस्थामा थियो। प्रहरीका अनुसार त्यो झिँगटीहरू फाल्ने गहिरो ठाउँ थियो। स्थानीयले भने मल खाल्डो भएको बताएका छन्।
सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेर खनी हेर्दा शारदाको शव फेला परेको हो। शारदाका श्रीमान मेघराज वैशाख १ गतेदेखि नै फरार रहेको खुलेको पनि डिएसपी गौतमले बताए।
'प्रारम्भिक अनुसन्धानबाट श्रीमतीको हत्यापछि श्रीमान फरार भएका हुन् भनेर शंका गर्ने प्रशस्त आधार देखिएका छन्,' उनले भने, 'तर जबसम्म उनी पक्राउ पर्दैनन्, तबसम्म पुष्टि गर्ने आधार हुने छैनन्।'
शारदाको माइती पक्षले भने छोरीको हत्या गरेर ज्वाइँ फरार भएको आशयसहितको किटानी जाहेरी बुधबार नै जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिसकेका छन्। घटना गम्भीर प्रकृतिको रहेको र यसबारे थप अनुसन्धान पछि तथ्य कुरा सार्वजनिक गर्ने डिएसपी गौतमले बताए।