दाङमा पाँच वर्षीया बालिकालाई ठक्कर दिएर फरार भएका एक जना अटो चालक झन्डै एक महिनापछि पक्राउ परेका छन्।
ती बालिकाको भैरहवामा उपचारका क्रममा गत चैत २० गते मृत्यु भएको थियो।
बालिकालाई ठक्कर दिने अटोका चालक घोराही–१२ गुर्जेका २६ वर्षीय सुवास सुनारलाई भारतबाट पक्राउ गरी दाङ ल्याइएको प्रहरीले जनाएको छ।
अटोको ठक्करबाट तुलसीपुर उपहानगरपालिका– १७ की ५ वर्षीया युविका बुढाथोकीको मृत्यु भएको हो।
चैत १६ गते दिउँसो घोराही-१२ कै भाइरल रोडको पक्की पुलमाथि युविकालाई अटोले ठक्कर दिएको थियो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार त्यो दिन युविका आफ्नी आमासँग थिइन्। उनकी आमा छोरी र भदैकी छोरी (नातिनी) सँग माइतीतिर जाँदै थिए।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार त्यही बाटो काट्ने क्रममा युविकालाई तीव्र गतिमा आएको अटोले ठक्कर दिएको थियो। ठक्करपछि युविकालाई गम्भीर चोट लाग्यो। सबैको ध्यान बालिकाको उद्धार र अस्पताल पुर्याउनमा केन्द्रित भयो। अटो चालक सुवास फरार भए।
प्रहरीले एक घन्टापछि मात्रै घटनाबारे जानकारी पायो। प्रत्यक्षदर्शीले अटो हरियो रङको थियो भन्नेबाहेक अरू कुनै विवरण बताउन सकेनन्।
दुर्घटना गराउने अटो चालकले त्यसपछि अटो चलाएनन्। लुकाएर राखे। प्रहरी भने हरियो रङका अटो खोज्न थाल्यो। सयौं अटो अनुसन्धान गर्दा पनि पत्ता लगाउन सकेन। कुनै उपाय नचलेपछि दुर्घटनाका बेला अटोमा कोही यात्रु सवार थिए कि भनेर प्रहरीले अनुसन्धान अगाडि बढायो।
अटोमा सवार एक जना रहेछन्। उनी सुवासकै मामाका छोरा थिए। उनले पनि घटना छिपाउन सहयोग गरेको अनुसन्धानमा खटिएका प्रहरीले बताए।
यसपछि प्रहरीले चिनजानका र विश्वासिला एक अटो चालकसँग सम्बन्ध बढाउँदै अनुसन्धान अगाडि बढायो। तिनै अटो चालकको सहयोगमा हरियो रङको कुन अटो चलेको छैन भन्ने पत्ता लाग्यो। तर न अटो फेला पर्यो न चालक सुवास।
बिस्तारै प्रहरीले सुवासका आफन्तहरूको पहिचान गर्यो। सुवासले उक्त अटो ससुरालीमा लुकाएको सुराक पायो। सुवास भने त्यतिन्जेलसम्म भागेर भारतको लुधियाना पुगिसकेका थिए। उतैबाट कसैलाई भनेर उनले चार दिनपछि अटो अर्कै ठाउँमा सार्न लगाए।
तर प्रहरीले अनुसन्धान छाडेन र ठक्कर दिने रा १ ह ७००३ नम्बरको अटो पहिचान गर्यो।
घटनाको २४ दिनपछि, वैशाख ८ गते प्रहरीले अटो नियन्त्रणमा लियो। प्रहरीका अनुसार सुवासले दुर्घटनाबारे परिवारमा कुरा गरेका र युविकाको मृत्युपछि भारत भागेका थिए।
अनुसन्धानबाट उनी लुधियानामा रहेको खुलेपछि भारतीय प्रहरीको सहयोगमा जिल्लाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर आएको हो।
वैशाख १० गते पत्रकार सम्मेलन गरी सुवासलाई प्रहरीले सार्वजनिक गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।