वैशाख महिनामा विद्यालयहरूलाई भर्ना अभियानको प्रचारप्रसार गर्न भ्याइनभ्याइ हुन्छ। फेसबुक, पत्रिकामा विज्ञापन गर्नेदेखि घरघर पुगेर अभिभावकहरूलाई भेट्छन्।
दाङको ‘माध्यमिक विद्यालय तुलसीपुर सेन्टर’ अर्थात ‘मावि सेन्टर’ ले भने कुनै भर्ना अभियान चलाउँदैन। न त प्रचारप्रसार गर्छ।
औपचारिकता पूरा गर्न विद्यालयको सूचना पाटीमा ‘भर्ना खुलेको’ सूचना प्रकाशित गर्छ। यतिकैमा पनि छोराछोरी भर्ना गर्न आउने अभिभावकको चाप थेगिनसक्नु हुन्छ।
पहिलो पटक भर्ना हुने बालबालिका मात्र होइन निजी विद्यालय छाडेर यहाँ पढ्न आउनेको संख्या पनि बढेको बढ्यै छ। यस्ता विद्यार्थीको चाप थेग्न नसकेपछि मावि सेन्टरले प्रवेश परीक्षा लिने नीति अपनाएको छ।
शिक्षक केशवराज शर्माका अनुसार यसवर्ष निजी विद्यालय छोडेर आउन चाहने २५० जना विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका थिए। तीमध्ये ८० जना योग्य ठहरिए।
चालु शैक्षिक वर्षका लागि भर्ना खोलेको पहिलो तीन दिनमै पाँच सय जना नयाँ विद्यार्थी भर्ना भए।
प्रवेश परीक्षामा पास नभएका अभिभावकहरूले सोर्सफोर्स लगाउन फोन यति गर्छन् कि प्रधानाध्यापक भागवत पौडेलले आफ्नो मोबाइल नै अफ गरेर बस्नुपर्छ। इच्छुक सबैलाई भर्ना लिन विद्यालयको क्षमताले नभ्याउने उनले बताए।
वैशाख ७ गते हामी पुग्दा केही विद्यार्थीको प्रवेश परीक्षा लेख्दै थिए। एउटा कोठमा रहेका २५ जनामध्ये सात जना निजी विद्यालयका थिए।
निजी विद्यालय छाडेर आउन चाहनेमा धेरैजसो कक्षा ५ देखि ९ सम्मका विद्यार्थी हुन्छन्। अझ ठूलो संख्या ११ कक्षामा भर्ना हुन चाहनेहरूको हुन्छ।
कोही मावि सेन्टरमा राम्रो पढाइ हुन्छ भन्ने ठानेर आउँछन् त कोही सामुदायिक विद्यालयबाट विद्यालय शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्दा मिल्न सक्ने अतिरिक्त सुविधा ख्याल गरेर आउँछन्।
कक्षा ९ भन्दा माथि भर्ना हुन आउनेहरू प्राविधिकतर्फ इन्फर्मेसन टेक्नोलजी (आइटी), इन्जिनियरिङ, सूचनाप्रविधि इन्जिनियरिङ र जियोमेट्रिक्स इन्जिनियरिङ पढ्न चाहने हुन्छन्।
प्रवेश परीक्षामा सहभागी अधिकांश विद्यार्थीले राम्रो पढाइ हुन्छ भनेको सुनेर मावि सेन्टरमा भर्ना हुन चाहेको बताए।
मावि सेन्टरमा कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा मात्र पढाइ हुन्छ। पाँच कक्षामाथि नेपाली र अंग्रेजी दुबै माध्यम हुन्छ। विद्यार्थीले माध्यम छनोट गर्न पाउँछन्।
विद्यार्थीको रुचिअनुसार नृत्य, गीतसंगीत र मार्सल आर्टका सिक्ने व्यवस्था पनि छ।
हाल विद्यालयमा ७२ जना शिक्षक र कर्मचारी छन्। यीमध्ये ३८ शिक्षक सरकारी दरबन्दीको तलब पाउँछन्। बाँकी सबै निजी स्रोतमा छन्।
विद्यालयमा कुल ४८ वटा वटा कक्षा कोठा छन्।
यीमध्ये १७ वटा कोठा वातानुकूलित छन्। प्रत्येक कोठामा इन्टरनेटका लागि वाइफाइको सुविधा छ। ‘स्मार्ट क्लास रुम’ अवधारणअनुसार प्रजोक्टरको सुविधा छ। कक्षा कोठाको गतिविधि नियाल्न ६५ वटा सिसिटिभी जडित छन्। अन्य १५ वटा कोठा ल्याब, कार्यालय स्टोर लगायतका लागि प्रयोग भएका छन्। प्राधानध्यापक पौडेलका अनुसार विद्यार्थी संख्याको तुलनामा कक्षा कोठा अभाव छ।
यहाँ पढ्न चाहने विद्यार्थीहरू दाङ जिल्लाबाहिरका पनि हुन्छन्।
मावि सेन्टरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) अन्तर्गत तीन वर्षको प्राविधिक डिप्लोमा पढाइ पनि हुन्छ।
दाङबाहिरका धेरै जसो विद्यार्थी डिप्लोमा पढ्ने छन्।
सल्यानको दारमा गाउँपालिका–७ की उमा बुढाथोकीले विद्यालयको राम्रो चर्चा सुनेर आइटी पढ्न आएको बताइन्।
स्विस सरकारको ‘इन्सियोर परियोजना’ अन्तरगत प्रिडिप्लोमा तहमा आइटी र इलेक्ट्रिकल विषयमा २४ महिनाको निःशुल्क कोर्स पढाइ हुन्छ। यी विद्यार्थीको बीमा पनि हुन्छ।
रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ की निशा पुनमगर जियो मेट्रिक्स इन्जिनियरिङ पढ्दैछिन्। भन्छिन्, ‘विद्यालयको शैक्षिक वातावरण निकै राम्रो छ। यी विषय अर्को ठाउँमा पढेको भए धेरै महँगो पथ्र्यो। यहाँ सस्तो छ।’
प्राविधिक डिप्लोमातर्फ छानिएका केही विद्यार्थीले खाजा र पोसाकका लागि पैसा पाउँछन्।
प्रिआइटीका विद्यार्थी रोल्पाको सुनछहरी गाउँपालिकाका दिलबहादुर सार्की निःशुल्क पढ्छन्। दैनिक खाजा खर्च र पोसाकको पैसा पनि पाउँछन्।
‘हामी जस्ता गरिबका छोराछोरीले चाहेको विषय निःशुल्क पढ्न पाउनु ठूलो अवसर हो,’ उनी भन्छन्, ‘यही विषय (आइटी) अन्त पढ्ने हो भने एक लाखभन्दा बढी खर्च हुन्थ्यो।’
रुकुम पश्चिमका हरिबहादुर ऐरी जियोमेट्रिक्स इन्जिनियरिङ पढ्दै छन्।
मावि सेन्टरले विद्यार्थीलाई मात्रै पढाउने होइन, तिनका इच्छुक अभिभावकलाई सिटिइभिटीको सहयोगमा कम्प्युटर र बिजुली वाइरिङको सीपमूलक तालिम पनि दने गरेको छ।
‘कतिपय अभिभावक छोराछोरीसँगै तालिमका लागि आउनुहुन्छ। यहाँ तालिम लिएर केही अभिभावक स्वरोजगार हुनुभएको छ,’ प्रधानाध्यापक पौडेलले भने ‘तालिममा आउनेहरूले दैनिक खाजा खर्च पाउनुहुन्छ।’
यतिबेला ४० जना अभिभावक कम्प्युटर तालिम लिँदै छन्।
मावि सेन्टरले इन्जिनियरिङको डिप्लोमातर्फ सिटिइभिटीले तोकेको भन्दा कम शुल्कमा पढाउने गरेको छ। सिटिइभिटीले तीन वर्षको कोर्समा एक लाख ९० हजार शुल्क तोकेकोमा मावि सेन्टरले एक लाख ५० हजारमात्रै लिने गरेको छ।
प्रधानाध्यापक पौडेलका अनुसार गत आर्थिक वर्षमा विद्यालयले कम्तीमा ७० लाख रुपैयाँ बचत गरेको थियो। विद्यालयको खाली जग्गा सब्जीमण्डीलाई भाडामा दिएर वार्षिक २० लाख रुपैयाँ आर्जन गर्ने गरेको छ।
यस्तो आम्दानीबाटै भौतिक संरचना थप्न र विद्यार्थीलाई शुल्कमा सहुलियत दिन सकेको हो।
मावि सेन्टरले २०७३ सालमा प्राविधिक शिक्षा पढाउन सुरु गरेको हो। विद्यालयले मुलुकभरमै उत्कृष्ट नतिजा ल्याउन सकेको प्रधानाध्यापक पौडेलले बताए। २०७२ सालपछि हरेक वर्ष एसइई परीक्षामा उपमहानगरभरमा मावि सेन्टर नै उत्कृष्ट रहँदै आएको छ। कक्षा ११ र १२ को नतिजा पनि उत्कृष्ट रहेको उनले बताए।
पौडेलल प्रधानाध्यापकका रूपमा १४ वर्षअघि जिम्मेवारी सम्हालेका हुन्।
त्यो समय जम्मा २५० जना जति विद्यार्थी र १६ जना शिक्षक थिए। माध्यमिक तह (कक्षा १०) सम्म पढाइ भए पनि शिक्षक दरबन्दी निम्न माध्यमिक तहसम्मको मात्रै थियो।
प्राविधिक धारतर्फको पढाइ थिएन। विद्यालयको पर्खाल, खेलमैदान, फर्निचर, कक्षा कोठा लगायतका भौतिक संरचनाको अवस्था नाजुक थियो।
हाल कुल विद्यार्थी संख्या करिब तीन हजार छ।
अहिले विद्यालयले एउटा बस पनि किनेको छ। सरकारले सामुदायिक विद्यालयलाई दिएको भन्सार छुट सुविधाअन्तर्गत २० लाख रुपैयाँमा बस किनेको प्रधानाध्यापक पौडेलले बताए। लगातारको प्रयत्न र मिहिनेतले व्यवस्थापकीय पक्ष राम्रो हुँदै गएको पनि उनले बताए।
‘अब त यहाँ स्वचालित मेकानिजम बनिसकेको छ,’ उनले भने, ‘प्रत्येक फ्याकल्टीमा र तहगतरूपमा कोअर्डिनेटरको व्यवस्था गरिएको छ। जिम्मेवारी बाँडफाँड गरिएको छ।’
पौडेल २०६६ सालमा प्रधानाध्यापकको जिम्मेवारीमा आउँदा विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूका बीच द्वन्द्व थियो। शैक्षिक वातावरण अस्तव्यस्त थियो। विद्यालयमा तालाबन्दी भइरहेको थियो। उनले आएर पहिला अभिभावकहरूलाई बोलाए। आफूले विद्यालय सुधार्न आएको बताए।
‘म आउँदा विद्यालयमा तालाबन्दी भइरहेको थियो,’ उनले भने, ‘मैले अभिभावकहरू बोलाएर शैक्षिक वातावरण सुधारका लागि आफू आएको र त्यसमा सहयोग चाहिने बताएँ।’
उनले शिक्षक, अभिभावकलगायत सबैको सहयोग र समर्थन पाए। अभिभावक र शिक्षकलाई साथमै लिएर विद्यालयको लागि आवश्यक स्रोत साधन जुटाउन उनले संभावना भएका सबै ठाउँ पुगेर प्रपोजल पेश गरे। शिक्षा सम्बन्धी काम गर्ने एनजीओ, आइएनजीओले सहयोग गरे। त्यसपछि त शैक्षिक वातावरण सुधार हुँदै आयो।
संघीय सरकारले गत आर्थिक वर्ष मावि सेन्टरलाई ‘मेगा विद्यालय’ का रूपमा छनोट गरेको थियो। देशभरका २१ वटा उत्कृष्ट विद्यालयलाई १५ सूचकका आधारमा ‘मेगा विद्यालय’ छनोट गर्दा मावि सेन्टर पनि परेको हो।
‘मेगा विद्यालय’ भएपछि बहुवर्षीय योजनाअन्तर्गत २४ करोड रुपैयाँ अनुदान सहयोग प्राप्त हुने भएको छ ।
यसअन्तर्गत सात सय जना अटाउने छात्रावास भवन बन्नेछ। प्राधानाध्यापक पनि विद्यालय परिसरमै बस्ने सुविधा हुनेछ। प्रयोगशालाहरू बन्ने छन्।
प्रधानाध्यापक पौडेलका अनुसार यी सबैको विस्तृत परियोजना प्रतिवेदन अर्थात डिटेल प्रोजेक्ट रिपोर्ट (डिपीआर) तयार भइसकेको छ।
हाल यसैअन्तर्गत एक करोड ५० लाख रुपैयाँ लागतमा आठ कोठाको भवन निर्माणाधीन छ। उक्त बजेटमा एक करोड रुपैयाँ सरकारबाट प्राप्त हो। बाँकी विद्यालय स्रोतको हो।
मावि सेन्टरले अभिभावहरूले आफ्ना छोराछोरी र शिक्षकका गतिविधि मोबाइल फोन सेटबाटै नियाल्न मिल्ने प्रविधि जडान गरेको छ। यो प्रविधि २०७३ सालदेखि नै प्रयोगमा छ।
यो प्रविधिले विद्यार्थी र शिक्षकलाई सजग गराएको प्रधानाध्यापक पौडेलले बताए।
प्रत्येक कक्षाका विद्यार्थीले शिक्षक कक्षा कोठामा आएको र गएको समय तथा पढाएको पाठको अभिलेख राख्ने व्यवस्था छ।
कुनै शिक्षकको अनुपस्थितिमा कक्षा खाली नहुने प्रबन्ध मिलाएको प्रधानाध्यापक पौडेलले बताए। यस्तो कक्षामा पढाए बापत शिक्षकले अतिरिक्त पारिश्रमिक पाउँछन्।
विद्यार्थी र अभिभावकको मन जितेर अघि बढेको मावि सेन्टर उपयोगी र गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहेको प्रधानाध्यापक पौडेलले बताए। विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनका लागि शिक्षकको लगनशीलता र विद्यालय व्यवस्थापन समितिको सहयोग निकै महत्वपूर्ण रहेको पनि उनको भनाइ छ।
सामुदायिक विद्यालय राम्रा भएनन् वा छैनन् भन्ने आमधारणा चिर्दै तुलसीपुरको मावि सेन्टर प्रधानाध्यापक र शिक्षक लगनशील भए सामुदायिक विद्यालय कमजोर हुँदैनन् भन्ने बलियो दृष्टान्त भएको स्थानीयहरू बताउँछन्।
तुलसीपुरका कांग्रेस नगरसभापति सुरेश हमालले सेन्टर माविले बितेको १४ बर्षको अवधिमा प्राप्त गरेको सफलता लोभ लाग्दो भएको बताए। त्यो सबै प्रअ लगायत त्यहाँ कार्यरत शिक्षकहरुको इच्छा शक्तिको परिणाम मान्नु पर्ने उनको भनाइ छ।
‘अब्बल शिक्षक र भौतिक पूर्वाधार उत्कृष्ट भएपनि व्यवस्थापन गर्न नजान्दा सरकारी स्कुलहरूको स्तर खस्किँदै गएको धेरै उदाहरणहरू देखिन्छ,’ हमालले भने ‘ तर, मावि सेन्टरले भने यो बीचमा हरेक क्षेत्रमा प्रगति गर्दै आँफूलाई अब्बल विद्यालयका रूपमा उभ्याउन सफल हुनु एक सुखद पक्ष हो।’
नेतृत्व गतिलो भए जहाँ पनि सुधार संभव छ भन्ने एउटा गतिलो उदाहरणका रुपमा मावि सेन्टरलाई लिन सकिने उनले बताए।
नगरपालिकादेखि प्रदेश सरकार र संघीय सरकार सबै संग सहयोगका लागि हारगुहार गर्नेदेखि परीक्षाफल उत्कृष्ट ल्याउन सफल हुनु जस्ता कुराहरु नेतृत्वको दुरदर्शी भिजनकै कारण संभव भएको मान्नु पर्ने उनले बताए।