मोरङको विराटनगरमा दुई पक्षबीच विवाद हुँदा प्रहरीले बल प्रयोग गरी स्थितिलाई नियन्त्रणमा लिएको छ।
बुधबार विराटनगर महानगरपालिका मिल्स क्षेत्रमा एक समूहले रामनवमीको र्याली गर्नेक्रममा विवाद सिर्जना हुँदा प्रहरीसँग झडपको स्थिति बनेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
र्याली निकालेको उक्त समूह अनुमति नभएको ठाउँमा प्रवेश गर्न खोजेको थियो। त्यस ठाउँमा अर्को समूहले अवरोधको सिर्जना गर्न सक्ने सूचनापछि प्रशासनले त्यहाँ जान अनुमति नदिएको हो।
अनुमति नभएको ठाउँमा जान दिँदा थप तनाव उत्पन्न हुनसक्ने सम्भावनालाई न्यून गर्न प्रहरीले उनीहरूलाई रोकेको थियो।
त्यसरी रोक लगाउँदा प्रहरीसँग धकेलाधकेल गर्न थालेपछि बल प्रयोग गरेको प्रजिअ भट्टाराईले बताए।
‘बल प्रयोग गर्नेक्रममा प्रहरीले एक-दुई राउण्ड हवाई फायर गरेको छ। त्यसबाहेक अश्रुग्यास २७ राउण्ड प्रहार गरेको छ,’ उनले भने, ‘रोक लगाइएको ठाउँमा पुगेको भए थप क्षति हुनसक्थ्यो। अहिलेलाई त्यो दुर्घटना टरेको छ।’
झडप हुँदा नेपाल प्रहरीतर्फ ६ जना घाइते भएका छन्। उनीहरूको उपचारको लागि नजिकैको स्वास्थ्य संस्था पठाइएको उनले बताए।
उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिन वार्ता गर्ने तयारी भइरहेको प्रजिअ भट्टराईले बताए।