दाङको तुलसीपुरस्थित शिवशिखर कृषि सहकारी संस्था लिमिटेडमा सरकारी टोलीले छापा मारेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको टोलीले आइतबार साँझ शिवशिखर कृषि सहकारी संस्थामा छापा मारेर आवश्यक कागजातहरू जफत गरेको हो।
समितिका सदस्य सचिव केशवप्रसाद पौडेल नेतृत्वको टोलीमा अपराध अनुसन्धान महाशाखाका प्रतिनिधि सहभागी थिए। उक्त टोलीले स्थानीय जनप्रतिनिधि, स्थानीय प्रहरी, घरधनी लगायतलाई पनि बोलाएका थिए।
टोलीले ऋणीको संख्या, प्रवाह भएको ऋण, बचतकर्ताले पाउनु पर्ने भुक्तानीबारे बुझ्न आवश्यक कागजात बरामद गरेको सदस्य सचिव पौडेलले बताए।
यसरी बरामद गरिएका कागजातको अध्ययनपछि तुलसीपुर शाखाबाट प्रवाह भएको ऋण, ऋणीको संख्या, बचतकर्तालाई तिर्नुपर्ने रकम पत्ता लगाउन सजिलो हुने उनले बताए।
‘अध्ययनपछि मात्रै ऋणीहरूको सम्पत्ति रोक्ने, बैंक खाता रोक्ने, राहदानी रोक्का गर्ने र ऋणीबाट पैसा उठाएर पीडितलाई फिर्ता दिन सकिने अवस्थाबारे बुझ्न सकिन्छ,’ उनले भने।
टोलीका एक सदस्यका अनुसार प्रारम्भिक अनुसन्धानबाट शिवशिखर सहकारीमा १३४ जना ऋणी देखिएका छन्। जसबाट २ करोड १९ लाख बराबरको रकम हिनामिना भएको देखिन्छ।
यस शाखामा बचतकर्ताले १५ करोडभन्दा बढी रकम जम्मा गरेको देखिएको छ।
सञ्चालकहरूले बचतकर्तालाई विभिन्न प्रलोभन देखाएर सहकारीमा रकम जम्मा गर्न लगाएको सदस्य सचिव पौडेलले जानकारी दिए।
सहकारीको सिद्धान्त र उद्देश्य भन्दा बाहिर गएर कम्पनी खडा गर्ने, गार्डेन मार्ट सञ्चालन गर्ने तथा बचतकर्ताको पैसा विभिन्न निकाय खडा गरी कारोबार गर्ने, जग्गा-जमिन खरिद गर्ने जस्ता अस्वाभाविक कारोबार गरेको उनले बताए।
‘आवश्यक कागजात संकलन गरी सहकारीको सम्पत्ति यकिन गर्नुपर्ने भएको हुँदा त्यही सिलसिलामा हामी तुलसीपुरको यो मार्टमा आएका हौं,’ उनले भने, ‘हामीले फेला पारेका सबै काजतजात र सबुत प्रमाण लगेर अनुसन्धान गर्नेछौं।’
तुलसीपुरमा शिवशिखर सहकारीले मार्ट चलाउँदै आएको थियो। जो सहकारीको नीति विपरीत थियो।
तुलसीपुरको शाखासहित देशका सबै शाखाहरूबाट सञ्चालकले तिर्न बाँकी ऋण–दायित्व यकिन गरी सहकारी सञ्चालकलाई कारबाही गरिने तथा उनीहरूबाट रकम असुल गरी पीडितहरूलाई वितरण गरिने पौडेलले बताए।
सरकारले शिवशिखर बहुउद्देश्य सहकारी संस्थालाई गत भदौ २५ गते समस्याग्रस्त सहकारीका रूपमा घोषणा गरेको थियो।
त्यो घोषणापछि सहकारीको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीका लागि समितिमा पत्राचार भएको थियो। त्यसपछि देशव्यापी रूपमा शिवशिखर सहकारीका शाखाको खोजी सुरू भएको हो।
यस सहकारीका ४३ वटा शाखा छन्।
‘केही दिन पहिले मात्रै अध्ययन गर्दा देशका विभिन्न ठाउँमा ४३ सहकारीका शाखाहरू रहेको भेटियो। सहकारीमा ३२ हजार बचतकर्ताले ११ अर्ब रुपैयाँ माग गरेको अवस्था छ,’ उनले भने।
सहकारीका केन्द्रीय अध्यक्ष सुशिल बानियाँ भने फरार सूचीमा छन्।
लाखौंको सामान मार्टभित्रै बिग्रिँदै
तुलसीपुरस्थित शिवशिखर सहकारी संस्था र गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर रहेको घर प्रकाश लामिछानेको हो। लामिछानेले सहकारी कार्यालय र मार्ट सञ्चालन गर्न मासिक एक लाख बढीमा घर भाडा लगाएका थिए।
मार्ट र सहकारी कार्यालयमा ताला लागेको १५ महिना पुग्यो। सञ्चालक भागेपछि घरधनीले भाडा समेत पाउन नसकेको लामिछानेले बताए।
‘न मैले १५ लाख बढी भाडा पाएको छु र न म मेरो घरभित्र प्रवेश गर्न नै पाएको छु,’ उनले भने, ‘मेरो घर तत्काल खाली गरियोस् र पाउनु पर्ने भाडा पनि प्रदान गरिनुपर्छ भन्ने मेरो माग हो।’
मार्ट बन्द हुँदा त्यहाँ रहेका लाखौंका तयारी पोशाक, खाद्यान्न लगायत सामान बिग्रिन र सड्न थालेका छन्। यद्यपि बचतकर्ताहरूले मार्टमा रहेका सामान पाउनुपर्ने बताएका छन्।
‘हामीले दुःख गरी भविष्यको लागि भनेर जम्मा गरेको पैसा नतिरी सञ्चालक भागेपछि हाम्रो बिचल्ली भएको छ,’ एक जना बचतकर्ताले भने, ‘त्यस्तो अवस्थामा यो मार्टभित्र रहेका सामान बचतकर्ताले पाउनुपर्ने रकम अनुसार राज्यले दामासायीमा मिलाएर दिए पनि हामी त्यसलाई बेचेर आफ्नो पैसा त अशुल गर्ने अवस्था रहन्थ्यो।’
तर झन्डै डेढ वर्षदेखि ती सबै सामग्री बन्द कोठाभित्र रहँदा ती बिग्रने र सड्ने अवस्थामा पुगिसकेको हुँदा उनले चिन्ता व्यक्त गरे।
सरकारी कर्मचारीले छापा हानेर सहकारीका कागजात जफत गर्दैगर्दा सहकारीका केही कर्मचारी पनि त्यहाँ पुगेका थिए। तीमध्ये विगतमा पैसा उठाउने काम गरेकी एक जना महिला कर्मचारीले आफू जस्ता बचत संकलकहरूले पनि तनाव भोग्नुपरेको बताइन्।
‘मलाई देखेर बचतकर्ताहरूले पैसा माग्न थाल्छन्,’ उनले भनिन्, ‘कति त घरमै पुग्नुहुन्छ। त्यही भएर म बजारमा हिँडडुल गर्न समेत सक्ने अवस्था छैन।’