पहिरो झरेपछि अवरूद्ध बनेको बुटवल-पाल्पा सडकखण्ड १७ घण्टापछि पुन: सञ्चालन भएको छ।
अविरल वर्षापछि झरेको पहिरोले सोमबार राति ११ बजेदेखि उक्त सडकखण्ड पूर्ण रूपमा बन्द भएको थियो।
सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ३ सिद्धबाबा मन्दिर नजिक झरेको पहिरो हटाएपछि मंगलबार सवा चार बजेतिर सडक पुन: सञ्चालन भएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी दोभानका अनुसार सोमबार रातभर र मंगलबार पनि बिहानदेखि दिनभर पानी परेपछि पहिरो हटाउन सकिएको थिएन। दिउँसोदेखि पानी पर्न रोकिएपछि पहिरोको जोखिम हटेपछि बल्ल पहिरो पन्छाउन थालिएको थियो।
पहिरो पन्छाएपछि रातभर सडकमा रोकिएका सवारी साधन आफ्नो गन्तव्यमा लागेको प्रहरीले जनाएको छ।
सोही स्थानमा पहिरो झरेका कारण सोमबार पनि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सडक अवरूद्ध बनेको थियो।