विद्यालय परिसर हरियालीले ढाकेको छ। मध्य वसन्त ऋतुमा रूख-बिरुवामा कलिला पात देखिन्छन्। अनेक चराहरू एक हाँगाबाट अर्को हाँगातिर भुर्रभुर्र उड्दै गरेका देखिन्छन्। तिनको आवाज टड्कारो सुनिन्छ। विद्यालय हो दाङको तुलसीपुर नगरपालिकास्थित ‘तुलसी आवासीय स्कुल’।
तर यो नाम लेखेको बोर्ड विद्यालयको गेटमा छैन।
केही समय अघि यो स्कुल पुगेका बेला प्रिन्सिपल भीष्मबहादुर केसी (भीष्मसर) लाई हामीले सोध्यौँ, किन गेटमा नाम लेखेको बोर्ड छैन?
उनले भने,'बोर्डमात्र हो र? मैले त विद्यालयको विज्ञापन पनि गरेको छैन।'
उनले नयाँ विद्यार्थी भर्नाका लागि कहिल्यै प्रचार गरेनन्। उनका अनुसार पढाइ पूरा गरेर गएका विद्यार्थीहरू नै विज्ञापन हुन्।
पहिलेको एसएलसी परीक्षा र अहिलेको विद्यालय शिक्षा परीक्षा (एइई) मा उत्कृष्ट नतिजाका लागि तुलसी बोर्डिङ स्कुलले नौपटक क्षेत्रीय शिल्ड प्राप्त गरेको छ, १३ पटक सम्मानित र पुरस्कृत भएको छ। नतिजाका आधारमा मध्यपश्चिम र सुदूरपश्चिमा सबैभन्दा धेरैपटक पुरस्कृत हुने विद्यालय सम्भवतः यही नै हो।
स्थापनाको ३६ वर्षपछि अभिभावकहरूको आग्रहमा हालै विद्यालयले दुई वटा बस किनेको छ। ती बस बालबालिकाका लागि हो।
‘म स्कुलबस चार किलोमिटरभन्दा टाढा पठाउँदिनँ,’ भीष्मसर भन्छन्, ‘यहीँ विद्यार्थी थेगिनसक्नु छ, टाढाबाट ल्याएर थप्न सक्ने क्षमता छैन।’
यो विद्यालय २०४४ सालमा स्थापना भएको हो।
हामी बिहानको ८ बजे यो विद्यालय पुगेका थियौँ। प्रांगणको बीचतिर प्लास्टिकको कुर्सीमा बसेका थिए संस्थापक प्रिन्सिपल ७६ वर्षीय भिष्मसर।
वार्धक्यले घेर्दै लगे पनि, लौरो टेक्नुपरे पनि भीष्मसरमा युवा उमेरको जोस घटेको छैन। बिहान चाँडैदेखि दिनभर विद्यालयका कक्षाकोठा चहार्छन्। शिक्षक र विद्यार्थीका क्रियाकलाप निगरानी गर्छन्।
विषय शिक्षकका रूपमा पढाउन छाडेको चार भयो। अहिले पहरेदारजस्ता भएका छन्।
विद्यालय परिसर करिब दुई बिगाहा क्षेत्रफलमा फैलिएको छ। यही भूगोल भीष्मसरको संसार हो। विद्यालय परिसबाट विरलै बाहिर निस्कन्छन्।
गएको शैक्षिक वर्षको अन्तिम परीक्षा सकिएपछिको एक बिहान ८ बजेतिर म तुलसी आवासीय स्कुल पुगेको थिएँ। परीक्षा सकिएर विद्यालय सुनसान थियो तर एउटा कक्षाकोठामा केही विद्यार्थी आआफ्नै धुनमा थिए।
परीक्षा सकिएर पढाइ नचलेको समयमा ती विद्यार्थीहरू किन कक्षाकोठामा?उनीहरूलाई विद्यालयले आवासीय सुविधासहित निःशुल्क पढाएको रहेछ। टाढा घर भएका उनीहरू विद्यालयमै रहेछन्।अहिले पनि विद्यालयमा भीष्मसर नै प्रिन्सिपल छन्।
उनले कुनै पनि हड्ताल वा बन्दमा विद्यालय बन्द हुन दिएनन्। तत्कालीन सशस्त्र विद्रोही नेकपा माओवादीले विद्यालयको गेटमा आगो लगाउँदा पनि उनी विचलित भएनन्, पढाइ रोकेनन्।
बन्द गराउन आउनेलाई सोझै भन्थे– जहाँ लैजानु छ, मलाई लैजानू, जे गर्नु छ, मलाई गर्नु, विद्यालयको पढाइ रोकिँदैन।
त्यतिन्जेलमा तुलसी स्कुल दाङको ब्रान्ड बनिसकेको थियो। विद्यार्थी ओसार्न बस थिएन। भीष्मसरको तर्क हुन्थ्यो– हामीले बस चलाएका छैनौं, कक्षा कोठामा बसेर पढ्ने काम रोक्न पाइँदैन।
कक्षा पाँचभन्दा माथि पढ्ने र टाढाका अधिकांश विद्यार्थी आवासीय हुन्थे। बन्द–हड्तालमा पनि आवासीय विद्यार्थीको कक्षा चल्थ्यो। नजिकका विद्यार्थी पनि आउँथे।
उनका अनुसार विद्यालयमा शिक्षक र कर्मचारी गरी झन्डै सय जना काम गर्छन्। तिनको तलबमा मासिक सरदर ३० लाख रुपैयाँ खर्च छ।
भीष्मसर तुलसीपुरमा तुलसी स्थापना गर्नुपूर्व हालको दंगीशरण गाउँपालिकाको श्रीगाउँस्थित एउटा सिद्धपृथ्वी जनता मावि पढाउँथे। तुलसीपुरकै स्थायी बासिन्दा भीष्मसरले २०३० को दशकमा कृषि विज्ञानमा स्नातक (बिएस्सी एजी) गरेका गरेका थिए। प्राथमिक शिक्षा तुलसीपुरकै रत्ननाथ मन्दिरमा पढेका थिए। कक्षा चार पद्मोदय माध्यमिक विद्यालय, घोराहीमा पढे।
त्यो समय तुलसीपुर क्षेत्रमा विद्यालय थिएनन्। घोराही र देउखुरी पुग्नुपर्थ्यो। उनका लागि घोराही पनि टाढा थियो, देउखुरी झन् टाढा।
सल्यानमा उनका दिदीभिनाजु थिए। बुबाआमाले दिदीभिनाजुका साथमा बस्ने गरी सल्यानकै त्रिभुवन माविमा पाँच कक्षामा भर्ना गरिदिए।
भीष्मसर एक वर्षमै घोराही फर्के। दुई वर्ष घोराहीमा पढेपछि २०१८ सालमा काठमाडौंको दरबार हाइस्कूलमा पुगे। त्यो समय दाङबाट काठमाडौं जान बसको सुविधा थिएन।
भारत हुँदै जाने एउटा विकल्प थियो– तुलसीपुरबाट एक दिन हिँडेर घोराहीको चौपट्टा पुग्ने। त्यहाँ बास बसेर अर्को दिन हिँडेरै नेपाल–भारत सीमा कोइलाबास पुग्ने। त्यहाँ बास बसेर अर्को दिन रेल चढ्ने र भोलिपल्ट रक्सौल पुग्ने अनि वीरगञ्जबाट बस चढेर काठमाडौं पुग्ने।
यसरी पाँच दिनमा मात्र काठमाडौं पुगिन्थ्यो।
अर्को विकल्प थियो– तुलसीपुरकै टरिगाउँ विमानस्थलबाट हवाईजहाज चढेर जाने। भीष्मसरले यही विकल्प रोजे। उनलाई राम्रो सम्झना छ, हवाईजहाजमा ९६ रुपैयाँ भाडा लागेको थियो। बडो मुस्किलले टिकट पाइएको थियो।
उनले २०२१ सालमा एलएसली परीक्षा दोस्रो श्रेणीमा उत्तीर्ण गरे। त्यो बेला दोस्रो श्रेणीमा उत्तीर्ण हुनु पनि राम्रो सफलता मानिन्थ्यो।
त्यसपछि त्रिचन्द्र कलेजमा विज्ञान विषयमा भर्ना भएर प्रवीणता प्रमाणपत्र तह (आइएस्सी) पढाइ पूरा गरे।
आइएस्सी उत्तीर्ण भएपछि भीष्मसर तुलसीपुरको महेन्द्र माविमा शिक्षक भए। तीन वर्ष पढाएपछि २०२८ सालमा ‘नयाँ शिक्षा योजना’ लागु भयो।
शिक्षा कार्यालयले उनलाई श्रीगाउँस्थित सिद्धपृथ्वी जनता माविमा पठायो।
भीष्मसर ढुक्कले पढाउँदै थिए, २०२९ सालमा एकाएक पक्राउ परे।
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का पश्चिम दाङ गएका थिए। पार्टीमाथि प्रतिबन्ध थियो। पञ्चायती राज्यले खुमबहादुरको टाउकाको मोल तोकेको थियो।
भीष्मसर र खुमबहादुरबीच राम्रो सम्बन्ध थियो।
राप्ती अञ्चलको सदरमुकाम तुलसीपुर थियो। अञ्चलाधीश कार्यालय पनि त्यहीँ थियो। अञ्चलाधीश कार्यालय भएको ठाउँमा हाल राप्ती प्रादेशिक अस्पताल रहेको छ।
पातुखोला पारी दोघरेमा भीष्मसरको घर थियो। खुमबहादुर कहिलेकाहीँ त्यहीँ बस्थे।
एकरात खुमबहादुर र उनका साथीहरूले पञ्चायती व्यवस्थाविरुद्ध पर्चा छरे। खुमबहादुर भीष्मसरकै घरमा बसेका थिए तर भीष्मसर श्रीगाउँमै थिए। पर्चा छरिएको घटना उनलाई थाहा थिएन।
अचानक प्रहरी निरीक्षकको नेतृत्वमा जिपमा चढेर प्रहरी टोली श्रीगाउँको विद्यालयमा पुग्यो। पेस्तोल देखाउँदै ‘भीष्मबहादुर केसी’ लाई खोज्यो।
भीष्मसर आए अनि भने– भीष्मबहादुर केसी मै हुँ।
प्रहरी इन्स्पेक्टरले ‘तपाईंलाई अञ्चलाधीशले बोलाउनुभएको छ’ भन्दै जीपमा राखेर लगे। बाटोमा प्रहरीले राति छरिएको पर्चाका बारेमा सोधे। भीष्मसरलाई थाहा थिएन, थाहा छैन भने।
प्रहरी इन्स्पेक्टरले अञ्चलाधीशकहाँ लगेनन्। घोराही लगेर हिरासतमा राखे।
हिरासतका दिन बडो कष्टकर थिए।
भीष्मसरले भने, ‘सानो कोठा थियो त्यसकै एक कुनामा पिसाब गर्नुपर्ने, खानेसुत्ने पनि त्यही कोठामा। दिसा गर्न लोहोटामा पानी बोकेर खुला चौरमा जानुपर्ने।’
धन्य! तीन हप्ता हिरासतमा बसेपछि निर्दोष ठहर भए। भीष्मसर र अर्का एक जना रिहा भए। तीन जना दोषी ठहर भएर सल्यान कारागार पठाइए।
प्रहरी हिरासतबाट रिहा भएपछि भीष्मसर कृषि विज्ञानमा स्नातक (बिएस्सी एजी) पढ्न चितवनको रामपुर गए। दुई वर्षमा पढाइ पूरा गरे। त्यो वेला नेपालमा कृषि विषयमा स्नातकोत्तर पढाइको सुविधा थिएन। उनी भारत वा कुनै तेस्रो मुलुक गएर स्नातकोत्तर पढाइ गर्न चाहन्थे।
एक दिन दाङको शिक्षा कार्यालयका अधिकारीले उनलाई बोलाए। शिक्षाका कर्मचारी र जिल्लाका प्रधानाध्यापकहरूको बैठक रहेछ। शिक्षा अधिकारीले पढाइका बारेमा सोधे। भीष्मसरले स्नातकतहमा ८४ प्रतिशत अंक प्राप्त गरेका थिए।
शिक्षाअधिकारीले स्कुल रोजेर शिक्षक बन्न आग्रह गरे। जिल्लाभरिमा आठ वटा माध्यमिक विद्यालय थिए।
पढ्न जाऊँ कि पढाउन जाऊँ, भीष्मसर अलमलमा परे। शिक्षा अधिकारीले निकै कर गरेपछि ‘श्रीगाउँ जान्छु’ भनिदिए। आइएस्सी. पढाइपछि त्यहीँको सिद्धपृथ्वी जनता माविमा पढाएका थिए, प्रहरीले त्यहीँबाट पक्राउ गरेको थियो।
भीष्मसरको रोजाइले प्रधानाध्यापकहरू छक्क परे, मुखामुख गरे।
शिक्षकहरू दाङको पश्चिमकुनाको श्रीगाँउ जान मान्दैन थिए। जो पनि सुगम ठाउँ खोज्थे। भीष्मसरको रोजाइ उल्टो थियो।
उनका अनुसार त्यो समय शिक्षण पेसा निकै आकर्षक मानिन्थ्यो। सरकारी कर्मचारीको भन्दा शिक्षकको बढी इज्जत थियो।
श्रीगाउँमा यातायातको आधुनिक सुविधा थिएन। भीष्मसर घरबाट दुई घन्टा हिँडेर मात्र स्कुल पुग्न सक्थे।
विद्यालय नजिकै बादीबस्ती थियो। बादी महिलाको पहिचान ‘देहव्यापार’ सँग जोडिएको हुन्थ्यो। नजिकै रक्सीभट्टी थियो। जुवाका खाल पनि थिए।
भीष्मसर २०३१ साल जेठमा शिक्षक बनेर श्रीगाउँ पुगे। परीक्षा चल्दै थियो। गर्मीका कारण परीक्षा बिहान चलेको थियो।
पहिलो दिन नै भीष्मसरलाई अनौठो लाग्यो। विद्यार्थीलाई प्रश्नपत्र बाँडेर सबै शिक्षक कार्यालयकक्षमा जम्मा भएका थिए। परीक्षार्थीहरू आफूखुसी थिए।
सल्यानका द्वारिकाप्रसाद प्रधान प्रधानाध्यापक थिए। उनी सल्यानबाट काजमा आएका थिए।
भीष्मसर नियुक्त भएको पहिलो वर्ष एलएलसी परीक्षामा २५ जना सहभागी भएकामा एक जना मात्र उत्तीर्ण भए।
प्रधानाध्यापक द्वारिकाप्रसाद सल्यान नै फर्कन चाहन्थे। उनले भीष्मसरलाई प्रधानाध्यापक बन्न प्रेरित गरे। उनी चाहिँ एकदुई वर्षमै स्नातकोत्तर पढ्न जाने र सरकारी प्राविधिक भएर काम गर्ने सोचमा थिए।
आजभोलि भन्दाभन्दै दुई वर्ष बित्यो। द्वारिकाप्रसादले २०३३ सालमा भीष्मसरलाई प्रधानाध्यापक बनाएर आफ्नो काज फिर्ता गराए। माध्यमिक विद्यालयका प्रधानाध्यापकको तलब मासिक आठ सय रुपैयाँ थियो।
भीष्मसरले विद्यालयकै एउटा कोठालाई आफ्नो आवास बनाएका थिए।
विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षक पाउन मुस्किल थियो।
गाउँमा घर वा कोठा भाडामा दिने चलन थिएन। भीष्मसरले बेजिल्लाका वा घर टाढा भएका शिक्षकहरू केही दिन विद्यालय परिसरमै बस्ने व्यवस्था मिलाए।
भीष्मसर अलिक हुनेखाने परिवारका थिए। विद्यालय परिसरमा बस्ने शिक्षकका लागि समेत पुग्ने गरी घरबाटै दालचामल मगाउँथे।
शिक्षकहरू विद्यार्थी र अभिभावकसँग घुलमिल भएपछि छोराछोरी पढाइदिने शर्तमा कुनै घरमा बस्ने व्यवस्था मिलाइदिन्थे।
भीष्मसर विद्यालयको शैक्षिकस्तर सुधार गर्दै अघि बढे।
विद्यालयमा कक्षा ९ र १० मा व्यावसायिक विषयका रूपमा चार सय पूर्णांकको कृषि शिक्षा पढाइ हुन्थ्यो। एसएलसी उत्तीर्ण गरेका विद्यार्थी सोझै जेटिएमा जान पाउँथे।
विद्यार्थीलाई खेलकुदमा पनि सक्रिय गराए। त्यसबेला ‘वीरेन्द्र शिल्ड’ नाममा जिल्लास्तरीय खेलकुद प्रतियोगिता हुन्थ्यो।
२०३५ सालमा भीष्मसरकै स्कुलमा वीरेन्द्र शिल्ड प्रतियोगिता आयोजना भएको थियो। बिजुलीबत्ती थिएन।
टाकियो हिडाका नामका एक जना जापानी राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) मा काम गर्थे। ती जापानी भीष्मसरका साथी भएका थिए।
टाकियो कपासखेती विकासका सन्दर्भमा दाङ आएका थिए। उनलाई भीष्मसरले कपासखेतीकै प्रयोजनार्थ केही जमिन दिएका थिए। आफ्ना विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि पठाएका पनि थिए।
टाकियोसँग जीप, मोटरसाइकल र जेनेटर थिए। उनले वीरेन्द्र शिल्डमा सक्रिय सहयोग गरे। राति जेनेटर बालिदिए।
भीष्मसरले २०३६ सालमा चलेको शिक्षक आन्दोलन स्मरण गर्छन्। आन्दोलन चर्केको थियो। शिक्षकका विरुद्ध विद्यार्थी उचालेर शिक्षकलाई मोसो दल्न र जुत्ताको माला भिराउन लगाउने समूहहरू सक्रिय थिए।
एकपटक विद्यार्थीको एउटा समूहले वामपन्थी विचारधाराका एक शिक्षकलाई जुत्ताको माला भिराउन जबर्जस्ती गर्यो। प्रधानाध्यापक भीष्मसर अगाडि आए, लौ जुत्ताको माला मलाई लगाइदेओ, मोसो पनि दलिदेओ भने।
विद्यार्थीहरू हच्किए। भीष्मसरले ती शिक्षक सुरक्षितरूपमा घर पुग्ने प्रबन्ध गरे। त्यस्तो आन्दोलनमा पनि भीष्मसर स्कुलको आवासमा एक्लै रात गुजार्थे।
उनले भने, ‘विरोध गर्नेहरू धेरै भए पनि ममाथि आइलाग्ने र दुव्र्यवहार गर्ने आँट कसैले गरेन।’
भीष्मसरलाई शिक्षक आन्दोलनका क्रममा २०३९ सालमा प्रहरीले पक्राउ गर्यो। उनी पश्चिम दाङका लागि आन्दोलनका संयोजक थिए।
‘सरकारी विद्यालयका शिक्षकको तलब सरकारी कर्मचारीको सरह हुनुपर्छ भन्ने हाम्रो माग थियो,’ भीष्मसरले भने, ‘माग पूरा गराउन आन्दोलन गरेका थियौं। कहिले लाल्टिन बालेर जुलुस निकाल्थ्यौं, कहिले कालोपट्टी बाँधेर पढाउँथ्यौं। त्यही क्रममा म फेरि जेल परें।’
त्यसपटक पनि प्रहरीले अञ्चलाधीशले बोलाउनुभएको छ भनेर लगेका थिए तर सिधै जेलमा पर्याए।
तीन महिनापछि भीष्मसर छुटे। लगत्तै घोराहीमा शिक्षकको जुलुस निस्कियो। प्रहरीले हस्तक्षेप गर्यो, लाठी प्रहार गर्यो। धेरै शिक्षक समातिए तर कोही पनि थुनिएनन्।
प्रहरीले अलपत्र पर्ने ठाउँमा पुर्याएर छाडिदियो। सबैलाई एकै ठाउँमा होइन, फरकफरक ठाउँमा।
भीष्मसरलई भने अञ्चलाधीश कार्यालयमा केही घण्टा राखेर छाडिदियो। जागिर गएन, उनी फेरि श्रीगाउँ पुगे।
भीष्मसरले आफू प्रधानाध्यापक हुँदा एसएलसी परीक्षामा उत्तीर्ण दर शतप्रतिशत पुर्याए। त्यसी नतिजा सुधार भएपछि विद्यालयले जनस्तरबाट ‘सानो बुढानीलकण्ठ’ उपाधि पाएको थियो।
उक्त उपाधिका कारण सुर्खेत, बाँके, सल्यान, रोल्पा, रुकुमतिरका विद्यार्थी आउन थाले। विद्यार्थी र शिक्षकको संख्या बढ्दै गयो।
एकाएक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र प्रधानाध्यापक भीष्मसरको ठाकठुक पर्न थाल्यो।
उनी आफू प्रधानाध्यापक रहेको विद्यालयलाई एउटा ‘नमुना स्कुल’ बनाउन चाहन्थे।
पिसकोर स्वयंसेवक भएर जापानी शिक्षक सेइएरी सुजुकी गणित पढाउन आएका थिए। ती जापानी पनि विद्यालयकै आवासमा बस्थे, भीष्मसरसँग नेपाली भाषा सिक्थे।
भीष्मसर धेरै कमजोर विद्यार्थीहरूलाई साँझसम्म राखेर पढाउँथे।
एकदिन एकजना अभिभावकले विद्यालयमा आएर कुनै निहुँमा जापानी शिक्षकमाथि दुर्व्यवहार गर्ने प्रयास गरे। भीष्मसरले जोगाए।
एकपटक भीष्मसरले सहपाठी छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा दुई जना उदण्ड छात्रलाई अनुशासनको कारबाहीका रूपमा दण्डित गरेका थिए। केही दिनपछि ती छात्रले उनीमाथि अचानक आक्रमण गरे।
घटनापछि भीष्मसर अञ्चलाधीश कार्यालय गए। जिल्ला प्रशासन कार्यालय पनि गए। उनको कुरा सुनुवाइ भएन। उनी विद्यालय फर्के।विद्यालय व्यवस्थापन समितिसँग खटपट, आफ्नै विद्यार्थीबाट दुर्व्यवहार इत्यादि कारणले भीष्मसरको मन बिथोलियो।
जापानी शिक्षकले पनि तुलसीपुरमा निजी विद्यालय खोल्न सुझाब दिए।
बिथोलिएको मन र अन्योलका बीच पनि दुई वर्ष बित्यो। अन्ततः चौधौं वर्षमा श्रीगाउँको सिद्धपृथ्वी जनता मावि छाडेर भीष्मसरले तुलसी आवसीय स्कुल स्थापना गरे।
केही वर्षपछि भीष्मलाई आक्रमण गर्ने मध्येका एक व्यक्ति गम्भीर रोगले थलिए। ती व्यक्तिले आफ्ना छोरालाई तुलसी स्कुलमा भर्ना गराएछन्। भीष्मसरले केही दिनपछि एक जना शिक्षकबाट थाहा पाए।
उनले भने, ‘ती व्यक्तिले ममाथि भरोसा गरेरै आफ्नो छोरो मेरै स्कुलमा भर्ना गराएका थिए होलान्। त्यो भरोसाले मलाई भावविभोर बनायो।’
बाबुले भरोसा गरेजस्तै भयो, चार वर्षपछि ती छात्र प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भए। भीष्मसरको खुसीको सीमा रहेन।
भीष्मसर २०३५ सालमा नेपालको उत्कृष्ट शिक्षकका रूपमा राजाबाट सम्मानित हुने दाङका दुई शिक्षकमध्ये एक हुन। महेन्द्र बहुमुखी क्याम्पस, घोराहीका नारायणसिंह गुरुङ र भीष्मसर सम्मानित भएका थिए।
सरकारी विद्यालयतर्फ २०४४ सालमा सिद्धपृथ्वी जनता मावि मध्यपश्चिमकै उत्कृष्ट विद्यालय भएर पुरस्कार भयो।
तुलसी बोर्डिङ स्कुलबाट पहिलोपटक २०४९ सालमा ६ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी भएका थिए। त्यसपछि हरेक वर्ष विद्यार्थी संख्या बढ्दै गयो।
निजी विद्यालयहरूको संगठन प्याब्सनले २०६४ सालमा गराएको मेघावी विद्यार्थी प्रतिस्पर्धामा तुलसी स्कुलका विद्यार्थीहरूले अंग्रेजी, गणित र विज्ञानमा सर्वोत्कृष्ट स्थान हासिल गरे। पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थी तुलसी स्कुलकै थिए।
२०७६ सालमा तुलसीपुर उपमहानगरपालिका र गैरसरकारी संस्था ‘टिच फर नेपाल’ ले सञ्चालन गरेको एक परीक्षामा सहभागी नगरका ३४ संस्थागत विद्यालयमध्ये नेपाली, अंग्रेजी र गणित विषयमा तुलसी स्कुलकै विद्यार्थी उत्कृष्ट भएका थिए।
तुलसी स्कुलका धेरै विद्यार्थी डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक इत्यादि भएका छन्। विद्यार्थीहरूको उन्नतिले भीष्मसरको छाती चौडा हुन्छ।
गत वर्षको एकदिन भीष्मसर बिरामी दिदी भेट्न राप्ती प्रादेशिक अस्पताल पुगेका थिए। छिनभरमै एकजनाले नमस्कार गरे। उनका साथमा रहेका अरूले पनि नमस्कार गरे।
भीष्मसरले चिनेन्।
‘सर, म हजुरले पढाएको विद्यार्थी हुँ। अहिले यही अस्पतालमा डाक्टर छु,’ आफ्नो परिचय दिँदै ती व्यक्तिले भने, ‘यी मेरा साथीहरू हुन्। दिदीलाई हाम्रै टिमले हेरेको छ। हजुर ढुक्क हुनुभए हुन्छ।’
फेरि पनि भीष्मसर औधी खुसी भए।
भीष्मसरका एक छोरा किशोर खत्री पनि चिकित्सक छन्। उनी तुलसी स्कुलबाट एसएलसी परीक्षा लेख्ने पहिलो वर्षका विद्यार्थी थिए। दोस्रो वर्षमा कान्छी छोरी आभा खत्रीले एसएलसी उत्तीर्ण गरिन्। उनी इन्जिनियर हुन्, हाल अमेरिकामा काम गर्छिन्।
आफ्नो वार्धक्यप्रति भीष्मसर सचेत छन्। छोरी आभा फर्केर आउने र विद्यालय सम्हाल्ने उनको अपेक्षा छ।
भीष्मसरको परिवार औसत सुख र सन्तोषमा चलेको थियो। स्कुलको प्रतिष्ठा बढ्दो थियो। अचानक उनको परिवारमा बज्रपात भयो। जेठा छोरा किरण ३० वर्षको उमेरमा हृदयाघातले परलोक भए।
भीष्मसरले शुष्क स्वरमा मनको बह पोखे, ‘तपाईंजस्ता युवा देख्दा छोरो सम्झन्छु। यो मनमा कहिल्यै नमेटिने घाउ लाग्यो। पीडाले भित्रभित्रै रुन्छु।’
किरणकी सन्तान, भीष्मसरकी नातिनी क्रिष्टिना खत्री यति एयरलाइन्सको जहाज उडाउँछिन्।
२०६८ सालको एसएलसी परीक्षामा तुलसी स्कुलबाट ११६ जना विद्यार्थी सहभागी भएका थिए। ती मध्ये ७८ जनाले जनाले ‘डिस्टिङसन’ श्रेणी र ३८ जनाले प्रथम श्रेणी हासिल गरेका थिए।
त्यस वेला ८० प्रतिशतमाथि अंक प्राप्त गर्ने ‘डिस्टिङसन’ श्रेणीमा ६० प्रतिशतमाथि अंक प्राप्त गर्ने प्रथम श्रेणीमा पर्थ्यो।
उत्कृष्ट स्कुललाई पुरस्कृत गर्न काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनको सभाहलमा समारोह भएको थियो। उद्घोषकले तुलसी स्कुलको नतिजा सुनाउँदा खचाखच भरिएको सभाहल तालीले गुञ्जायमान बनेको थियो।
‘मैले सुरु गरेको हुँ, सबै सफलता म एक्लैको होइन,’ भीष्मसर भन्छन्, ‘सफलताको श्रेय सबै शिक्षक, अभिभावक र विद्यार्थीहरूको हो। सामूहिक प्रयासले भएको हो।’
तुलसीपुरको रक्षाचौरका बासिन्दा ४४ वर्षीय कृष्णबहादुर खड्काकी छोरी तुलसी स्कुलमा कक्षा ८ मा पढ्छिन्। उनले आफ्नी छोरी तुलसी स्कुलकी विद्यार्थी रहेकोमा खुसी प्रकट गरे।
तुलसीपुरकै बासिन्दा ३७ वर्षीय कमल डाँगीले तुलसी स्कुलबाटै २०६१ मा एलएलसी परीक्षा उत्तीर्ण गरे। विज्ञान विषयमा स्नातक (बिएस्सी) पूरा गरेपछि तुलसी स्कुलमै तीन वर्ष पढाए।
पढाउन कक्षामा जानुअघि आफूलाई भीष्मसरले करिब एक घण्टा प्रशिक्षित गरेको उनले स्मरण गरे।
‘भीष्मसरले आफ्नो जीवन शिक्षामा समर्पण गर्नुभयो। उहाँजस्तो अनुशासित, कर्तव्यनिष्ठ र सकारात्मक सोचका धनी व्यक्ति विरलै भेटिन्छन्,’ उनी भन्छन्, ‘भीष्मसरलाई देख्दा मलाई ऊर्जा प्राप्त हुन्छ।’
कमलका एका छोरा कवीर तुलसी स्कुलमै ५ कक्षामा पढ्दै छन्।
पर्सडुवाका बासिन्दा ७० वर्षीय जनार्दन शर्माले भीष्मसरलाई ‘शिक्षाका सच्चा पुजारी’ का रूपमा चित्रणा गरे। शर्माले भीष्मसरलाई उनी श्रीगाउँको सिद्धपृथ्वी जनता माविका प्रधानाध्यापक हुँदा चिनेका थिए।
‘ओहो, भीष्मजीका पालामा श्रीगाउँको स्कुल कहलिएका कुनै पनि बोर्डिङ (निजी) स्कुल भन्दा कम थिएन,’ शर्माले भने, ‘स्कुलको ठूलो इज्जत थियो। सबै आमाबाबु आफ्ना छोराछोरी श्रीगाउँमै पढाउन चाहन्थे।’
नजी स्कुल चलाएर पनि भीष्मसरले अभिभावक र विद्यार्थीको मन जितेको र सच्च शिक्षासेवी बनेको निष्कर्ष शर्माले सुनाए।
भीष्मसर सरकारका कृषि प्राविधिक त भएनन् तर उनले विद्यालय चलाएर अनेक प्राविधिक र उच्चदक्ष जनशक्ति उत्पादन गर्ने आधारभूमि खडा गरे।