दाङको तापक्रम लगभग ४० डिग्री सेल्सियसको हाराहारीमा पुगेपछि तुलसीपुर बजारमा मानिसहरूको चहलपहल कम देखिन थालेको छ।
तुलसीपुर उपमहानगरले शुक्रबारदेखि लागु हुने गरी पाँच दिन विद्यालय बन्दको घोषणा गरेको छ। यसअघि देउखुरी उपत्यकाका तीन पालिकाले गर्मी बिदा दिइसकेका छन्।
तापक्रम बढेपछि तातो हावा चल्न थालेको छ। पैदल यात्रुहरू घामबाट जोगिन छाता ओढेर हिँडेको देखिन्छन्। गर्मीका कारण सहर बजारमा किनमल गर्न आउनेको संख्या घटेको छ। पैदल यात्रु कम र गाडीमा मानिसहरू बढी यात्रा गरेको देखिन्छ। तुलसीपुरको बिपी चोकमा विगत १६ वर्षदेखि टेकराम खड्काले नि:शुल्क रूपमा पानी वितरण गर्दै आएको ठाउँमा पानी पिउनेहरूको भिडभाड देखिन्छ।
मानिसहरू गर्मीबाट जोगिन चिसो पिय पदार्थ पिइरहेका देखिन्छन्। रूख तथा छहारी भएको ठाउँमा मानिसहरू घामबाट जोगिन बसिरहेका छन्।
दाङमा बुधबार यो वर्षकै उच्च तापक्रम मापन गरिएको थियो। बुधबार अधिकतम तापक्रम ३९ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो। गत वर्ष असार ४ गते पनि तापक्रम ३९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो। जुन यो वर्षको जिल्लाको उच्च तापक्रमसँग समान थियो।
बिहीबार बिहान यो वर्षकै उच्च न्यूनतम तापक्रम मापन भएको छ।
मौसम विज्ञान कार्यालय घोराहीकी प्रमुख श्रेया रिजालका अनुसार बिहीबार बिहानको न्यूनतम तापक्रम २७ डिग्री सेल्सियस थियो। जुन यो वर्षकै सबभन्दा उच्च तापक्रम हो। बुधबार जिल्लामा न्यूनतम तापक्रम २५ दशमलव ४ डिग्री सेल्सियस र हावामा ओसको मात्रा ३१ प्रतिशत रहेको थियो।
यो वर्ष अझै तापक्रम बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
कार्यालयका अनुसार जेठ ५ गते अधिकत तापक्रम ३८ दशमलव ४ डिग्री सेल्सियस मापन भएको थियो।
दाङमा बितेको १० वर्षयताकै उच्च ०७६ जेठ २ गते ३९ दशमलव ९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम विज्ञान कार्यालय घोराहीकी प्रमुख श्रेया रिजालले जनकारी दिइन्।
कार्यालयको रेकर्ड अनुसार २०७६ अघि ०७२ जेठ २५ गते अधिकतम तापक्रम ३९.३, ०७३ वैशाख ८ गते ३९.२ र ०७३ वैशाख १५ गते ३८.९ डिग्री सेल्सियस मापन गरिएको थियो। त्यस्तै २०७९ मा सबभन्दा धेरै वैशाख १३ गते ३७ डिग्री सेल्सियस मापन गरिएको थियो।
त्यो वर्षभरी ३७ डिग्रीभन्दा कम तापक्रम रहेको थियो। त्यस्तै, २०८० असार ३ गते अधिकतम तामक्रम ३९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो।
तस्बिरहरू: