दाङको तुलसीपुर उपमहानगरपालिका-१२ टरिगाउँस्थित ग्वारखोला किनारमा जलकुण्ठी बहुउद्देश्यीय कृषि फर्ममा वैशाख १९ गते दिउँसो आगलागी भयो।
घोराही उपमहानगर-४ का ३३ वर्षीय सन्तोष घिमिरेले २०७५ सालदेखि त्यस फर्ममा च्याउ खेती गरेका थिए। आगलागी भएपछि च्याउ, पराल काट्ने औजार, मेसिन लगायत सामान नष्ट भयो।
उक्त फर्म रहेको जग्गा उनका मामा नारायणप्रसाद कँडेलले ऐलानी जग्गामा चर्चिंदै आएका थिए।
सन्तोष मामा कँडेलकै घरमा हुर्किएका थिए। पछिल्लो समय काम गर्ने प्रस्ताव राखेपछि भने सन्तोषले उक्त जग्गामा भाडामा च्याउ खेती गर्ने अनुमति पाएका थिए।
उक्त जग्गाको वार्षिक डेढ लाख भाडा तिर्ने गरी १० वर्षका लागि सम्झौता भएको थियो।
कामकै सिलसिलामा पानीको आवश्यक परेपछि सन्तोषले डिप बोरिङ समेत गरेका थिए। त्यसका लागि सरकारकै बजेटमार्फत् काम अघि बढाइएको थियो।
पछिल्ला दुई वर्षमा उनको काम फस्टाएको थियो। दैनिक जसो चार क्विन्टलसम्म च्याउ उत्पादन हुन्थ्यो। व्यापार बढेपछि उनले गत कात्तिकमा करिब १४ लाख खर्चेर सानो गाडी पनि किने।
यसो त सन्तोषले पछिल्लो समय च्याउ खेती गरी भोगचलन गरेको जग्गा आफूले नै पाउनुपर्ने भन्दै तुलसीपुरको न्यायिक समितिमा निवेदन पनि दिएका थिए।
यसरी जग्गा दाबी गरेको मावली खलक कँडेल परिवारले थाहा पाए। त्यसपछि उनीहरू पनि प्रहरी प्रशासनमा गुहार माग गर्दै पुगेका थिए।
यस्तै २०७५ सालमा भएको सम्झौतामा पनि सन्तोषले ठग्न खोजेको कँडेल परिवारको आरोप छ। २०७९ सालदेखि सम्झौता भएको भनेर कागजपत्र तयार गरी झुक्याउन खोजेको उनीहरूको आरोप छ। यसरी मामा-भान्जाबीच तिक्तता बढ्दै गएको थियो।
सन्तोषले पछिल्लो वर्षमा वार्षिक भाडा समेत नदिएको आरोप छ।
भाडा नदिएको भन्दै मामा नारायणप्रसाद गत माघ १ गते च्याउ फर्ममा पुगेका थिए। जग्गाको भाडा माग गरेपछि दुई जनाबीच तनावको अवस्था समेत सिर्जना भयो।
सन्तोषले भाडा नदिने भनेपछि नारायणप्रसादले तारजाली निकाल्न खोजे, त्यसपछि मामा-भान्जाबीच कुटाकुट भएको थियो।
दुई जनाबीच झगडा हुँदा सन्तोषको दाहिने हात भाँचिएको थियो। यसरी दुई परिवारबीच झगडा भए पनि च्याउ खेतीको काम रोकिएको थिएन। चार जना कामदारले काम गरिरहेका थिए।
सन्तोषको उपचार जारी रहँदा उनका बुवा शशिधरले फर्म खेती हेर्न थालेका थिए।
वैशाख १९ गते शशिधर घोराहीको गोग्ली गएका थिए। त्यसदिन एक जनामात्रै कामदार थिए। दिउँसो एकाएक च्याउ फर्ममा आगलागी भएको थियो।
तुलसीपुर-१२ टरिगाउँका ६० वर्षीय मेलुवा चौधरीले आगलागी भएको देखेर प्रहरीलाई खबर गरे। मेलुवा तरूण सामुदायिक वनमा चौकीदार थिए। उनले कँडेल परिवारको खेतमा अँधियामा काम गर्दै आएका थिए। मेलुवाले आगलागी भएको दिन आसपास नारायणप्रसादलाई देखेका थिए। यसबारे उनले प्रहरी बयानमा समेत बताएका थिए।
तर सन्तोषले मेलुवामाथि नै प्रश्न तेर्स्याए।
एक दिन सन्तोषले मेलुवालाई च्याउ फर्ममै झिकाए। जहाँ उनको भिडिओ समेत खिचेर आगजनीबारे सोधीखोजी गरिएको थियो।
मामा नारायणप्रसादले पनि मेलुवालाई नबोल्न धम्की दिँदै आएका थिए। प्रहरीले मेलुवालाई नै अदालतमा साक्षीको रूपमा पेश गर्ने तयारी गरिरहेको थियो।
त्यसैबीच वैशाख २८ गते मेलुवाले वनमा आत्महत्या गरे। मृतक मेलुवाका छोरा रमेशले मामा-भान्जाको झगडाका कारण मेलुवामाथि दोष आएको बताउँछन्। उनी वैदेशिक रोजगारीका लागि साउदी गइसकेका छन्।
‘दुबै तर्फको टर्चर सहन नसकेर बुवा अनाहकमा मृत्युको मुखमा पुग्नुभयो,’ रमेशले भने, ‘कानुनमा जे छ दोषीमाथि कारबाही होस् र हामी गरिबले न्याय पाउनु पर्छ।’
मेलुवाकी बुहारी उमाले इलाका प्रहरी कार्यालयमा सन्तोष र नारायणप्रसादविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएकी थिइन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार फर्ममा आगलागी भएको भन्दै सन्तोषले मामा नारायणप्रसाद र उनका बुवा चुँडामणिविरूद्ध समेत जाहेरी दिएका थिए। प्रहरीले नारायणप्रसादलाई वैशाख २१ गते नै आगजनी कसुरमा पक्राउ गरेको थियो।
पछि मेलुवाको मृत्युपछि उनीविरूद्ध आत्महत्या दुरूत्साहनको समेत मुद्दा लागेको थियो। सन्तोष भने वैशाख ३१ गते पक्राउ परेका थिए।
बुधबार इलाका प्रहरी कार्यालय तुलसीपुरले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। यसबारे अदालतमा मुद्दा दर्ता गरी सुनुवाइ सुरू हुने प्रहरीले जनाएको छ।
जग्गा विवाद मिलाउन मामा-भान्जाले विभिन्न निकायलाई पनि गुहारेका थिए।
तुलसीपुर –१२ को वडा कार्यालय, राजनीतिक दल, तुलसीपुरको न्यायिक समिति गुहारले पनि ऐलानी जग्गामाथिको विवाद भएको हुँदा ती निकायले पनि केही छिनोफानो गर्न सकिरहेका थिएनन्।
वडा कार्यालयले भने सन्तोषले फर्म सञ्चालन गर्दै आएको उक्त जग्गा २०४० सालदेखि नै उनका मावली हजुर बुवा चुडामणि कँडेलले भोगचलन गर्दै आएको भन्ने सिफारिस दिएको छ।