कर्णाली प्रदेशका केही जिल्लामा घुमन्ते जीवन बिताइरहेका राउटे समुदायको जनसंख्या घट्दो क्रममा छ। निरन्तर जनसंख्या घट्न थालेपछि राउटे समुदायको अस्तित्वका बारेमा चिन्ता गर्न थालिएको हो।
पछिल्लो १० वर्षको अवधिमा मात्र यो समुदायको जनसंख्या २६ प्रतिशतले घटेको देखिन्छ। २०७१ सालमा तत्कालीन स्थानीय विकास मन्त्रालयले जिल्ला विकास समिति सुर्खेतमार्फत् राउटेहरूको जनगणना गरेको थियो। तत्कालीन समयमा राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता दिन मन्त्रालयले यकिन संख्या नै नभएपछि गणना गर्न पठाएको थियो। उक्त समयमा सुर्खेतमा बसोबास गरेका राउटेको संख्या १८२ जना थियो।
त्यसयता ४७ जनाभन्दा बढी राउटेको मृत्यु भएको छ। हाल राउटे समुदायमा १ सय ३५ जना मात्र छन्।
पछिल्लो ६ वर्षको अवधिमा मात्र पनि राउटे समुदायको जनसंख्या ५ प्रतिशतले घटेको देखिन्छ। राउटेसँग जोडिएको गैरसरकारी संस्था सोसेकका अनुसार २०७५ सालमा उनीहरूको संख्या १४९ जना थियो। त्यसयता बढेर समुदायभित्रको जनसंख्या १६० पुगेको थियो। गत वर्षसम्म यो संख्या घटेर १३७ मा पुगेको थियो।
यो वर्ष फेरि घटेर १३५ मा झरेको सोसेक नेपालका कार्यकारी प्रमुख हिरासिंह थापाले बताए। यो वर्ष मात्र एक बालिका र एक युवकको मृत्यु भएको छ।
राउटेको जनसंख्या निरन्तर घट्नुमा मुख्यगरी उनीहरूका परम्परागत मान्यता रहेका छन्। तीमध्ये कतिपय मान्यता मानव जीवनका लागि हानीकारक छन्।
राउटे समुदायले अस्पतालमा पुगेर गरिने आधुनिक उपचारलाई परम्पराविपरीत मान्दछन्। उनीहरूले आफ्नै उपचार पद्धतिमा विश्वास गर्छन्। जंगलको जडीबुटीमाथि भर पर्छन्। कतिपय रोग निदानमा राउटेको आफ्नै पद्धतिले काम गर्दैन।
यही असोज २ गते राउटे युवा २२ वर्षीय वृषबहादुर शाहीको मृत्यु भएको छ। राउटे समुदायभित्रका एउटा समूहका मुखियाका छोरा वृषबहादुर ६ महिना अघिदेखि क्षयरोगले थला परेका थिए। उनी बिरामी भएपछि राउटे समुदायसँग जोडिएर काम गरिरहेको सोसेक नेपालले उपचारका लागि अस्पताल लैजान पहल गरेको थियो। तर समुदायले मान्दै मानेनन्।
अन्तिममा बिरामी वृषबहादुरले नै ‘समुदायले जे भने पनि आफूलाई बचाउन अस्पताल लैजानुस्’ भनेपछि सोसेकका प्रतिनिधिले भदौ ३१ गते कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि ल्याएका थिए। अस्पतालले बिरामीको अवस्था अन्तिम चरणमा भएको र बचाउन नसकिने बताएपछि समुदायमै फिर्ता लगिएको थियो। अस्पतालबाट लैजाने क्रममा वृषबहादुरको बाटोमा मृत्यु भयो।
राउटे समुदायले अस्पतालमा उपचार गराउन नहुने मान्यता राख्ने गरेकाले पनि गम्भीर रोग लाग्दा समयमै उपचार गराउन नसकिने सोसेकका कार्यकारी प्रमुख थापा बताउँछन्। जसले गर्दा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ।
राउटेभित्रको जनसंख्या सन्तुलनमा नहुँदा पनि जनसंख्या घट्ने समस्या भइरहेको छ। यो समुदायमा तीन वटा समूह छन्। जसमा रास्कोटी, कल्याल र शोवंशी समूह छन्। अरू दुई समूहभन्दा रास्कोटी समूहको जनसंख्या झण्डै दोब्बरले बढी छ। यी तीन समूहको आ–आफ्नो समूहभित्र वैवाहिक सम्बन्ध हुँदैन। जसले गर्दा जन्मदरभन्दा मृत्युदर बढी हुन्छ।
राष्ट्रिय मानव अधिकार आयोग र सोसेकले गत वर्ष गरेको अध्ययनको प्रतिवेदनअनुसार राउटे समुदायभित्र नयाँ जन्ममा लामो अन्तराल पाइएको छ।
उक्त अध्ययनले राज्यको यथोचित ध्यान पुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु र नराख्नु, प्रजनन स्वास्थ्यको अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसमअनुकुल लत्ताकपडाको अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको अभावका कारण समुदायका मानिसहरूले अकालमा मृत्युवरण गर्नुपरेको निष्कर्ष निकालेको छ।
राउटे समुदाय बस्ती नजिक बस्न थालेको र ती क्षेत्रमा जथाभावी वितरण हुने मदिराले पनि जनसंख्या घट्नमा मद्दत पुगेको प्रा.डा. नन्दबहादुर सिंह बताउँछन्। राउटे समुदायमा लामो समय अध्ययन–अनुसन्धान गरेका सिंहका अनुसार हानीकारक रसायनिक तत्त्व मिसाइएको मदिरा सेवनले राउटेहरूको स्वास्थ्यमा ठूलो समस्या निम्त्याइरहेको छ।
‘पहिले उनीहरू बस्तीभन्दा टाढाको जंगलमा बस्थे, जंगलको स्वस्थकर जडीबुटीको प्रयोग गरेर आफैले मदिरा बनाएर खान्थे। यसले उनीहरूको स्वास्थ्यलाई असर गर्थेन,’ उनी भन्छन्, ‘अहिले राउटेहरू बस्ती नजिक बस्छन्, ती बस्तीमा सस्तो मूल्यमा पाउने मदिरा सेवन गर्न थालेपछि उनीहरूको स्वास्थ्य नाजुक बनेको देखिन्छ।’
पछिल्लो समय राउटे समुदायले अत्याधिक मदिरा सेवन गर्ने गरेको पाइन्छ।
यो समुदायमा पानी र मौसमजन्य रोगको प्रभाव बढी देखिएको सिंहले बताए। रोगको समयमै पत्ता नलाग्ने र उपचार हुन नसक्ने भएपछि जन्म भन्दा मृत्युदर बढेको उनको बुझाई छ।
यो समुदायको जनसंख्या घट्न नदिन ‘मोबाइल टिम’ बनाएर काम गर्नुपर्ने उनी बताउँछन्।
‘शिक्षा, स्वास्थ्यमा काम गरेका, समुदायमा अध्ययन गरेका विज्ञलाई समावेश गरी मोबाइल टिम बनाउनु जरूरी छ, यसले जहाँजहाँ समुदाय जान्छ, त्यहाँ गएर काम गर्ने गर्नुपर्छ,’ सिंहले भने, ‘राउटेहरूलाई जबर्जस्ती यहाँ बस भनेर भन्न मिल्दैन, उनीहरूको आफ्नो परम्पराअनुसार बेलाबेलामा ठाउँ परिवर्तन गरेर बस्छन्। उनीहरू गएकै ठाउँमा मोबाइल टिम गएर आवश्यक काम गर्नु आवश्यक छ।’
यही टिमबाट अस्पतालको उपचार, शिक्षाको महत्त्वबारे राउटे समुदायलाई निरन्तर बुझाउनुपर्ने उनले बताए।
विश्वमा यस्ता समुदायका लागि युनेस्को, युनिसेफ लगायतका संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूले ‘मोबाइल टिम’ अवधारणामा काम गरिरहेका छन्।
समुदायको आफ्नो संस्कृतिलाई तत्कालै ध्वस्त पार्न खोज्नुभन्दा विस्तारै परिवर्तन गराउनु उपयुक्त हुने सिंह बताउँछन्।
‘आदिवासी तथा लोपोन्मुख समुदायका लागि विश्वव्यापी रूपमा लागू भएको अवधारणा राउटे समुदायमा पनि लिन सकियो भने उनीहरूको जनसंख्या बढाउन सकिन्छ, नेपालको पहिचानमध्येको एक भएकाले राउटे समुदायलाई जोगाइराख्न जरूरी छ,’ सिंहले भने।
लोपोन्मुख राउटे समुदायलाई जोगाइराख्न तीनै तहका सरकारले निश्चित ऐन ल्याउन पनि जरूरी रहेको उनले बताए।
२०८१ जेठमा राष्ट्रिय मानव अधिकार आयोगले राउटे समुदायको संरक्षण, सुरक्षा, र उनीहरूको प्रथासँग सम्बन्धित अभ्यासको निरन्तरताका लागि विशेष कानुनी व्यवस्था गर्न तीन तहका सरकारलाई निर्देशन दिएको थियो।
आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकरालाई यस्तो निर्देशन पठाएको थियो।
निर्देशनमा आयोगले राउटे बस्ती स्थानान्तरण सँगसँगै स्थानान्तरण हुने गरी घुम्ती प्रहरी चौकी स्थापना गर्न, राउटे समुदायको सामाजिक, सांस्कृतिक संरक्षणका लागि संरक्षित क्षेत्र घोषणा गर्न, राउटे बस्ती स्थानान्तरणसँगै प्रशासन, पञ्जिकरण, खाद्यान्न, राहत, पोषण, स्वास्थ्य लगायतका सेवाहरूका लागि घुम्ती एकीकृत सेवा केन्द्र स्थापना गर्न, राउटे बस्तीमा मदिरा र सुर्तीजन्य पदार्थको बिक्री–वितरण बन्द गर्न, राउटे, खाम्ची भाषाको पाठ्यक्रम विकास गर्न भनेको थियो।
आयोगले राउटे समुदायको उत्थान, मुलप्रवाहीकरण तथा सशक्तीकरणका लागि एकीकृत आवधिक कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न र राउटेका मामिलामा काम गर्न कुनै विशेष निकायलाई जिम्मेवारी तोक्न पनि संघीय सरकारलाई निर्देशन दिएको थियो।
राउटे समुदाय अहिले दैलेखमा बसोबास गरिरहेका छन्। पछिल्ला केही दशक उनीहरूको मुख्य बसोबास दैलखे, अछाम, जाजरकोट, सुर्खेत र सल्यानमा हुने गरेको छ। आफ्नो परम्परा अनुसार यी जिल्लाका विभिन्न ठाउँमा राउटे समुदाय बस्ती सार्ने गर्छन्।
यो समुदायको अपनत्व भने दैलेखको गुराँस गाउँपालिकाले लिएको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको रेकर्डमा नै राउटेहरू गुराँस गाउँपालिका वडा नम्बर ८ का बासिन्दा भनेर राखिएको छ। गाउँपालिकामार्फत राउटे समुदायलाई दिइने सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको छ।
‘उनीहरू आफ्नो परम्परा अनुसार नेपालका जुनसुकै ठाउँमा पुगेर बस्न पाउँछन्, तर पञ्जीकरण विभागमा भने गुराँस–८ का बासिन्दा भनेर रेकर्ड छ,’ गुराँस गाउँपालिका–८ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता दीपेन्द्र वलीले भने, ‘उनीहरूले नागरिकता बनाउन चाहँदैनन, जन्मदर्ता भने हामी आफैले गरिदिन्छौं।’
राउटे समुदायका एक जना सदस्यले मासिक चार हजार रूपैयाँ सामाजिक सुरक्षा भत्तावापत पाउँछन्। यो रकम प्रत्येक तीन महिनामा गाउँपालिकाले नै उनीहरू बसेको ठाउँमै पुगेर वितरण गर्छ।
२०७५ सालमा गुराँस गाउँपालिकाले उनीहरूलाई ‘राउटे परिचयपत्र’ समेत दिएका छ। संघबाट आउने सामाजिक सुरक्षा भत्तावापतको रकम पालिकाले उक्त परिचयपत्र र जन्मदर्ताका आधारमा वितरण गर्ने गरेको प्रवक्ता वलीले बताए।