बाँकेकी निर्मला कुर्मीका न्याय माग्दै बालुवाटार पुगेकी रूबी खानसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कुर्मीको मुद्दा अदालतमा लैजानुपर्यो भन्दै प्रधानमन्त्री कार्यालय बालुवाटार पुगेका अभियन्ता खानसहित ६ जनालाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरूलाई प्रधानमन्त्री कार्यालयको ३ नम्बर गेटबाट प्रहरीले नियन्त्रणमा लिएको महिला अधिकार मञ्जका सूचना अधिकारी मोहमतशेर बागवनले जानकारी दिए।
उनकाअनुसार रूबी खान, ललिता थारू,गिता चमार, बानी चमार, विजय सिवाकोटी र लक्ष्मण श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ।
'नारा जुलुस गर्न नपाइने क्षेत्रमा गएको भन्दै प्रहरीले अभियन्ताहरूलाई नियन्त्रणमा लिएको हो,' उनले भने।
निर्मला कुर्मीको कानुनी प्रक्रिया अगाडि बढ्नुपर्यो भन्दै रूबीखानसहित १३ जना बाँकेका अभियन्ताहरू ६८ दिनदेखि माइतीघरमा धर्ना बसिरहेका छन्।
उनीहरू कहिले संसद भवन, सिंहदरवार र प्रधानमन्त्री कार्यालय अगाडि पुगेर आफ्ना मागहरू राखिरहेका छन्।