एक लाख रूपैयाँ जरिवाना गरिएको पत्र बुझ्न नेकपा एमालेले अस्वीकार गरेपछि काठमाडौं महानगरपालिकाले इमेलमार्फत् पत्र पठाएको छ।
सोमबार महानगर प्रहरीबाट इमेलमार्फत् नेकपा एमालेको केन्द्रीय कार्यालयलाई पत्र पठाइएको महानगरका विभागीय प्रमुख ध्रुव काफ्लेले जानकारी दिए।
'केन्द्रीय कार्यालयले आफू आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेपछि आज महानगर प्रहरी बलबाट इमेलमार्फत् पत्र पठाइएको छ,' उनले भने।
आइतबार महानगर प्रहरीका इन्स्पेक्टर किशोरकुमार भट्टराई नेतृत्वको टोली एमाले केन्द्रीय कार्यालय च्यासलमा पत्र बुझाउन पुगेको थियो। तर एमालेको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले दरबारमार्गको कार्यक्रमको आयोजक केन्द्रीय कार्यालय नभएको बताएर पत्र बुझ्न अस्वीकार गरेका थिए।
उनले उक्त कार्यक्रमको आयोजक जिल्ला कमिटी भएको बताएका थिए।
एमालेले जागरण सभाबाट दरबारमार्गमा फोहोर भएको भन्दै महानगरले जरिवाना गरेको पत्र सार्वजनिक भएको थियो।
एमाले नेताहरूले औपचारिक रूपमा पत्र प्राप्त नभएकाले त्यसको औचित्य नरहने बताउन थालेपछि महानगरले आइतबार एमाले कार्यालय पुगेर पत्र बुझाउन खोजेको थियो।