स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ।
बैठकमा मन्त्रालयले प्रथम चौमासिकमा गरेका कामहरूको समीक्षा गरिएको थियो।
समीक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन कर्मचारीहरूसँग आग्रह गरे।
‘पुँजीगत खर्च कम हुनु गम्भीर समस्या हो, यसमा सबैलै समीक्षा गरौं,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयलाई सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालयका रूपमा हामी विकास गराऔं।’
मन्त्री पौडेलले आम नागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्नु आफ्नो लक्ष्य भएको उल्लेख गर्दै हाल थपिएका निःशुल्क उपचार लगायतका सुविधामा कमसे कम भार पर्ने गरी काम गरिएको बताए।
‘पपुलिष्ट बन्न हैन, कम भार थपेर नागरिकलाई सजिलो पार्न निःशुल्क सेवा थपेका हौं,’ उनले भने, ‘आम नागरिकलाई सहज सुविधा दिन गरिएका निर्णय आन्तरिक श्रोतबाटै व्यवस्थापन गरेका छौं। राज्यलाई कम भार पर्ने गरी स्रोत निश्चित भएका निर्णय मात्र गरेका छौं।’
‘१० दिनभित्र पुँजीगत खर्च बढाउने योजनासहित आउनुस्’
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले अबको १० दिनमा पुँजीगत खर्च तथा सुधार योजना लिएर आउन कर्मचारीसँग आग्रह गरे।
‘प्रथम चौमासिक गयो। म आएको पनि ४ महिना भयो,’ मन्त्री पौडेलले भने, ‘खर्चमा प्रगति सोचेजस्तो भएन। खर्च हुन बाँकीको टेन्डर गरेर काम थाल्न अब ढिला नगरौं।’
मन्त्री पौडेलले तीन तहले नै स्वास्थ्य क्षेत्रमा काम गरिरहेको भन्दै अब साना अस्पताल स्थानीय तहले नै निर्माण गर्ने भएकाले आफूहरूको ध्यान जिम्मा लिएर काम सक्न बाँकीमा केन्द्रित गर्न आग्रह गरेका छन्।
‘भएका अस्पतालमा आवश्यक सुविधा भएको सुनिश्चित गरौं,’ मन्त्री पौडेलले भने, ‘अस्पताल हुने, उपकरण नहुने तर साना अस्पताल थपिने अवस्था कम गरौं। वारि पनि पारि अस्पताल पनि हुनु भएन। भएकालाई राम्ररी कसरी चलाउने भन्नेतर्फ हामीले ध्यान दिनुपर्छ।’