काठमाडौंमा कारको ठक्करपछि घाइतेलाई अस्पताल पुर्याएर भागेका चालक पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-३२ तिनकुने गैरीगाउँ सडकमा कारको ठक्करबाट एक जना पुरूष घाइते भएका थिए। सर्लाही घर भई गैरीगाउँ बस्ने ५१ वर्षीय विनोद महरा भन्ने राम विनय रामलाई घाइते बनाएर सवारी चालकले केएमसी अस्पतालमा पुर्याएका थिए।
अस्पतालमा पुर्याएपछि मोरङ विराटनगर उपमहानगरपालिका-१७ घर भई ललितपुर महानगर-१ कुपण्डोल बस्ने ४० वर्षीय चालक निरज विष्ट फरार भएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उपचारको क्रममा घाइते राम विनयको आइतबार मृत्यु भएको हो।
उक्त घटनापछि फरार रहेका चालकलाई खोज्न प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरबाट संयुक्त टोली खटिएको थियो।
खोजी गर्नेक्रममा उनलाई प्रहरीले कुपण्डोलबाट पक्राउ गरेको हो।
पक्राउ परेका चालकमाथि थप अनुसन्धान अघि बढाएको छ। चालकको बा ३ च ९४४ को कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ।