दाङमा आफ्नै पेटमा चक्कु प्रहार गरी युवकले आत्महत्या गरेको भनिएको घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ।
भक्तपुरको नगरकोट नगरपालिका-१४ का २८ वर्षीय अनिल तामाङले मंगलबार बिहान साढे ९ बजे आफ्नै पेटमा चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको थियो। यद्यपि थप अनुसन्धानको क्रममा घटनाबारे नयाँ तथ्य खुलेसँगै शंकास्पद रहेको बताएको हो।
यसबारे इलाका प्रहरी कार्यालय तुलसीपुरले दिउँसो १ बजे पत्रकार सम्मेलन समेत आयोजना गरेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले मृतक युवककी श्रीमतीलाई भक्तपुरबाट जाहेरीका लागि बोलाइएको बताए।
घटनाबारे हाल सार्वजनिक भएको कुरा भन्दा तथ्य फरक हुनसक्ने उनले बताए।
घटना अनुसन्धान गरिरहेका इप्रका तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले पनि सार्वजनिक भएका कुराहरू भन्दा केही नयाँ कुरा फेला परेको संकेत गरे।
‘आफ्नै पेटमा चक्कु प्रहारको घटनामा केही कैफियत छ,’ उनले भने, ‘बाँकी कुरा पत्रकार सम्मेलनमा सार्वजनिक गरौंला।’
अनिल असोज २३ गते मात्रै बुवा र दाजु सँगै दसैं मनाउने भनेर दाङ आएका थिए। बबई गाउँपालिका– ४ हापुरे बजारमा अनिलका बुवा, दाजु लगायत परिवारका सदस्यले डोल्मा होटल सञ्चालन गर्दै आएका छन्।
अनिलले बिहानैदेखि मदिरा सेवन गरी बुवा सोमार तामाङसँग सम्पत्ति माग गरी झगडा गरेको र आवेगमा आएर आफैमाथि चक्कु प्रहार गरेको परिवारको भनाइ थियो।
घाइते भएका अनिललाई उपचारको लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो। त्यहाँ चिकित्सकले उपचारको क्रममा मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले बुवा सोमार र अनिलका दाजु पूर्णलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।
अनिलका बुवा सोमारलाई तुलसीपुरबाट र दाजु पूर्णलाई हापुरेस्थित होटेलबाट नियन्त्रणमा लिएको थियो। मृतकको शव तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।