एक सातामा देशभर झन्डै दुई हजार डेंगी संक्रमित थपिएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणअनुसार असोज २२ गतेयता देशभर १ हजार ९९७ जना डेंगी संक्रमित थपिएका हुन्। योसँगै डेंगी संक्रमितको कुल संख्या १९ हजार ५९९ पुगेको महाशाखाको विवरणमा उल्लेख छ।
यसपालि असोजसम्म डेंगी संक्रमणकै कारण ९ जनाको मृत्यु भएको पनि महाशाखाले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
असोज २२ गते देशभर डेंगी संक्रमितको संख्या १७ हजार ६०२ थियो। एक सातामा संक्रमितको संख्या ह्वात्तै बढेपछि अस्पतालहरूमा बिरामीको भिड बढेको छ।
काठमाडौं बाहिर विभिन्न जिल्लाका अस्पतालहरूमा बेड नपुगेर बिरामीलाई भुइँमै राखेर उपचार गरिएको समाचारहरू पनि यसबीचमा आएका थिए।
सातामा दुई हजार डेंगी संक्रमित बढ्नुले आगामी दिनमा यसले अझै भयावह रूप लिने संकेत गरेको हो कि भन्ने आकलन गर्न थालिएको छ। यसबारेमा हामीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख गोकर्ण दाहाललाई सोधेका छौं।
एक सातामा डेंगीको संक्रमण ह्वात्तै बढ्नु त्यसअघि लगातार भएको वर्षा कारक रहेको उनी बताउँछन्।
असोजको दोस्रो हप्तादेखि देशभर लगातार चार दिनसम्म भएको वर्षापछि लामखुट्टे हुर्कने अनुकूल वातावरण बनेको र यसले संक्रमण बढाउन भूमिका खेलेको दाहालको भनाइ छ।
लगातारको वर्षापछि संक्रमण दर ह्वात्तै बढेर अझै भयावह अवस्था आउने हो कि भन्ने चिन्ता रहेकोमा तुलनात्मक रूपमा त्यस्तो नदेखिएको दाहाल बताउँछन्।
'संक्रमण दर ह्वात्तै बढ्ने हो कि भन्ने डर थियो। तर पानी परेको १५ दिनसम्म त्यस्तो भयानक अवस्था देखिएन,' उनले भने।
शाखा प्रमुख दाहालले यसपालि अहिलेसम्मको संक्रमितको संख्या गत वर्षको तुलनामा कम नै रहेको पनि बताए।
'गत वर्ष सेप्टेम्बरसम्ममा १४ हजार डेंगीका केस थिए। यस वर्षको सेप्टेम्बरसम्म साढे ८ हजार जना संक्रमित भएका थिए। गत वर्ष सेप्टेम्बरबाट संक्रमित घटेर अक्टोबरमा १३ हजार पुगेको थियो। यसपालि अक्टोबरमा १९ हजार पुगेको छ,' उनले भने, 'लगभग ६ हजार केस बढी देखिए पनि समग्रमा यस वर्ष केस घटेको छ।'
शाखा प्रमुख दाहालले अबको एकदुई सातापछि यो क्रमश घट्दै जाने अनुमान रहेको बताए।
'पानी पर्ने सिजनमा बढ्ने हिउँद सुरू हुँदा डेंगीको संक्रमणदर पनि विस्तारै घट्दै जान्छ। अब बढ्ने सम्भावना रहँदैन। क्रमशः घट्ने हो,' उनले भने।
डेंगीको समस्या बर्सेनि भोग्दै आए पनि न्यूनीकरणका लागि ठोस कदम चाल्न नसकिएको उनी बताउँछन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक यदुचन्द्र घिमिरे पनि वर्षातको सिजनमा डेंगी संक्रमणदर बढ्नु नौलो नरहेको बताउँछन्।
'डेंगी सिजन भएकाले बढिरहन्छ, यो नौलो घटना भने होइन,' उनले भने, 'अहिले कुनै कुनै अस्पतालमा लोड बढी भएको मात्र हो। अब यो बिस्तारै घट्दै जान्छ।'
चार जिल्ला बढी प्रभावित
महाशाखाका अनुसार देशैभरि ७६ वटै जिल्लामा डेंगी फैलिएको छ। तीमध्ये १० जिल्ला बढी प्रभावित छ भने १० जिल्लामध्ये पनि चार जिल्लामा बढी संक्रमित भएका छन्।
काठमाडौंमा यो वर्ष ३ हजार १०३, कास्की, २ हजार ८४७, तनहुँमा २ हजार १०७, पर्वतमा १ हजार ५६२ संक्रमित छन्। त्यो सँगै चितवनमा ९७१, ललितपुरमा ८२७, गोर्खामा ६८८, बाग्लुङमा ६१०, भक्तपुरमा ३५५ र स्याङजामा ३३५ जना संक्रमित देखिएका छन्।
संक्रमित संख्याको आधारमा काठमाडौं, कास्की, तनहुँ र पर्वत अझै प्रभावित रहेको देखिन्छ।
असोजे झरीपछि यी जिल्लामा संक्रमितको संख्या अझै बढेको तथ्यांकले देखाउँछ।
झरीअघि काठमाडौंमा २ हजार ५६७, कास्कीमा २ हजार ७०९, तनहुँमा एक हजार ९५४ र पर्वतमा एक हजार ४२१ जनामा संक्रमण देखिएको थियो। त्यसबाहेक चितवनमा ९०७, ललितपुरमा ६४६, गोर्खामा ६२० र बागलुङमा ५८९ जनामा संक्रमण देखिएको महाशाखाको तथ्यांक छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले अस्पताल आउनेमध्ये आधा बिरामीमा डंगी संक्रमण भेटिने गरेको बताए।
मंगलबार पनि सय जनाभन्दा बढी बिरामी टेकुमा परीक्षणका लागि आउँदा आधाभन्दा बढीमा डेंगी संक्रमण भेटिएको थियो। उनी अहिलेको डेंगीलाई 'वाकिङ डेंगी' भन्छन्।
'अहिलेका धेरंजसो व्यक्तिहरू आउँदै परीक्षण गर्दै आफ्ना कामहरू गरिरहेका छन्। यसलाई मैले वाकिङ डेंगीको नाम दिएको छु,' उनले भने, 'आउँछन्, परिक्षण गर्छन् र काममा फर्किएका छन्। अस्पतालमै भर्ना गरेको बस्नुपर्ने अवस्था कमै भेटिएको छ।'
उनका अनुसार नेपालका लागि डेंगीको सबैभन्दा घातक वर्ष भनेर २०२२ हो। त्यतिबेला डेंगीबाट ८० जनाको मृत्यु भएको तथ्यांक छ। तथ्यांकमा समेट्न नसकेकाहरू पनि हुनसक्ने डा. पुन बताउँछन्।
अहिले डेंगीलाई सामान्य रूपमा लिन थालिएको पनि डा. पुन बताउँछन्।
मानिसहरूले सावधानी पनि अपनाउन थालेका छन्। यसबारे हुने जोखिमलाई आम मानिसले बुझ्दै गए र साबधानी अपनाए मृत्युदर बिस्तारै घट्दै जाने उनी बताउँछन्।
'संक्रमण धेरै फैलिए पनि मृत्युदर घट्दै गइरहेको छ, अब यसलाई शून्य मृत्युदरमा लैजानेगरी अगाडि बढ्नुपर्छ,' उनले भने, 'केही अस्पतालहरूमा उपचारका लागि बेड पनि नपाएका समाचार आएका छन्। तर उपत्यकामा त्यस्तो अभाव छैन। अन्य जिल्लामा पनि हुनुहुँदैन। समयमा सरकारको ध्यान जाओस्।'
डेंगी सधैं देखापर्ने भएकाले यसका सम्भावित जिल्लामा पहिला नै पूर्वतयारी हुनुपर्ने उनी बताउँछन् ।
'यो एक्कासि आएको कोभिडजस्तो होइन । वार्षिक रूपमा देखिनै आएको रोग हो। त्यसैले भौतिक पूर्वाधार अभाव भएका जिल्लाहरूमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ,' उनले भने।
डेंगी के हो?
डा. पुनका अनुसार डेंगी एक भाइरस हो। यसका डेंगी-१, २, ३ र ४ गरी चार वटा सेरोटाइपहरू हुन्छन्। एउटा सेरोटाइपले संक्रमण गरे संक्रमितको शरीरमा त्यो सेरोटाइपविरूद्ध एन्टिबडी बन्ने गर्छ तर त्यसले अर्को सेरोटाइपहरूबाट प्रतिरक्षा भने गर्दैन। तसर्थ एक व्यक्ति चार पटकसम्म संक्रमित हुनसक्छन्। चारै सेरोटाइपहरू नेपालमा प्रमाणित भैसकेका छन्।
छिटो संक्रमण सर्ने भए पनि समयमा पहिचान र उपचार पाए डेंगीको मृत्युदर एक प्रतिशतभन्दा कममा झार्न सकिने डा. पुन बताउँछन्।
कसरी सर्छ?
डेंगी मुख्यत: इजिपटाई र एल्बोपिक्ट्स जातका एडिस लामखुट्टेले डेंगी भाइरस सार्ने डा. पुन बताउँछन्। उनका अनुसार काठमाडौं लगायत नेपालका विभिन्न भागहरूमा यी लामखुट्टेहरू प्रशस्त पाइन्छ। संक्रमित मानिसको शरीरमा टोक्दा लामखुट्टे आफू संक्रमित हुने र त्यो लामखुट्टेले केही दिनको अन्तरालमा व्यक्तिलाई टोक्दा भाइरस सर्ने उनी बताउँछन्।
लक्षण के-के हुन्?
सामान्यतय संक्रमण भएको ४ देखि १० दिनसम्ममा लक्षण देखापर्ने डा. पुनले बताए। लक्षणहरू सामान्यदेखि जटिलसम्म हुन सक्छन्। उनका अनुसार १०४ डिग्री ज्वरोका साथसाथै निम्न दुई वा दुईभन्दा बढी लक्षणहरू देखिए डेंगी शंका गर्न सकिन्छ।
१) अत्यधिक टाउको दुख्नु।
२) आँखाको पछाडिको भाग दुख्नु वा आँखाको गेडी दुख्नु।
३) जोर्नी वा मांशपेशी दुख्नु।
४) शरीरमा स-साना राता बिबिरा देखिनु।
५) वाकवाक लाग्नु।
६) बान्ता हुनु।
डा. पुनले बिरामीले यो अवस्थामा पनि उपचार नपाए जटिल अवस्थामा गई मृत्यु समेत हुनसक्ने बताए। यद्यपि लक्षणहरूको आधारमा मात्र डेंगी भाइरस निश्चित गर्न सकिँदैन। कोभिड-१९ लगायत अरू मौसमी संक्रामक रोगहरूका केही लक्षण डेंगीसँग पनि मिल्दोजुल्दो हुने हुँदा प्रयोगशाला परीक्षण जरूरी हुने उनले बताए।