सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा दही छ्याप्ने जात्रा सम्पन्न भएको छ।
दसैँको उत्तरार्द्धमा खड्ग जात्रा सँगै त्रिपुरासुन्दरी माइलाई दही चढाएपछि आपसमा दही छ्यापेर भव्यताका साथ जात्रा सम्पन्न भएको हो।
तेह्रौं शताब्दीको मल्लकालदेखि सुरु भएको उक्त जात्रा यहाँबाहेक अन्त कतै नभएको र तौथलीको त्रिपुरासुन्दरी माईको मन्दिरमा प्रत्येक वर्ष लाग्दै आएको स्थानीय विष्णुकुमार श्रेष्ठले बताए।
‘ललिता त्रिपुरासुन्दरी महादेवी’को मन्दिरमा जात्रा पुग्दा सबैतिर दही नै दहीले सेताम्मे भइसकेको देखिन्थ्यो।
‘महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी)ले महिषासुरको वध गरेको खुसीयालीमा मल्लकालदेखि हालसम्म यहाँ दही जात्रा हुँदै आएको छ,' श्रेष्ठले भने।
गुठियार, स्थानीयले भैसी ले सधै दुध दिइरहोस् र पशुपालन ,व्यवसाय सप्रिँदै जाने कामनामा यसरी दही ल्याएर चढाउने गरिएको उनी बताउँछन्।
‘खासमा दही प्रसादको रुपमा बाँडिएको हो, सबैलाई दिएर साध्य नहुने भएपछि चारैतिर छ्यापाछ्याप गरिन्छ,’ उनले भने।
हनुमान ढोका दिगु तलेजुका सात छोरीमध्ये कान्छी छोरी मानिने त्रिपुरासुन्दरी देवीको रोचक जात्रा ,पूजा र बली बडादसैको फूलपातीबाट नै सुरु हुने गर्छ।
विजयदशमीको फूलापतीको दिन मन्दिरकै मान्यताअनुसार त्रिपुराकै धुस्कुनका पहरी समुदायले तीनवटा माछा चढाउँछन् । महाअष्टमीको दिन कालो रंगको बोकाको मात्रै बली दिइन्छ । दशमीको रात यहाँ वर्षमा एकपटक मात्रै देखिने दुर्लभ भैरव, कुमारी,चण्डी, स्याल कहनजस्ता नृत्य देखाइन्छ।
तस्बिरहरूः
सबै तस्बिरहरूः दिपेन श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी