पशुपतिको गौशाला/धर्मशालाका संरचना हटाउन काठमाडौं महानगरपालिकाको दुइटा डोजर पुगेको छ।
बुधबार पशुपतिको गौशाला/धर्मशाला खाली गरी बोर्ड राखेर त्यहाँ रहेका टहराहरू हटाउन पुगेको महानगरको दुइटा डोजर प्रहरीले नियन्त्रणमा लिएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए।
उनका अनुसार अहिले उक्त डोजर प्रहरी वृत्त गौशालामा राखिएको छ।
'गौशाला/धर्मशाला खाली गरेपछि त्यही परिसरभित्र केही नक्सा पास नभएका टहराहरू पनि छन्,' उनले भने, 'सोही टहराहरू भत्काउन डोजर लिएर गएका थियौं।'
यस्तै, काठमाडौं महानगरद्वारा सञ्चालित गौशाला/धर्मशाला भन्ने साइन बोर्ड मात्रै राखेर फर्किएको उनले बताए।
तर जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने कुनै पनि डोजर नियन्त्रणमा नलिएको दाबी गरे।
'हामीले काठमाडौं महानगरपालिकाको कुनै पनि डोजर नियन्त्रणमा लिएका छैनौं,' उनले भने।