तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दुजमान भण्डारी (बर्षात)ले बिहीबार बिहान यातायात व्यवस्था कार्यालय तुलसीपुरको पूर्वपट्टीको पर्खालमा डोजर चलाइदिएका छन् ।
वडाध्यक्ष भण्डारीले पर्खालको चुच्चो र बांगोटिंगो भागले दुर्घटनाको जोखिम बढाएका कारण भत्काउनु परेको बताए ।
नमिलेको सडक भत्काएर पर्खाल भन्डै एक मिटर पर सारिने वडाध्यक्ष भण्डारीले जानकारी दिए। साबिक सीप बिकास कार्यालयले उपभोग गर्दै आएको उक्त जग्गामा लगाइएको पर्खाल ब्यक्तिको जग्गामा पनि पर्ने हुँदा भत्काउनु परेको भण्डारीले बताए ।
तीन जनाले सीप विकासले आफूहरूको जग्गा मिचेको उजुरी वडा कार्यालयमा पुगेको उनले बताए।
‘आज हामीले भत्काएको ठाउँमा साढे दुई मिटर जग्गा व्यक्तिको मिचिएको छ, उनले भने ‘ अर्कोपट्टी अझै तीन मिटर असी सेन्टिमिटर जग्गा मिचिएको छ। हामी त्यो पनि भत्काउँछौं ।'
अझैं चार मिटर पर्खाल भत्काउन जरुरी रहेको वडाध्यक्ष भण्डारीले बताए ।
तुलसीपुर – ६ को गौरवको सडक आयोजना अन्तर्गत तुलसीपुरको तरकारी मण्डीदेखि गाइडहर हुँदै बनकट्टा जोड्ने (मदन आश्रित) सडक निर्माणको क्रममा छ।
नक्सा अनुसार ८ मिटर चौडाइको सडक निर्माण गर्नपनि पर्खाल भत्काउनु परेको उनले बताए । त्यसका लागि विभिन्न व्यक्तिका ८० मिटर पर्खाल भत्काउनुपर्ने अवस्था रहेको वडाध्यक्ष भण्डारीले जानकारी दिए।
यसअघि साउन २९ गते स्थानीय इलिजा वली डाँगी र जागेश्वर डाँगीको घरको पर्खालमा डोजर चलाएपछि वडाध्यक्ष भण्डारीको चर्क बिरोध भएको थियो।
इलिजा अदालत पुगेपछि उच्च अदालत तुलसीपुरले सोही दिन स्टे अर्डर जारी गरी तत्काल डाँगी दम्पतीको घरको संरचना नभत्काउन आदेश गरेको थियो। अहिले पनि त्यो मुद्दा विचाराधीन नै छ । डाँगी परिवारको पर्खाल भत्काएपछि आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै वडाध्यक्ष भण्डारीले सुरक्षासमेत माग गरेका थिए ।
विहीबार यातायात व्यवस्था कार्यालयको पर्खाल भत्काउने विषयमा कार्यालय प्रमुख विनोद पौडेलसँग कुराकानी भएको वडाध्यक्ष भण्डारीले बताए।
बिहान वडा कार्यालयले पर्खाल भत्काइ दिएपछि कार्यालय प्रमुख पौडेलले पर्खाल भत्काएपछि निर्माण पनि तत्काल सुरू गरिहाल्न भनेको वडाध्यक्ष भण्डारीले बताए। भत्काइएको पर्खाल वडा कार्यालयकै खर्चमा बनाइदिने उनले बताए।
औषधी उपचारका लागि बाँकेको नेपालगञ्जमा रहेको बताएका कार्यालय प्रमुख पौडेलले भने वडाध्यक्षसँग कुरा भएपनि पर्खाल भत्काउने बारे कुनै कुरा नभएको बताए ।
‘मलाइ त बिहान कार्यालयका साथीले फोन गरेपछि मात्रै पर्खाल भत्काइएको बारे थाहा पाएको हुँ, पौडेलले भने ‘ त्यसपछि मैले तत्कालै वडाध्यक्षलाई फोन गरि भत्काएको सम्पूर्ण जिम्मेवारी आँफैले लिन र तत्काल पर्खाल निर्माण गरिदिन आग्रह गरेको हुँ।
अरूको जग्गा च्यापिएको रहेछ भनेर नापी कार्यालय नगई पर्खाल भत्काउनु सही नभएको उनले बताए।
तुलसीपुर – ६ स्थित साविक सीप बिकास कार्यालयको भवनमा हाल यातायात व्यवस्था कार्यालय बस्दै आएको छ । स्थानीयबासी समेत रहेका नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री छँदा भाडामा बस्दै आएको यातायात कार्यालय तुलसीपुर घोराही रोडवाट केही दक्षिण सीप बिकास कार्यालयमा स्थान्तरण गरिएको थियो।
तत्कालीन मुख्यमन्त्री चौधरीले मन्त्री परिषद बैठकबाट निर्णय गराइ पहिलोको भाडाको साँघुरो ठाउँबाट फराकिलो र खुल्ला ठाउँमा यातायात ब्यबस्था कार्यालयलाई भवनसहितको जग्गा उपलब्ध गराउने निर्णय गरेका थिए।
यो पनि:
आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै वडाध्यक्ष भण्डारीले मागे सुरक्षा