गोरखकाली रबर उद्योग १० वर्षदेखि बन्द छ।
करिब १० अर्ब बराबरको राज्यको सम्पत्ति र सयौं रोपनी क्षेत्रफलमा फैलिएको रबर उद्योग अहिले झाडी र घारीले घेरिएको छ।
उद्योगका मेसिनहरूमा खिया लागेको छ।
गोरखा नगरपालिका-१३ मझुवामा रहेको रबर उद्योग अहिले सुनसान देखिन्छ। उद्योगको सुरक्षाका लागि केही सुरक्षागार्ड राखिएको छ।
गोरखकाली रबर उद्योग २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर २०४२ सालमा तत्कालीन राजा वीरेन्द्रले शिलान्यास गरेका थिए।
नेपालको एकमात्र रबर उद्योगको रुपमा स्थापित यस उद्योगले वि.सं २०५० को दशकदेखि व्यवसायिक रुपमा उत्पादन थालेको
सरकारी र निजी साझेदारीमा सञ्चालित गोरखकाली रबर उद्योगले प्रतिवर्ष हेभी र लाइट गरेर विभिन्न प्रकारका १ लाख २० हजार टायर उत्पादन गर्ने लक्ष्य राखेको थियो ।
उद्योग सञ्चालनको क्रममा विभिन्न प्रकारका ८८ हजार टायर प्रतिवर्ष उत्पादन गरिरहेको थियो ।
ट्रकका लागि १२ प्रकारका, जीप र भ्यानका लागि ५ प्रकारका र साना कारका लागि ६ प्रकारका टायर यस उद्योगले उत्पादन गर्ने गर्दथ्यो ।
करिब ६७० रोपनी क्षेत्रफलमा रहेको यस उद्योगमा सरकार, सर्वसाधारण, एसियाली विकास बैंक, नेपाल आयल निगम, हिमाल सिमेन्ट, नेपाल साल्ट ट्रेडिङलगायत संघसंस्थाहरुको साझेदारी रहेको देखिन्छ ।
उद्योग सञ्चालनको सुरुकै चरणमा करिब ४०० जनाले विभिन्न क्षेत्रमा प्रत्यक्ष रोजगारी पाएका थिए ।
नेपालमा उत्पादित टायरहरु भारत, बङ्गलादेश, श्रीलङ्कालगायतका दक्षिण एसियाली मुलुकहरुमा निर्यात हुन्थ्यो ।
नेपालको काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, वीरगञ्ज, जनकपुरलगायतका ठूला ३० वटा शहरमा आफ्नो डिपो राखेर राम्रो बजार व्यवस्थापनसहित सफलता हासिल गरिरहेको यस गोरखकाली रबर उद्योग गोरखाबासीको मात्रै नभएर नेपालकै एउटा प्रतिष्ठा थियो।
अहिले जीर्ण रहेको उद्योगभित्रका ठूला ठूला मेसिनहरू माकुराका घर भएका छन्।
तस्बिरहरूः
सबै तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।