तुलसीपुरका एक युवक कुवा भित्र मृत फेला परेका छन्।
तुलसीपुर उपमहानगरपालिका-२ कुमलगडीका २९ वर्षीय रजमान चौधरी आफ्नै घरको कुवामा मृत अवस्थामा फेला परेका हुन्। उनी असोज ३० गतेदेखि बेपत्ता थिए।
असोज ३० गतेदेखि बेपत्ता रजमानको खोजी घर परिवारले बाहिर-बाहिर गर्दै आएका थिए।
आइतबार बिहान पौने ७ बजेतिर कुवाबाट पानी तान्ने क्रममा मृतककी भाउजु आँसी चौधरीले कुवा भित्र मानिस डुबेको देखेकी थिइन्। त्यसपछि घर परिवारले प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका निरीक्षक प्रकाश थापाका कमाण्डमा विपद व्यवस्थापन कार्यादल सहितको टोली गएर शव निकालेका थिए।
शव तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पोष्टमर्टमका लागि ल्याइएको छ।
रजमान आफै कुवामा हामफालेको हुनसक्ने आशंका प्रहरीको छ। रजमान मदिराका अम्मली रहेको बयान घर परिवारले गरेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।