नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोले बालिका तथा किशोरीलाई यौन व्यवसायमा लगाएको आरोपमा एक जना महिलालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।
ब्युरोले नुवाकोट घर भई कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ बस्ने ४३ वर्षीया सीता गोतामेलाई बालिका तथा किशोरीलाई यौन कार्यमा संलग्न गराएको आरोपमा पक्राउ गरी सार्वजनिक गरेको हो।
उनले ४ जना बालिका तथा किशोरीलाई आफ्नै घरमा बन्धक बनाएर जबरजस्ती यौन व्यवसायमा लगाएको आरोपमा शुक्रबार ब्युरोको टोलीले पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए।
‘४ जना बालिका तथा किशोरीलाई उद्धार गर्दै सीतालाई उनको घरबाटै पक्राउ गरेका हौं,’ उनले भने।
उनका अनुसार प्रहरीले विगत एक/डेढ वर्षदेखि होटल तथा रेष्टुरेन्टमा काम गर्ने बालिका तथा किशोरीहरूलाई उद्धार गर्दै आएको छ। प्रहरी अनुसन्धानमा होटलको काम गर्ने भनेर यौन व्यवसायमा लगाउने गरेको पछिल्ला घटनाहरूमा खुल्दै आएको छ।
त्यही क्रममा २०/२५ दिनअघि सीताले आफ्नै घरमा बालिका तथा किशोरीलाई बन्धक बनाएर यौन व्यवसायमा लगाउने गरेको सूचना प्राप्त भएको थियो। त्यही सूचनालाई पछ्याउँदै प्रहरीले उनको घरमा २० दिनसम्म निगरानी गर्यो।
‘उनको घरमा मानिसहरूको चहलपहल दिनहुँ बढ्दै गइरहेको देखिन्थ्यो। आवतजावत बाक्लो देखेपछि प्रहरीले शुक्रबार सीताको घरमा प्रवेश गरेका हौं,’ एसपी मिश्रले भने, ‘त्यहाँबाट बालिका तथा किशोरीलाई उद्धार गर्दै उनलाई नियन्त्रणमा लिएका हौं।’
उनले थपे, ‘यसअघि होटल, रेष्टुरेन्टमा यस्ता गतिविधि भए पनि घरमै यौन व्यवसाय सञ्चालन गरेको घटना थाहा थिएन, यो पहिलो घटना हो।’
ब्युरोले लामो समयदेखि बालिका तथा किशोरीलाई यौन व्यवसायमा लगाउने होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई नियन्त्रणमा लिने र कारबाही गर्दै आइरहेको छ। सीताले आफ्नै घरमा यौन व्यवसाय गरिरहेको कुराले प्रहरीलाई नै चकित बनाएको उनको भनाइ छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले आर्थिक अवस्था कमजोर भएका बालबालिका तथा महिलाहरू रोजगारीको प्रलोभनमा पारेर घरमा ल्याउने खुलेको छ।
खानेबस्ने सुविधासहित मासिक २० हजार रूपैयाँ दिने भनेर उनले भाडा माझ्ने र सरसफाइको काम भनेर बालिका तथा किशोरीलाई घरमा राख्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। उनीहरूलाई दुई/चार दिन घरको काम सिकाउने र विस्तारै यौन व्यवसायमा लगाउने गरेको एसपी मिश्रले जानकारी दिए।
‘सुरूमा घरको काममा लगाउने र पछि बिस्तारै यौन व्यवसायमा लगाउने गरेको पाइएको छ,’ उनले भने, ‘उनीहरूले नमानेमा बन्धक बनाएर पनि यौन व्यवसायमा लगाउने गरेको अनुसन्धानमा खुलेको छ।’
उद्धार गरिएको बालिका तथा किशोरीले बताए अनुसार प्रतिव्यक्ति एक देखि ३ हजारसम्म लिएर जबरजस्ती शारीरिक सम्बन्ध राख्न लगाउने गरेकी थिइन्।
उनले एक जनालाई दैनिक ३/४ जनासँग जबरजस्ती शारीरिक सम्बन्ध राख्न बाध्य बनाउने गरेको उनीहरूले प्रहरीलाई बताएको एसपी मिश्रले जानकारी दिए।
‘उनले ग्राहकहरूलाई घरमै बोलाउने गरेको पाइएको छ,’ एसपी मिश्रले भने, ‘फरक/फरक पुरूषहरूको बाक्लो उपस्थितिले नै त्यहाँ यौन व्यवसाय भएको अनुमान लगाएको थियो।’
उनले बालिका तथा किशोरीलाई यौन व्यवसायमा लगाउने काम दुई/तीन वर्षदेखि गर्दै आएको बताएकी छन्। त्यसका लागि उनी एक्लैले ग्राहक खोज्नेदेखि लिएर बालिका तथा किशोरीलाई ल्याउने काम गरेको प्रहरीलाई बताएकी छन्।
उनी एक्लैले यो काम गरिरहेकी हुन् कि होइनन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ। त्यसका लागि जिल्ला अदालत काठमाडौंबाट आइतबार ६ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको एसपी मिश्रले जानकारी दिए।