सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई बयानका लागि बुटवल ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले जोशीलाई सोमबार दिउँसो रुपन्देही ल्याएर ईलाका प्रहरी कार्यालय बुटवलमा बुझाइएको जानकारी दिइन्।
जोशीसँग मंगलबारदेखि बयान लिइने उनले बताइन्।
खनालका अनुसार जोशीलाई पोखराबाट जहाजमार्फत रुपन्देही ल्याइएको र बयानपछि पोखरा नै पठाइने छ।
पोखराको सूर्यदर्शन सहकारीसँगै बुटवलको सुप्रिम सहकारीबाट पनि करोडौं रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगिएकोबारे अहिले अनुसन्धान भइरहेको छ।
गोर्खा मिडिया नेटवर्क प्रालिका साझेदार रहेका जोशी संसदीय छानविन समितिले गरेको कारबाही सिफारिसपछि गत असोज ६ गते पक्राउ परेका थिए।
काठमाडौंबाट पक्राउ परेका जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन साझेदार र एमडी रवि लामिछानेलाई पनि प्रहरीले गत शुक्रबार पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेको छ।