ठूली माया तामाङ काठमाडौंको कुलेश्वरमा आफ्नो परिवारसँग बस्दै आएकी छन्। उनी घर सरसफाइको काम गर्थिन् भने श्रीमान प्रेम तामाङ गाडी चालक हुन्।
प्रेमले करिब एक वर्षअघि उनलाई दुई लाख ३० हजार रुपैयाँमा दुई तोला सुनको बेरूवा रिङ किनिदिएका थिए।
भदौ १८ गते अन्दाजी सवा ३ बजेतिर ठूलीमाया आफ्नो कामबाट डेरा जाँदै थिइन्। काठमाडौं महानगरपालिका-१४ गणेशस्थानमा पुगेपछि सडकमा तीन जना युवक उभिरहेका थिए।
तीमध्ये एक जनाले ठूलीमायालाई देखेर कुरा गर्न अघि बढे।
ती युवकले ठूलीमायालाई विदेशी पैसा साट्नुपर्ने भन्दै बैंकको बाटो सोधेका थिए। त्यसैबीच अर्का युवक पनि कुराकानी गर्न अघि बढे।
‘हामीहरू मत्वाली हौं, एक अर्कालाई परेको बेला सहयोग गर्नुपर्छ भनी चिनजान गरी कुराकानी गर्न थालेको र सोही बेला अर्का एक जना व्यक्ति समेत उक्त दुई जना कुराकानी गरी बसेतर्फ आए,’ ठूलीमायाले प्रहरी वृत्त कालिमाटीमा दिएको जाहेरीमा उल्लेख गरेकी छन्।
अर्का व्यक्तिले ठूलीमायालाई विदेशी मुद्रा देखाएका थिए।
झोलामा रूमालले बेरेर राखेको बण्डल देखाएर ठूलीमायालाई उनीहरूले भने, ‘यस्ता पैसा हामीसँग धेरै छ। बैंकमा गएर साट्नुपर्छ। लगानी गर्नू’
त्यसैबीच अर्का एक जना व्यक्ति आएपछि भने आफूलाई अनौठो गन्ध आएको ठूलीमायाले प्रहरीसँग भनेकी छन्। उक्त गन्धले आफू लठ्ठिएको ठूलीमायाको बयानमा उल्लेख छ।
‘विदेशी मुद्रा साट्नुभन्दा अगाडि नेपाली नगद दिनुपर्छ। अहिलेलाई तपाईंको कानमा भएको सुनको बेरूवा खोलेर दिनु। पैसा साटेपछि तपाईंलाई फाइदासहित फिर्ता दिन्छौं,’ ती तीन युवकले ठूलीमायालाई भनेका थिए।
यसरी कुरैकुराबीच ठूलीमायाले आफू अर्धबेहोस भएको र कानमा लगाएको दुई तोला बराबरको सुनको बेरा एक जोर खोलेर उनीहरूलाई दिएको प्रहरीसमक्ष बताएकी छन्।
करिब आधा घण्टापछि भने आफू होसमा आएको र सुन लिने व्यक्तिहरू त्यहाँ नभएको उनले चाल पाइन्। त्यसपछि आफू ठगिएको चाल पाएर आफ्ना श्रीमानलाई फोन गरी प्रहरी वृत्त कालिमाटीमा उनी जाहेरी दिन पुगेकी थिइन्।
प्रहरी वृत्त कालिमाटीका एक प्रहरी अधिकारीका अनुसार उनीहरूले बेहोस बनाएका भने थिएनन्। तर कुरैकुरामा भुलाएर ठगेर सुन लगेको अनुसन्धानबाट देखिएको छ।
‘उनीहरूले कसैलाई बेहोस नै बनाउने होइन। तर यसरी ठगी गरिने घटनामा कुरैकुरामा भुलाएर ठगेर जाने हुन्,’ ती अधिकारीले भने।
प्रहरीका अनुसार अनुसन्धानको क्रममा सिसिटिभी फुटेजमा बागमती प्रदेश-०२-०४९ प ७७६५ नम्बरको मोटरसाइकल चढेर भागेको देखिएको छ। यसमा संलग्नमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुली घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-११ कपन बस्ने फणिन्द्र भन्ने फडिन्द्र तामाङ छन्।
सिन्धुलीकै ३८ वर्षीय धनबहादुर भन्ने दानबहादुर तामाङ र ३६ वर्षीय निरज भन्ने निरबहादुर तामाङ फरार छन्।
प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।
यस्तै पक्राउ परेका फणिन्द्रले पनि घटनाबारे आफूलाई थाहा नभएको बताएका छन्। उनले आफ्ना दाइहरूले आफ्नो मोटरसाइकलको दुरूपयोग गरेको बयान दिएका छन्।
ठगीमा आफ्नो प्रत्यक्ष रूपमा संलग्नता नभएको उनले बताएका छन्। यद्यपि उनले निरोज लामाको फेसबुक आइडीसँग भएको कुराकानी पनि प्रहरीले देखाएर सोधपुछ गरेको थियो। उक्त आइडी निरबहादुको हो। त्यसमा दुई तोला सुनको जिकिर गरिएको छ भने कुराकानीकै क्रममा ‘बी केयरफुल’ समेत भनेका छन्।
फणिन्द्रविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। प्रहरी वृत्त कालिमाटीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा केही दिन अघि मुद्दा प्रतिवेदन बुझाएपछि अदालतमा मुद्दा दर्ता गरेको हो।