कोशी प्रदेश सरकारले गएको असोजमा भएको बाढीपहिरोले ध्वस्त बनाएका संरचनाहरू पुनर्निर्माण गर्न मर्मत तथा पुनर्निर्माण कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने भएको छ।
असोज दोस्रो साताको बाढीपहिरोले कोशीमा सडक र पुलमा मात्रै साढे चार अर्बभन्दा बढीको क्षति गरेको थियो। कोशी प्रदेश सरकार आफैले निर्माण गरेको कोषमा ४० करोड रुपैयाँ जम्मा गरी काम गर्न सुरू गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले जानकारी दिए।
प्रदेश मन्त्रिपरिषदको बुधबारको् बैठकले कटौती गर्न नमिल्ने रकम बाहेक प्रदेश सरकार र वित्तिय समानीकरण अनुदान स्रोतमा चालु खर्च शीर्षकहरूमा विनियोजन भएको रकमबाट १० प्रतिशत पुग्ने गरी सबै मन्त्रालयले बजेट समर्पण गर्ने निर्णय भएको अधिकारीले जानकारी दिए।
कोशी प्रदेश सरकारले यो कोषमा मन्त्रीहरूको १० दिनको तलब जम्मा गर्ने त्यस्तै सांसदहरूलाई सम्बन्धित दलमार्फत् सहयोग गर्न आग्रह गर्ने र कर्मचारी तथा अन्य सरोकारवालाहरूलाई पनि कोषमा सहयोग गर्न आह्वान गर्ने निर्णय भएको मन्त्री अधिकारीले जानकारी दिए।
क्षति भएका संरचनालाई दीर्घकालीन र तत्काल गर्ने काम छुट्याएर पुनर्निर्माण र मर्मतसम्भारको काम अगाडि बढाउने सरकारको तयारी छ।