सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् प्रतिकार्य कुनै एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव नभई सरोकारवाला निकायहरूको सक्रिय सहभागिता तथा सम्बन्धित सबैको योगदान भएमा मात्र सफल प्राप्त हुने बताएका छन्।
बुधबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारस्थित पृथ्वी हाइवे ट्रमा सेन्टरमा नागढुंङ्गा–मुग्लिङ्ग सडक खण्डमा अवस्थित अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी संचालन गरिएको 'बेसिक लाइफ सपोर्ट एण्ड प्राइमरी ट्रमा केयर' तालिम समापन कार्यक्रममा सो कुरा बताएका हुन्।
महानिरीक्षक अर्यालले विपद्को समयमा सशस्त्र प्रहरी बल नेपालले राज्यको उपस्थितिलाई सुनिश्चित गर्दै जनताको भरोसाको केन्द्रमा आफूलाई उभ्याउन सफल भएको बताउँदै विपद् प्रतिकार्य तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूले भूकम्प, बाढी पहिरो, सवारी दुर्घटना लगायतका विपद् जोखिममा परेका हजारौं नागरिकहरूको जीवन रक्षा गरेको समेत उल्लेख गरे।
'पोस्ट क्र्यास रेस्पोज एण्ड केयर' अन्तर्गत पाइलट प्रोजेक्टको रूपमा नागढुंङ्गा नौबिसे मुग्लिङ सडक खण्डमा हुने दुर्घटनाका घाइतेहरूलाई तत्काल उद्धार तथा उपचार सेवा प्रदान गरी जीवन रक्षा गर्ने उद्देश्य अनुरूप नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालय अन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच माघ २५ गते सम्झौता भएको थियो ।
उनले 'पोस्ट क्र्यास रेस्पोज एण्ड केयर' क्षमताको अभिवृद्धि गर्ने उद्देश्यका साथ संचालन भएको 'बेसिक लाइफ सपोर्ट एण्ड प्राइमरी ट्रमा केयर' तालिम सम्पन्न गर्ने स्वास्थ्यकर्मीहरूलाई हार्दिक बधाई दिँदै तालिममा प्राप्त ज्ञानले दुर्घटनामा परेका नागरिकहरूलाई समयमा नै स्वास्थ्य सेवा प्रदान गरी जीवन रक्षा गर्ने कार्यमा सफलता मिल्ने विश्वास व्यक्त गरे।
महानिरीक्षक अर्यालले ठाउँ विशेष हेरी नेपालका सबै स्थानहरूमा भोलिन्टियरहरू उत्पादन गरी आम नागरिकहरूमा जनचेतना फैलाउने उद्देश्यका साथ औपचारिक रूपमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट नै यही भदौ १६ गतेदेखि स्वयमसेवक उद्धारक डिजास्टर रेस्पोन्स तालिमहरू सञ्चालन गरिएको तथा देशका विभिन्न स्थानहरूमा हालसम्म ५ सय ८८ जना भोलिन्टियरहरूलाई तालिम दिइसकेको समेत बताए।