ललितपुर महानगरपालिकाले बाढी प्रभावित छ वटा पालिकालाई साढे तीन करोड रुपैयाँ रकम सहयोग गर्ने भएको छ।
ललितपुर महानगरको बुधबार बसेको कार्यपालिका बैठकले ललितपुर जिल्लाका गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, बागमती गाउँपालिका , महाङ्काल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिकालाई ५०-५० लाख दिने निर्णय गरेको हो।
त्यसैगरी बैठकले दक्षिणकाली नगरपालिकालाई भने एक करोड दिने निर्णय गरेको छ। असोजको दोस्रो साता गएको बाढी पहिरोबाट यी पालिकामा धेरै जनधनको क्षति भएको थियो भने भौतिक पूर्वाधार क्षेत्रमा निकै विनाश भएको थियो।
ललितपुरको दक्षिण भेगमा अवस्थित गोदावरी नगरपालिका , महाङ्काल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिकालाई संघीय सरकारले विपद् संकटग्रस्त पालिका घोषणा गरेको हुँदा सहयोग रकम दिएको महानगरले जनाएको छ।
महानगरका प्रमुख चिरीबाबु महर्जनले अभिभावकत्व ग्रहण गर्दै अप्ठ्यरो परेको बेलामा सहयोग गरेको बताए।
‘यो सहयोगले बिग्रिएका, भत्किएका संरचना पुनर्निर्माण गर्न र जनजीवन सहज बनाउन सहयोग पुग्ने विश्वास लिएका छौं,’ उनले भने।