सशस्त्र प्रहरी बलको नेतृत्वमा पृथ्वी राजमार्गमा 'पोस्ट क्र्यास रेसपोन्स एन्ड केयर सिस्टम' सुरू भएको छ। यो दुर्घटनाको समयमा व्यवस्थित रूपमा गरिने प्रभावकारी उद्धार तथा उपचार प्रणाली हो।
दुर्घटनालगत्तै दिनुपर्ने अति आवश्यक सेवा र उपचारका लागि आवश्यक जनशक्ति तयार पारेर खटाउन प्रणाली बनाएर काम सुरू गरिएको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बताए।
यो कामका लागि राष्ट्रिय सडक सुरक्षा परिषद र सशस्त्र प्रहरी बलबीच गत माघ २५ गते सम्झौता भएको थियो। उक्त सम्झौतामा टेकेर दुर्घटना न्यूनीकरण, प्रभावकारी उद्धार तथा व्यवस्थित उपचार प्रणाली स्थापित गर्न आवश्यक जनशक्ति तयार पारिएको अर्यालले बताए।
यो प्रणाली अन्तर्गत दुर्घटनाको सूचना पाएलगत्तै एउटा समूहले जतिसक्दो छिटो घटनास्थल पुगेर भिड व्यवस्थापन गर्ने, घाइतेको अवस्था हेरी तत्काल दिनुपर्ने प्राथमिक उपचार दिने, एम्बुलेन्स मार्फत यथाशक्य छिटो अस्पताल पुर्याउने, अर्को समूहले दुर्घटनाग्रस्त सवारी साधनलाई सडकबाट पन्छाएर यातायात सञ्चालन गर्ने काम गर्छ।
साथै दुर्घटना न्यूनीकरण गर्न समुदायमा जनचेतनाका कार्यक्रमहरू सञ्चालन, जनचेतनामूलक होडिङ बोर्ड राख्ने, पर्चाहरू वितरण गर्ने काम पनि गरिन्छ।
हाललाई पृथ्वी राजमार्गको नागढुंगा-नौबिसे-मुग्लिन करिडोरमा पाइलट प्रोजेक्टका रूपमा यो प्रणाली सुरू गरिएको हो।
'यसमा स्वास्थ्यकर्मी, प्रहरी, अग्नी नियन्त्रक, मेकानिकसहितको समूह हुन्छ। उद्धार र घाइतेको प्राथमिक उपचारपछि आवश्यकताका आधारमा सम्बन्धित अस्पताल पुर्याउने व्यवस्था मिलाइनेछ,' महानिरीक्षक अर्यालले भने, 'यो प्रणालीले दुर्घटना न्यूनीकरण गर्दै दुर्घटनाको समयमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन र दुर्घटनामा परेकालाई बाँच्ने क्षमता बढाउने गरी आपतकालीन स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने विश्वास छ।'
यसका लागि सशस्त्र प्रहरी वल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सशस्त्र प्रहरी र पृथ्वी राजमार्गमा रहेका अस्पतालका जनशक्तिलाई 'बेसिक लाइफ सपोर्ट एन्ड प्राइमरी ट्रमा केयर' तालिम प्रदान गरिएको छ।
सशस्त्र प्रहरीको नेपाल एपिएफ अस्पताल, राष्ट्रिय सडक सुरक्षा परिषद र धुलिखेल अस्पतालको सहकार्यमा दिइएको तालिममा एपिएफ अस्पताल, कुरिनटारस्थित पृथ्वी राजमार्ग ट्रमा सेन्टर, क्षेत्रीय अस्पतालहरू र पृथ्वी राजमार्गको नागढुंगादेखि मुग्लिनसम्म सञ्चालनमा रहेका सरकारी, सामुदायिक र निजी स्वास्थ्य संस्थाका २६ जनालाई तालिम दिइएको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालले जानकारी दिए।
दुर्घटनापश्चात घाइतेको उद्धार र उपाचारका लागि एकीकृत मेडिकल नेटवर्क बनाइएको उनले बताए।
राष्ट्रिय सडक सुरक्षा बोर्डका सदस्य-सचिव कृष्णराज पन्तका अनुसार नेपालमा बर्सेनि २८ सय बढी सवारी दुर्घटना हुने गरेको छ। दुर्घटनामा औसतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको छ। पन्तले सकेसम्म दुर्घटना हुनै नदिने र भइहालेको अवस्थामा जतिसक्दो छिटो उद्धार र उपचार सेवा दिनु आवश्यक रहेको बताए।
'नेपालको दुर्घटना र मृत्युको आँकडा अरू विकसित देशको तुलनामा असाध्यै बढी हो। दक्षिण एसियामा पनि नेपाल अगाडि देखिन्छ,' उनले भने, 'यसलाई नियन्त्रण गर्न सुरक्षित सडक, यातायात र सुरक्षा व्यवस्थाका साथै व्यवस्थित उद्धार र उपचार प्रणाली आवश्यक छ।'
सशस्त्र प्रहरी वल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारस्थित पृथ्वी राजमार्ग ट्रमा सेन्टरलाई मेडिकल उपकरणले सम्पन्न बनाउन प्रक्रिया अघि बढेको उनले बताए। यो ट्रमा सेन्टरलाई हब अस्पताल र राजमार्गका अन्य अस्पताललाई स्याटलाइट अस्पतालका रूपमा विकास गरी एकीकृत मेडिकल नेटवर्क सञ्चालन गर्न लागिएको उनले बताए।
राष्ट्रिय ट्रमा सेन्टरका संस्थापक कार्यकारी निर्देशक डा. अशोक रत्न बज्रचार्यका अनुसार दुर्घटनापछि दस मिनेटको समयमा उद्धार र उपचार पाउनु सबैभन्दा महत्वपूर्ण हुन्छ। एक घण्टाको अवधिलाई 'गोल्डेन आवर' भनिन्छ। घाइतेले यो अवधिमा उपचार पायो भने निको हुने सम्भावना धेरै हुन्छ। सकेसम्म छिटो उद्धार र उपचारका लागि पोस्ट क्र्यास रेसपोन्स एन्ड केयर सिस्टम आवश्यक रहेको उनले बताए।
पृथ्वी राजमार्गको नागढुंगादेखि मुग्लिनसम्मको सडक ९३ किलोमिटर छ। यो क्षेत्रमा सरकारी स्वास्थ्य संस्था कम छन्।
'अहिले दुर्घटना भएको अवस्थामा घाइतेलाई मनलाग्दी अस्पताल पुर्याउने चलन छ। यसो गर्दा घाइतेको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु हुने गरेको छ। घाइतेको अवस्था हेरेर कुन अस्पताल पठाउने भन्ने निर्णय गर्नुपर्छ। जुन अस्पतालले सेवा दिन सक्छ, त्यहाँ पठाइयो भने निको हुने सम्भावना बढी हुन्छ,' डा. बज्रचार्यले भने, 'एकीकृत निर्देशनालय बनाएर त्यसमार्फत उद्धार, उपचार र यातायात सञ्चालन गर्ने धेरै राम्रो प्रणाली हो।'
पाइलट योजना सफल भए देशका अन्य राजमार्ग र सडकहरूमा पनि लागू गर्नुपर्ने सुझाव बज्रचार्यको छ।
सशस्त्र प्रहरीको एपिएफ अस्पतालका प्रमुख डा. रूपक महर्जनले नेपालमा सवारी दुर्घटना पनि विपदका रूपमा खडा भएको बताए।
'राजमार्गमा पहिरो झर्ने, भासिने समस्याका साथै विभिन्न खालका दुर्घटना हुने गरेका छन्। सम्भावित विपदलाई ध्यानमा राखेर हामीले पूर्वतयारी गर्नुपर्छ। जनशक्तिको क्षमता विकास गर्नुपर्छ,' उनले भने, 'समयमा सही उद्धार र उपचार पाएमा गम्भीर घाइतेलाई बचाउन सकिन्छ। अंगभंग हुनबाट जोगाउन सकिन्छ।'
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्र रमणले कुरिनटारस्थित ट्रमा सेन्टरलाई सुविधा-सम्पन्न बनाएर दुर्घटनाका घाइतेको उपचार सहज बनाउनुपर्ने बताए।
'अहिले सशस्त्र प्रहरी बलको संयोजनमा सिस्टम सुरू भएको छ। सरोकारवाला सबै निकाय मिलेर यो काम प्रभावकारी बनाउनुपर्छ,' उनले भने, 'दुर्घटनापछि उपचारको नेतृत्व पृथ्वी राजमार्ग ट्रमा सेन्टरले लिने गरी स्रोत, साधनले सम्पन्न गराउन आवश्यक छ।'
अहिले २५ शय्याको ट्रमा अस्पतालमा एक जना मेडिकल अफिसर, एक जना एचएसहित १० जना स्वास्थ्यकर्मी छन्। सशस्त्र प्रहरी बलले केन्द्रमा एपिएफ अस्पताल र अन्य विभिन्न स्थानमा क्षेत्रीय अस्पतालमार्फत स्वास्थ्य सेवा दिँदै आएको छ।