काठमाडौं उपत्यकामा अवैध रूपमा भन्सार छली गरेर सुन कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
भारत पश्चिम बंगाल कलकत्ता पश्चिम मेदिनीपुर घर भई काठमाडौं महानगरपालिका-२५ बाङ्गेमुढा बस्ने ३५ वर्षीय प्रशन्जित बेरा र भारत पश्चिम बंगाल मेदनापुर जिल्ला समङ थाना घर भई बाङ्गेमुढा बस्ने ३० वर्षीय आनन्द साहु पक्राउ परेका हुन्।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले आनन्दलाई बुधबार र बेरालाई बिहीबार पक्राउ गरेको हो।
शंकास्पद तवरले हिँड्डुल गरिरहेका आनन्दलाई खानतलासी गर्दा बिल बिजक बिनाको ११६.४५ ग्राम सुन फेला पारेपछि पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।
'काठमाडौं न्यूरोडमा बिल बिजक बिना सुन कारोबार भइरहेको गोप्य सूचना प्राप्त भएको थियो। त्यही क्रममा प्रहरीले त्यहाँ निगरानी बढाउँदा आनन्द पक्राउ परे,' उनले भने, 'उनले ल्याएको सुन प्रशन्जितका लागि भएपछि बिहीबार उनलाई पनि पक्राउ गर्यौं।'
उनीहरूबाट बरामद गरिएको सुनसहित आवश्यक कागजात अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।