'शिक्षकले जन्मदर्ता लिएर आउँ है,' भनेको भोलिपल्ट समीप (नाम परिवर्तन) लाई विद्यालय जान मन लाग्दैन।
एक मनले सोच्छन्, अर्को मनलाई भयले गाँजिहाल्छ– फेरि जन्मदर्ता मागिहाल्छन्। नभएको कुरा कसरी दिनू!
१६ वर्षीय समीप काठमाडौं महानगरपालिका-८ तिलगंगा नजिकै एक सरकारी स्कुलमा पढ्छन्।
उनले त्यहाँ पढ्न थालेको दुई वर्ष हुँदैछ। यसअघि उनी अन्तै पढ्थे। त्यहाँ विद्यालयले आवश्यक कागजात (जन्मदर्ता) मागेपछि उनकी आमाले पहिलाको स्कुलबाट निकालिदिएकी थिइन्।
३३ वर्षीया उनकी आमा सीमा (नाम परिवर्तन) समीपलाई कक्षा-६ सम्म पढाउन धेरै स्कुलहरू फेर्नुपर्यो। उनले यसअघि समीपलाई तीन/चार वटा स्कुल फेरिदिइसकेकी छन्।
स्कुलमा पहिलो वर्ष जसोतसो गरेर पढाउँछन्, कागजात मागिरहँदा स्कुलबाट निकाल्ने गरेको उनी सुनाउँछिन्।
'कतै-कतै एक शैक्षिक सत्र सकिएपछि निकालेँ, कतै आधामै छोड्नुपर्यो,' सीमाले भनिन्, 'त्यही कारण छोरा सरहका मान्छेहरू १०/११ कक्षामा पढ्नेबेला समीप ६ कक्षामा पढ्दैछ।'
उनले थपिन्,-'एकदुई वटा स्कुलमा आफ्ना समस्या राखेँ, उनीहरू कसरी हुन्छ मिलाउनूस् भन्छन्, आफू मिलाउँनै सक्दिनँ,आफूले बनाएर बन्ने भएको भए उहिल्लै बनाइसक्थेँ।'
सीमाले छोराको पढाई नबिग्रियोस भनेर विगत दुई वर्षदेखि जन्मदर्ता बनाइदिन कोसिस गरिरहेकी छन्। जहाँ गए पनि उनको नागरिकता माग्ने भएपछि अहिले आफ्नो नागरिकता बनाउन दौडधुप गरिरहेको छिन्,तर नबनेको उनको दुखेसो छ।
सीमाका बा-आमाको जिन्दगी पशुपति क्षेत्रमा मागेरै बित्यो। बा-आमा आफ्ना जन्मथलो फर्किएर गएनन्। सीमासहित चार सन्तानलाई उनका बा-आमाले पशुपतिमै जन्माए। हुर्काए। जीवनको यस्तै अप्ठ्यारो बाटो देखाए।
सीमा ठूली हुँदै गर्दा पशुपति भष्मेश्वर घाटमा दाउरा ओसार्ने, खोलामा पैसा खोज्नेदेखि पानी बेच्ने काम गरेर हुर्किइन्। उनीसँगै उनका दिदीबहिनी कसैले पनि पढ्ने अवसर पाएनन्। त्यसैले जन्मदर्ता, नागरिकता बनाउनुपर्छ भनेर उनीहरूले कहिले सोचेनन्। उनीहरूलाई यसबारे कसैले कहिले केही भनेनन् पनि।
उमेर बढ्दै गर्दा पशुपतिमा बस्ने एक युवकसँग सीमाले १७ वर्षको उमेरमा प्रेम विवाह गरिन्। र, आमा बनिहालिन्।
उनले एक सन्तानलाई जन्म दिइन्। त्यतिबेलासम्म पनि उनी पशुपति क्षेत्रभित्रको एक टहरामा बस्थिन्।
दिनभर पाटी-पौवामा बस्थिन्। छोरालाई पनि त्यहीँ हुर्काइन्।
उनका श्रीमान् काम गर्ने भनेर विभिन्न ठाउँ जान्थे। तर लामोसमय फर्किएर आउँदैन थिए। उनलाई पनि श्रीमानको घर ठेगनाबारे कहिल्यै थाहा भएन्। नागरिकता छ कि छैन भनेर कहिले सोधिनन् पनि।
'दिनभर काम गर्यो, एक छाक खायो, सुत्यो। त्यसरी नै जिन्दगी चलिरहेको थियो,' उनले भनिन्, 'जब छोरा हुर्कियो। पढाउने रहर जाग्यो, तब समस्या बढ्दै गयो।'
पशुपति मन्दिरमा दर्शन गर्न वा घुम्न मान्छेहरू आइरहन्छन्। ७/८ वर्षअघि छोरालाई साथमा लिएर पानी बेच्ने क्रममा स्कुल पठाउनुपर्ने सल्लाह दिए। पढेमा छोराले जागिर पाउने र भविष्यमा राम्रो मान्छे बन्छ भनेपछि आफूलाई पनि पढाउने रहर जागेको उनले बताइन्।
दुई-चार पैसा जोहो गरेर स्कुल फि तिर्छु अनि भइहाल्छ नि भन्ने उनलाई लागेको थियो। तर उनले सोचेजस्तो भएन्। स्कुलले कागजात माग्यो। त्यसपछि दिनहुँ समस्याहरू थपिँदै गएको उनले बताइन्।
'सुरूमा त बनिहाल्छ होला भन्ने लाग्यो। बा-आमाको नागरिकता पो चाहिने रहेछ। श्रीमान कामका लागि भारत गएकाले दुई/तीन वर्ष त्यसै बित्यो,' उनले भनिन्, 'श्रीमान फर्किएपछि सोधपुछ गर्दा थाहा भयो, उनको जन्मथलो साँखु रहेछ। उनका दाजुहरूले उनको नागरिकता नै बनाइदिएनन्।'
श्रीमानको नागरिकता बनेपछि छोराको जन्मदर्ता बन्ने सपना बुनेर गालीगलौज, कुटाइ खाएर पनि उनीसँगै बसिरहेको तर विगत तीन वर्षदेखि बनाइदिन्छु भनेर झुलाइरहेका उनले दुखेसो पोखिन्।
उनका श्रीमान अहिले उनीसँग बस्दैनन्।
उनले आमाछोरालाई कहिले केही कुरामा सघाएका छैनन्। पारिवारिक जिम्मेवारी र कर्तव्यबाट टाढिएका छन् उनी।
तैपनि छोराको भविष्य उज्यालो बनाउन आमाको भूमिका निर्वाह गर्न कतै नचुकेको उनी बताउँछिन्।
'अब जति स्कुल परिवर्तन गरे पनि हुँदैन रे! जन्मदर्ता नभए कक्षा-८ मा पढ्न पाउँदैन भनेर विद्यालयले भनेको छ,' सीमाले भनिन्, 'मेरोबाट कसैगरी पनि सकिएनँ, बाउले छोराको लागि यति गरिदिए हुन्थ्यो।'
सीमाले आफ्नो वाक्य टुङ्ग्याउन नपाउँदै समीपले भने- 'जन्मदर्ता बनाएर नागरिकता बनाउने ठूलो धोको छ।'
सीमाले कुनै पनि सरकारी कार्यालय र संघसंस्था जान बाँकी राखेकी छैनन्। तर कतैबाट पनि उनको काम बन्न सकेको छैन।
आइतबार आफ्ना समस्या सुनाउन छोरालाई साथमा लिएर सीमा नयाँबानेश्वरमा रहेको साथसाथ संस्थामा आएकी थिइन्।
उक्त संस्थाले पशुपति क्षेत्रमा बसोबास गर्ने आर्थिक अवस्था न्यून भएका बालबालिकाहरूलाई पठनपाठनमा सघाउँदै आएको छ। पछिल्लो समय समीपलाई पढ्न सोही संस्थाले सहयोग गर्दै आएको सीमा बताउँछिन्।
छोरालाई पढाउन मात्र होइन्, नागरिकता नभएर सीमाले पनि धेरै कामहरू गुमाउनुपरेको छ। उनलाई पशुपति क्षेत्र आसपासका घर, विद्यालय, कार्यालयमा काम गर्न बोलाउँछन्। जान्छिन् पनि। विद्यालय र कार्यालयले नागरिकता माग्छन्। छैन भनेपछि काममा नराख्ने गरेको उनले बताइन्।
'कार्यालयहरूमा पहिला नै नागरिकता माग्छन्, छैन भनेपछि सरसफाइको कामसमेत नपाइने रहेछ,' उनले थपिन्, 'सरकारले दिने सेवासुविधा बारे त हामीलाई केही थाहा नै छैन।'
उनलाई नागरिकता भइदिए छोराको भविष्यका लागि दुई/चार पैसा बैंकमा जम्मा गर्थें भन्ने लागिरहन्छ। नागरिकता हुँदा कति धेरै कामहरू सहज हुनेरहेछ भनेर उनी भर्खर बुझ्दैछिन्।
सीमाको आफ्नो र छोराको नागरिकता बनाउने सपना छ।
उनीमात्र होइन्, पशुपति आर्यघाटमा दाउरा बेच्ने, त्यहाँ सफा गरेर हुर्किएकी ३१ वर्षीय माया (नाम परिवर्तन) लाई पनि छोराछोरीको जन्मदर्ता बनाइदिने ठूलो सपना छ।
उनको ११ वर्षीया छोरा, ६ वर्षीया छोरी छन्।
मायाले पनि १७ वर्षकै उमेरमा त्यही पशुपति क्षेत्रमा बस्ने एक युवकसँग प्रेम विवाह गरेकी थिइन्। त्यतिबेला उनका श्रीमान त्यही बस्ने, आर्यघाटमा लास पोल्नेहरूलाई सघाउपघाउ गर्थे।
उनीहरूको पशुपतिमै भेट भयो। त्यो भेट प्रेम हुँदै विवाहमा बदलिन कत्ति बेर पनि लागेन।
विवाहपछि उनीहरू त्यही काम गरेर गुजारा चलाउँथे। उनीहरूको संसार नै पशुपति थियो। त्यतिबेला दम्पती नै दिनभर लागुपदार्थ सेवन गर्ने र माग्ने, भोक लाग्दा काम गर्ने गरेर दिन कट्थ्यो। तर समय सधैँ उस्तै रहेन।
विवाहपछि उनले लगातार दुई सन्तानलाई जन्म दिइन्।
मायाका श्रीमान राम (नाम परिवर्तन) को स्वाभाव उस्तै रहे पनि उनको भने फेरियो। उनी आफ्ना सन्तानलाई हुर्काउने, स्याहार्नेतिर बढी समय बिताउन थालिन्।
राम मदिरा र लागुपदार्थ सेवनमै दिनभर धूत रहन्थे। घर–व्यवहार चलाउन श्रीमतीलाई सहायता दिएनन्। त्यसपछि दुई सन्तानलाई हुर्काउने जिम्मा मायाको काँधमा पर्यो। उनले विस्तारै लागुपदार्थ र मदिरा सेवन गर्न कम गरेर सन्तानको हेरविचारमा ध्यान दिइन्।
पशुपतिमा स-साना काम र मागेर नपुग्नेभएपछि त्यही आसपासका घरमा भाडामाझ्ने, लुगा धुने काम गर्न थालिन्।
सँगसँगै बच्चालाई पनि हुर्काइन्।
उनी जहाँ काम गर्न गए पनि आफ्ना सन्तानलाई साथमा लिएर जान्थिन्। त्यसैले सबैले उनलाई सोध्थे- 'छोराछोरीलाई पढाउन हालेको छैनौं,' उनले भनिन्, 'त्यसपछि छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोच आयो।'
उनले छोराछोरीलाई पढाउन भनेर पशुपति क्षेत्र नजिककै सरकारी स्कुलमा गइन्। उनलाई त्यहाँ सुरूआती दिनमा कसैले केही भनेनन्। नाम टिपाएर आइन्। दुई/चार हप्तापछि भर्ना शुल्क भनेर थोरै रकम तिरिन्।
वर्षको आधासम्म उनलाई कुनै समस्या परेन।
वर्षको अन्तिमतिर स्कुलले अभिभावकहरूलाई बोलाउने क्रममा उनी पनि गइन्। त्यहाँ उनीसँग आवश्यक कागजात मागियो। आफूसँग केही नभएको बताएपछि शैक्षिक सत्रको अन्तसम्म बनाएर ल्याउन भनेको उनी बताउँछिन्।
उनले वर्षको अन्तसम्म जन्मदर्ता उपलब्ध गराउन सकिनन्। दोस्रो वर्ष उनले त्यहाँ आफ्ना सन्तानलाई पठाउनै छोडिदिइन्। र अर्को स्कुल पठाउन थालिन्।
उनले छोराछोरीलाई स्कुल पठाउन थालेको तीन वर्ष भयो।
'तीन वर्षमा तीनवटा स्कुल सारिसकेँ, त्यस्तो गर्दा पढाइ बिग्रिने रहेछ,' उनले भनिन्, 'अहिले फेरी यस वर्ष बोडिङ स्कुलमा हालेकी छु। छोरा यू केजी र छोरी नर्सरीमा छे।'
उनले थपिन्- 'त्यहाँ पनि जन्मदर्ता मागिरहेका छन्। अब कति सार्नु, यही पीरले म थाकिसकेँ।'
उनको श्रीमानसँग पनि कुनैपनि सरकारी कागजात छैन। उनले सेतोपाटीलाई बताएअनुसार उनकी आमाले रामलाई पशुपतिमै जन्माएर हुर्काएकी थिइन्। पछि उनकी आमालाई आफन्तहरूले गाउँ लिएर गए, राम भने यतै बसेका हुन्।
रामलाई पनि आफ्नो घरको केही ठेगाना थाहा छैन।
मायालाई पनि उनकी आमाले पशुपति क्षेत्रमै जन्माएकी थिइन्। उनकी आमाले ३ दिदीबहिनी त्यही हुर्काइन्। उनकी आमाले तीनजनासँग विवाह गरेकाले अरू पनि दिदीबहिनी र दाजुभाइ छन्।
उनको चिनजान पनि छ। सम्बन्ध राम्रै छ। तर उनीहरूले पनि नागरिकता बनाउनका लागि कुनैपनि सहयोग नगरेको उनी बताउँछिन्।
'मेरो आमा बितिसक्नुभयो, बुबाको नागरिकता छैन,' उनले भनिन्, 'अरू बुबाको पनि नागरिकता नभएर एकदुई जना दिदीहरूले श्रीमानको सहयोगमा नागरिकता बनाएका छन्। आफ्नो त श्रीमानकै नागरिकता छैन।'
उनलाई आफ्नो नागरिकता नबने पनि छोराछोरीको जन्मदर्ता बनाएर पढाउन पाए हुने भन्ने सपना बोकेर विभिन्न संघसंस्था धाइरहेकी छन्। उनी आफूजस्तै छोराछोरी सरकारी सेवासुविधा र पढाइबाट वञ्चित नहुन भन्ने उनको चहाना छ।
सीमा र माया जस्तै ५० वर्षको उमेरमा कुमारी (नाम परिवर्तन) नागरिकता बनाएर दुई छोराको भविष्य सुधार्छु भनेर दैनिक विभिन्न कार्यालय धाइरहेकी छन्।
उनलाई आफ्नो जन्मथलो कहाँ हो भनेर केही थाहा छैन। कुमारीलाई उनकी आमाले पशुपतिमै हुर्काइन्।
उनी १५/१६ वर्षको हुँदैगर्दा उनकी आमा पशुपतिमै बितिन्। त्यहीँका दुईचार जनाले पैसा उठाएर पशुपतिमा जलाइएको उनी बताउँछिन्। त्यसपछि उनी त्यही विभिन्न काम गरेर आमाका साथीहरूको छत्रछायामा हुर्किइन्।
त्यहाँ हुर्किने क्रममा उनले पशुपतिमा बस्ने युवकसँग १७/१८ वर्षको उमेरमा विवाह गरिन्। विवाहपछि पशुपति क्षेत्रमै बसिन्। दुई सन्तानलाई हुर्काइन्। पढाउन भने सकिनन्।
'आजभन्दा २० वर्ष अगाडि पढाउनुपर्छ भन्ने हेक्का नै भएनँ,' कुमारीले भनिन्, 'बिहान-बेलुका दुई छाक टार्न मुस्किल थियो। पढाउने तिर ध्यान नै गएनँ।'
उनका श्रीमानले पनि आफ्नो जन्मथलोको बारेमा कहिले केही गन्थन गरेनन्। उनले पनि कहिले चासो राखिनन्। ११ वर्षअघि श्रीमान पशुपतिमै बिते। त्यसपछि उनले छोराछोरीलाई हुर्काउनै धौ-धौ परेको उनी बताउँछिन्।
श्रीमान बितेसँग दुई सन्तानलाई दुई छाक कसरी खुवाउने भन्ने कुरामै उनको दिन बित्यो। तर दुई/तीन वर्ष अगाडिमात्र उनलाई नागरिकता बनाउनुपर्ने कुरा थाहा पाइन्।
उनका अनुसार जेठो छोरालाई बलात्कार आरोपमा डेढ वर्षदेखि नख्खु जेलमा राखिएको छ। प्रहरीले छोरालाई नियन्त्रणमा लिएपछि भेट्न जाँदा आवश्यक कागजात माग्यो। तर आफूसँग केही थिएन।
'श्रीमानको घरठेगाना केही थाहा छैन, नागरिकता थियो कि थिएँन पनि थाहा पाइनँ,' उनले भनिन्, 'मेरो पनि नागरिकता जन्मदर्ता केही छैन, अब छोराहरूको कसरी बनाउने केही पत्तो पाउन सकेकी छैन।'
उनी पशुपति क्षेत्रमै काम गरे हुर्किइन, बढिन् र मागेर आफ्नो र छोराको गुजारा चलाइन्। पशुपतिमा मागेर र कहिलेकाहीँ काम गरेर गुजार चलिरहेको थियो।
त्यहाँको पाटीमा गुन्द्री ओछ्याएर सुतेर उनले आधाभन्दा बढी उमेर कटाइन्। तर समय सधै एकनास हुँदैन।
पशुपति क्षेत्र विकास कोषले एक दशकअघिदेखि पशुपतिमा मागेर बस्न नदिने भन्दै दिनहुँ लखेट्न थालेपछि उनी पशुपति क्षेत्र नजिकै कोठा भाडामा लिएर बसेकी छन्।
उनका जेठा छोरा कारागारमा छन् भने कान्छा छोरा पशुपतिमै बस्छन्।
२०७४ मा पशुपति क्षेत्र विकास कोषमा मागेर बस्ने सबैलाई हटाउने निर्णय गर्यो। त्यतिबेला कोषले बताए अनुसार डेढ सयको हाराहारीमा माग्नेहरू बस्ने गरेको अभिलेख छ।
त्यतबेला दिनभर माग्ने र राति सत्तल, देवालय, पाटीपौवामा सुत्ने गर्दा पशुपति क्षेत्र खुला बस्ती जस्तै बनेको थियो। त्यही कारण मागेर गुजारा चलाउनेहरूलाई हटाउन पशुपति कोषले अभियान सुरू गर्नुपरेको कोषको भनाइ छ।
त्यसपछि त्यहाँ लामो समयदेखि बस्दै आएका मागेर गुजारा चलाउनेहरू लाखापाखा लागेका कोषका एक कर्मचारीले जानकरी दिए।
'बालबालिका र महिलालाई विभिन्न संस्थाको संरक्षणमा जिम्मेवारी दिइयो, कतिपयलाई रोजगारीसमेत दिइएको थियो,' कोषका एक कर्मचारीले भने, 'पटक–पटक कोषका कर्मचारीले लखेट्न थालेपछि त्यहाँ बस्नेहरू विस्तारै आसपास बस्न थाले हुन्।'
विश्वका हिन्दुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई मगन्तेरहित बनाउने क्रममा गणना गरिएकालाई रोजगारीमा जाने, घरमा पुनःस्थापित हुने, पुनःस्थापना केन्द्रमा पुर्याउने काम कोषले गर्यो।
पेशेवर रूपमा माग्ने काम गर्दै आएकालाई मन्दिर परिसरबाट सामाजिक जीवनमा पुनःस्थापना गर्नु चुनौती बन्यो। त्यसैले उनीहरू दिनभर त्यहाँबसेर माग्ने र रातमा बासबस्न कोठामा जाने कोषका कर्मचारीको भनाइ छ।
कोषले त्यहाँबाट हटाउने क्रममा सबैलाई पुन: स्थापना गर्न नसक्दा दुई/तीन पुस्तादेखि त्यही बस्दै आएकाहरू सन्तानले भने आज पनि समस्या झेलिरहेका छन्। उनीहरू अहिले पनि मागेर नै गुजारा चलाउने र कतिपयले अन्त काम थालेको कोषका कर्मचारीले जानकारी दिए।
उनीहरूजस्ता धेरैजना जसको दुई/तीन पुस्ताकै नागरिकता छैन? उनीहरूले कसरी नागरिकता पाउँछन्? यसबारेमा हामीले अधिवक्तासँगपनि सोधेका छौं।
नेपाल ल क्याम्पसको उप–प्राध्यापक तथा अधिवक्ता रूकमणी महर्जनका अनुसार सडक वा धार्मिक स्थलमा पुस्तापुस्तादेखि बस्दै आएकाहरूको हकमा नागरिकता लिनका लागि प्रष्ट कानुनी प्रावधान छैन।
केहीसमय अघि सडक बालबालिकालाई नागरिकता दिने भनिएको थियो। तर भारतीय बालबालिका पनि हुने भनिएपछि त्यस्ता बालबालिकाका लागि नागरिकता दिने कि नदिने भन्ने टुङ्गो लागिसकेको छैन।
'सडक बालबालिका जस्तै नेपालभित्रै हुर्किएका तर बा-आमाको ठेगना पत्ता नलागेकाहरूलाई वंशजको आधारमा नागरिकता पाउने कानुनी प्रावधान छ,' अधिवक्ता महर्जनले भनिन्, 'बा-आमाको ठेगाना खुलेको वा जीवित रहेको तर नागरिकता नभएका पुस्ताले भने नागरिकता पाउन मुस्किल छ।'
उनले भनिन्, 'दुई/तीन पुस्ता यही भए पनि बा-आमासँग नागरिकता छैन भने तीनका छोराछोरीले नागरिकता पाउन कानुनी प्रक्रिया अपनाउनु पर्छ।'
सर्वोच्च अदालतमा गएर निवेदन दिएर त्यहाँबाट मुचुल्का संकलन गरेर नागरिकता पाउने सम्भावना छ। तर यसका लागि लामो प्रक्रियाबाट जानुपर्छ। त्योबाहेक अन्य विकल्प नभएको उनी बताउँछिन्।
यसरी पुस्तापुस्ता धार्मिक तथा सडकमा बस्दै आएकाहरूलाई नागरिकता दिने वा नदिने भन्ने प्रष्ट कानुनी व्यवस्था छैन। त्यसैले यसरी धार्मिक स्थलहरूमा बसेका हजारौं अहिले पनि नागरिकताविहीन रहेको उनको भनाइ छ।
काठमाडौं महानगरपालिका वडा-८ का वडाध्यक्ष आशामान संगतका अनुसार पशुपति क्षेत्र विकास कोषका जन्मे हुर्केका मानिसहरूको व्यवस्थापन कोषले नै गर्छ। त्यहाँभित्र विगतमा मगन्ते जीवन बिताइरहेकाहरूको संख्या एकदमै धेरै थियो। अहिले विस्तारै कम भइरहेका छन्।
'उनीहरू कहाँ गए, के गरियो भन्ने वडालाई थाहा हुँदैन,' वडाध्यक्ष संगतले भने, 'त्यहाँ जन्मेहुर्केलाई वडाले सरकारी कागजात बनाउनका लागि केही सहयोग गर्न सक्दैनन्।'
धार्मिक क्षेत्रमा बसेर गुजारा चलाउनेहरूको लेखाजोखा सोही क्षेत्रले राख्ने गरेको उनको भनाइ छ।