लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारले यस वर्ष ‘घुम्न जाऊँ बर्दिया’ अभियान सञ्चालन गर्ने भएको छ।
बर्दियामा पर्यटकको संख्या बढाएर प्रदेशको आर्थिक समृद्धि बढाउने लक्ष्यसहित प्रदेश सरकारले घुम्न जाऊँ बर्दिया अभियान सुरू गर्न थालेको हो। यो अभियान आगामी २९ गतेदेखि प्रारम्भ हुने भएको छ। बर्दियाको ठाकुरद्वारामा यो अभियानको सुरूवात गरिने उद्योग पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ।
उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै आएको बर्दियामा पर्यटकहरूको थप आकर्षण बढाउन यो अभियान सुरू गर्न थालिएको बताए।
‘लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मध्यको एक बर्दिया जिल्ला हो, यहाँ पर्यटकहरूलाई आकर्षित गर्ने धेरै इभेन्टहरू छन्,’ मन्त्री न्यौपानेले भने, ‘यो वर्ष बर्दियामा धेरै भन्दा धेरै पर्यटकहरूलाई भित्र्याएर समग्र प्रदेशको आर्थिक समृद्धिको लक्ष्य लिएका छौँ।’
एक बर्से अभियानमा सरकारले बर्दियाका पर्यटकीय थलोहरूका बारेमा पर्यटकहरूलाई जानकारी दिने गरी प्रचारात्मक कार्यक्रमहरू सञ्चालन गरिने भएको छ।
बाह्य पर्यटकहरूलाई बर्दियामा आकर्षित गर्नका लागि प्रचारात्मक कार्यक्रम गरिने र यहाँ आउने पर्यटकहरूको सहजताका लागि सम्बन्धित पक्षसँग समन्वय गरिने मन्त्री न्यौपानेले जानकारी दिए।
‘बर्दिया जिल्लामा बाह्य पर्यटकहरू ल्याउनका लागि बर्दिया जिल्लाका पर्यटकीय स्थलहरूका बारेमा सूचना प्रदान गरिनु पर्यो, यसका लागि प्रचारात्मक कार्यक्रमलाई बढवा दिइने छ’, मन्त्री न्यौपानेले भने,‘यसका लागि बर्दियामा रहेका पर्यटकीय स्थलका बारेमा विभिन्न माध्यमबाट पर्यटकहरूलाई जानकारी गराउने काम हुनेछ।’
पर्यटकहरूको बर्दियामा प्रमुख आकर्षण भनेको यहाँ पाइने बाघ हो। बाघ हेर्नका लागि बर्दियामा पर्यटकहरू बढ्ने गरेका छन्। जंगल सफारी गरेर बाघ लगायतका जंगली जनावर हेर्न सकिने यो जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा बर्दिया राष्ट्रिय निकुञ्ज मानिन्छ। यसै गरी बर्दियाको दौलतपुर घाटमा पाइने डल्फिन बाह्य पर्यटकहरूका लागि थप आकर्षणको केन्द्र बन्ने गरेको छ।