'रसुवा नेचुरल स्प्रिङ वाटर' ले जापानमा यस वर्षको पिउने पानीको उच्च गुणस्तर 'गोल्ड क्वालिटी अवार्ड' पाएको छ।
रसुवामा प्रशोधन हुने 'रसुवा नेचुरल स्प्रिङ वाटर' करिब १२ देशमा निर्यात हुँदै आएको छ।
‘गोल्ड क्वालिटी अवार्ड' जापानमा पिउने पानीले पाउने सर्वाधिक गुणस्तर प्रमाण हो।
जापानमा एक वर्षअघि व्यावसायिक बिक्रीको अनुमति पाएको नेपालको पहिलो 'मिनरल वाटर' 'रसुवा नेचुरल स्प्रिङ वाटर'लाई टोकियोमा शुक्रबार एक कार्यक्रमबीच जापान अक्वा सोमेलियर एसोसिएसनले 'गोल्ड क्वालिटी अवार्ड' हस्तान्तरण गरेको हो।
अवार्ड नेपाली राजदूतावास जापानका राजदूत डा. दुर्गा बहादुर सुवेदीको उपस्थितिमा अक्वा सोमेलियर एसोसिएसनका प्रमुख यामानाकी आकीले 'रसुवा नेचुरल स्प्रिङ वाटर' जापान बिक्री वितरण गर्दै आएको हार्मोनी कम्पनी लिमिटेड जापानका अध्यक्ष योकोयामा दाईगोलाई हस्तान्तरण गरेका थिए।
जापान अक्वा सोमेलियर एसोसिएसनले जापानमा बिक्री वितरण हुने पिउने पानीको कम्पनीमध्येबाट एकलाई हरेक वर्ष गुणस्तरको आधारमा 'गोल्ड क्वालिटी अवार्ड' प्रदान गर्दै आएको छ।
जापानमा करिब ४ सय कम्पनीका विभिन्न ब्राण्डका मिनरल वाटर बिक्रीमा रहेको कम्पनीका अधिकारीले अवार्ड हस्तान्तरणका अवसरमा जानकारी दिएका छन्।
पानीको मूल, प्रशोधन, प्याकेजिङ, प्याकिङ बोतल, वितरण प्रणालीसहित खपतको अवस्थासम्मलाई मूल्यांकन गरेर जापान अक्वा सोमेलियर एसोसिएसनले दिने पानीको गुणस्तर मापनको यो अवार्ड तीन वर्षसम्म कायम रहने रसुवा पानीको जापान वितरण गर्दै आएको हार्मोनी कम्पनी लिमिटेड जापानका निर्देशक केशवराज घिमिरेले जानकारी दिए।
‘रसुवा नेचुरल स्प्रिङ वाटर' नेपालको रसुवा जिल्लामा 'रुद्रगंगा नेचुरल वाटर प्रालि' ले उत्पादन गर्दै आएको छ।