भुटानमा रहेका नेपालीभाषी ल्होछाम्पा समुदायले आफ्नो परम्परागत संस्कृतिअनुसार देउसी-भैलो खेलेर तिहार मनाएको यो भिडिओ हामीले सामाजिक सञ्जाल फेसबुकबाट लिएका हौं।
दक्षिणी भुटानको चिराङका कृष्णप्रसाद फुयालले नेपालीभाषी भुटानी समुदायले देउसी-भैलो खेल्दै गरेको भिडिओ आफ्नो फेसबुकमा राखेका छन्।
भुटानको शासनसत्ताबाट लामो समय सांस्कृतिक उत्पीडन खेपेका नेपालीभाषी भुटानी समुदायले तिहार मनाउँदै गरेको भिडिओ अर्थपूर्ण छ। यसले भुटानमा बसोबास गर्ने नेपालीभाषीहरूलाई आफ्नो चाडपर्व र रीतिरिवाज मनाउन पहिलेभन्दा सहज हुँदै गएको छनक दिन्छ।
यिनै चाडपर्व, रीतिरिवाज र भाषाका कारण भुटानले सन् १९९० दशकको सुरूआतसँगै एक लाख २० हजारभन्दा बढी नेपालीभाषी नागरिकलाई देशबाट लखेटेको थियो। जातीय सफायाको शिकार भएका ती नेपालीभाषी भुटानी नागरिकहरू झापा र मोरङका विभिन्न शिविरमा शरणार्थी भएर बसेका थिए।
तीमध्ये एक लाख १३ हजार तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका, अस्ट्रेलिया र केही युरोपेली मुलुक गएका छन्। अहिले पनि ६ हजारभन्दा बढी नेपालीभाषी भुटानी शरणार्थी झापाको बेलडाँगी शिविरमा छन्। तीमध्ये कतिपय शरणार्थी स्वदेश फिर्तीका निम्ति आन्दोलनरत छन्। उनीहरू अमेरिका, युरोप नगएर भुटान नै फर्किन चाहन्छन्।
यति मात्र होइन, भुटानले आज पनि राजनीतिक आस्थाका सयौं बन्दीलाई विभिन्न जेलमा अमानवीय ढंगले राखेका छन्। तिनैमध्ये रामबहादुर चाम्लिङ राई ३२ वर्षको जेल जीवन काटेर हालै रिहा भएका छन्। यसरी रिहा भएकालाई भुटानले आफ्नो भूमिमा बस्न दिँदैन। जेलबाट छुट्नासाथ सिधै नेपाल पठाइन्छ। रामबहादुर अहिले झापाको बेलडाँगी शिविरमा आफ्नी छोरीसँग बस्न आएका छन्। यसअघि २९ वर्ष जेल जीवन काटेर रिहा भएका मधुकर मगर पनि बेलडाँगी शिविरमै बस्छन्।
भाषिक र सांस्कृतिक दमनमा परेका नेपालीभाषी भुटानीहरूले सबभन्दा बढी माया गर्ने आफ्नो भाषा र संस्कृति नै हो। त्यसैले त, आफ्नो भूमिबाट निकै पर अमेरिका, युरोप र अस्ट्रेलिया पुनर्वासमा गएका नेपालीभाषी भुटानीहरूले पनि आजसम्म आफ्नो संस्कृति जिउँदै राखेका छन्। दसैं, तिहार लगायतका धार्मिक-सांस्कृतिक उत्सवहरू धुमधामसँग मनाउँछन्।
बेलडाँगी शिविरमा पनि उत्सवको यस्तै झलक देख्न पाइन्छ। उता भुटानमै रहेका नेपालीभाषीहरूले अनेकै दमन र उत्पीडनबीच आफ्नो संस्कृति मर्न दिएका छैनन्।
सेतोपाटीले केही समयअघि नेपालीभाषी भुटानी समुदायको ४०० वर्षको कथा शृंखला प्रकाशन गरेको थियो।
हामीले उक्त शृंखलामा भुटान राज्य कसरी बन्यो, त्यहाँ नेपालीहरूको प्रवेश कसरी भयो, कहिलेबाट भयो र कसरी उनीहरू आफ्नो देशबाट लखेटिएर शरणार्थी बने भन्नेबारे विस्तृत खोजी गरेका छौं।
उक्त शृंखला पढ्न यहाँ क्लिक गर्नुहोस्-