साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भोलि मात्रै अदालतमा लगिने भएको छ।
मंगलबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई बुधबार मात्रै काठमाडौं जिल्ला अदालतमा लग्ने तयारी भएको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहान अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार कसुर गरेको भन्दै पक्राउ पुर्जी लिएको थियो।
सिआइबीले बिहानै पक्राउ गरेको भए पनि थप अनुसन्धानका लागि उनलाई मेडिकल गराएर साइबर ब्युरोमा बुझाएको हो।
तर अबेर भएको र कागजातहरू मिलाउनुपर्ने नभ्याएकाले भोलि मात्रै उपस्थित गराउन लागिएको एसपी अवस्थीले बताए।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको अपुष्ट 'प्रमाण' प्रसाईंले सार्वजनिक गरेका थिए। प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएपछि उनलाई पक्राउ गरेको हो।
सम्बन्धित समाचार: पटक-पटक साइबर अपराध गरेको पुष्टि भए प्रसाईंलाई हुन सक्छ साढे ७ वर्षसम्म कैद सजाय
दुर्गा प्रसाईं पक्राउ
प्रधानमन्त्री ओलीमाथि दुर्गा प्रसाईंको जघन्य आरोप