दैलेखमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बिहीबार दुल्ले नगरपालिका–१३ का ४३ वर्षीय भुवनसिंह विकलाई पक्राउ गरिएको हो।
विकले सोही वडाका ५६ वर्षीय कर्णबहादुर कामीलाई धारिलो हतियार हँसिया प्रहार गरी हत्या गरेको आरोप छ।
बुधबार बेलुका साढे ५ बजेतिर उनले कर्णबहादुरमाथि धारिलो हतियार प्रयोग गरेको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिए।
हतियार प्रहारपछि गम्भीर घाइते भएका कर्णबहादुरलाई उपचारका लागि दुल्लु अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको डिएसपी दाहालले जानकारी दिए।
भुवनसिंहलाई घटनास्थलबाटै पक्राउ गरिएको हो। प्रारम्भिक सोधपुछका क्रममा धामी समेत रहेका कर्णबहादुरले आफूमाथि ‘टुनामुना’ लगाएर बिरामी पारेको भन्दै हतियार प्रहार गरेको बुझिएको दाहालले जानकारी दिए।