काठमाडौंमा शनिबारको तुलनामा एक दुई दिनयता चिसो कम भएको छ।
शनिबार काठमाडौंमा यो वर्षकै बढी चिसो महशुस भएको थियो। त्यसदिन न्यूनतम तापक्रम २ डिग्री सेल्सियस पुगेको थियो।
त्यसदिन जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियस पुगेको थियो।
शनिबारको मौसमले चिसो ह्वात्तै बढ्ने अनुमान लगाइएको थियो। यद्यपि आइतबारदेखि नै मौसम सुधार भएको थियो।
आइतबार काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको थियो। त्यसयता काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसभन्दा घटेको छैन बरू केही बढेको छ।
सोमबार र मंगलबार ४.८ डिग्री सेल्सियस मापन भएको थियो।
आज काठमाडौंको न्यूनतम तापक्रम ५.१ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद मीनकुमार अर्यालका अनुसार राति आकाशमा बादल जम्मा हुँदा र कम हावा चल्दा न्यूनतम तापक्रम अघिल्लो दिनको भन्दा केही बढ्न सक्छ।
'जुन रात फेरि अलि बढी सिरेटो लाग्यो। बढी हावा चल्यो भने न्यूनतम तापक्रम घट्न सक्छ। आकाश पनि सफा छ । हावा पनि बढी चलेको छ भने त्यो दिन फेरि तापक्रम घट्न पनि सक्छ,' उनले भने।
शनिबारको तुलनामा न्यूनतम तापक्रम बढ्नु भनेको राति कम हावा लागेको छ भन्ने बुझिने उनले बताए।
मौसमविद् अर्यालले तत्काल कुनै प्रणालीहरू नभएका कारण तापक्रम केही दिन यही सेरोफेरोमा रहने पनि बताए। चिसो बढ्ने समय भएकाले न्यूनतम तापक्रम बढ्दै जाने चाहीँ नहुने उनले बताए।
'पश्चिमी वायुको प्रभाव र पानी पर्ने सम्भावना अझै पनि रहन्छ। तत्काल २/४ दिनलाई देखिँदैन तैपनि कुनैपनि पानी परिहाल्यो भने तापक्रम घट्छ,' उनले भने, 'पानी नै नपरेपनि अधिकतम तापक्रम घट्यो भने त्यसले न्यूनतम तापक्रम पनि घटाउँछ। राति मौसम क्लियर भयो भने पनि त्यसले पनि घट्छ।'
त्यसकारण हिमाली र पहाडी भूभागमा तापक्रम केही दिन अहिलेकै सेरोफेरोमा रहने उनले बताए। तराईमा भने चिसो अझै बढ्ने सम्भावना रहेको मौसमविद् अर्यालले बताए।
काठमाडौंको अधिकतम तापक्रम बुधबार १८ देखि २० डिग्री सेल्सियससम्म रहने पूर्वानुमान छ।
बिहीबार देशैभरिको मौसम सफा रहने पनि मौसमविद् अर्यालले बताए। कोशी र कर्णालीको पहाडी भूभागमा सामान्य बदली हुने पूर्वानुमान रहेको उनले बताए।