काठमाडौं उपत्यकाका मुख्य तथा भित्री सडकहरूमा अहिले जताजतै पानी चुहावट भएको देख्न सकिन्छ।
चाबहिल–चुच्चेपाटी खण्डमा त भल जसरी नै सडकमा पानी बग्ने गर्छ।
चाबहिल–गौशाला सडकखण्डअन्तर्गत मित्रपार्क ओह्रालोमा पनि यही दुर्दशा छ।
लैनचौर–महाराजगञ्ज सडक खण्डअन्तर्गत त्रिवि शिक्षण अस्पतालअगाडि पनि ठाउँठाउँमा पानी चुहावट छ। निरन्तर पानी रसाइरहँदा कालोपत्रे सडक भत्किएर ठाउँठाउँमा खाल्डा परेका छन्।
कालोपुलमा मुख्य पाइपबाट पानी चुहिएको दुई वर्ष भइसकेको छ। तर अहिलेसम्म मर्मत गरिएको छैन।
चुच्चेपाटीको मूल सडकको चुहावट रोकिन अझै केही महिना लाग्ने केयुकेएलले जनाएको छ। पानी चुहावट भएको ठाउँमा माटो थुपारिएको छ।
काठमाडौं उपत्यकाभित्र गत साउनयता मात्रै तीन हजार ६ सय यस्ता चुहावट हुने ठाउँ पहिचान भएका थिए।
त्यसमध्ये तीन हजारदेखि तीन हजार दुई सय ठाउँका चुहावट मर्मत भइसकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोककुमार पौडेलले जानकारी दिए।
उनकाअनुसार अझै चार सयभन्दा बढी पहिचान भएका ठाउँको चुहावट मर्मत हुन बाँकी छ।
‘पहिचान भएका सबै ठाउँमा लिकेज (चुहावट) मर्मतका क्रममा छौं। कतिपय ठाउँमा सडक विभागसँग समन्वय हुन सकेको छैन। काठमाडौं महानगरपालिकासँग पनि समन्वयमा समस्या छ,’ उनले भने।
सडक डिभिजन काठमाडौंले भने केयुकेएल गैरजिम्मेवार बन्दा आफूहरूले मात्र नभई यात्रु र नागरिकहरूलेसमेत सास्ती बेहोर्नुपरेको बताएको छ।
जमिनमुनि बिछ्याइएको पाइपबाट पानी चुहावट हुँदा त्यसमाथि गरेको कालोपत्रे बिग्रन गई सडक हिलाम्मे हुने र आवागमनै प्रभावित हुँदासमेत केयुकेएल जबाफदेही बन्न नसकेको विभागको गुनासो छ।
‘काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई हामीले पटक-पटक ताकेता गरेका छौं। पत्र पनि पठाएर ध्यानाकर्षण गरेका छौं। उहाँहरूले चुहिएको पाइप समयमै मर्मत नगरिदिँदा आवागमन अवरूद्ध भएको, सडक नै डाइभर्ट गर्नुपरेको बताएका छौं। तर उहाँहरू निर्लज्ज ढंगबाट प्रस्तुत हुनुहुन्छ,’ सडक डिभिजन काठमाडौंका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर नारायणदत्त भण्डारीले भने।
उनले केयुकेएललाई पठाएका केही पत्र पनि देखाए।
सडक डिभिजन काठमाडौंले महांकाल शाखालाई गौशाला र मित्रपार्कको मूल सडकको चुहावट रोक्न कात्तिक २० गते पत्रचार गरेको थियो।
केयुकेएलले लैनचौर–बालाजु सडक खण्डको चुहावट मर्मत नगरिदिँदा कालोपत्रे नै रोकिएको उनले बताए।
‘हामीले महिनैपिच्छे पत्र पठाएर ताकेता गरिरहेका छौं। तर उहाँहरूले मर्मतका लागि बजेट नै छैन भन्नुहुन्छ। बजेट छैन भने पाइप मात्र ठीक ढंगले जोडिदिनूस्, भत्काएका संरचना बनाएर कालोपत्रे पनि हामी नै गर्छौं भन्दा पनि उहाँहरूले चासो देखाउनु हुन्न,’ भण्डारीले भने।
कुनै ठाउँमा पुरानो वितरण सञ्जालबाट पानी चुहावट भइरहेको छ। ती दीर्घकालीन समस्या दिने प्रकृतिका छन्। निरन्तर चुहिएर लामै सडक खण्डको कालोपत्रे नै काम नलाग्ने भइसकेकाले यथाशीघ्र मर्मत गर्नुपर्नेछ। तर केयुकेएल कानमा तेल हालेसरह भएको सडक डिभिजनको आरोप छ।
‘हामीले नयाँ सञ्जाल तयार गरिसकेका छौं। पुरानो पाइप सञ्जाल मर्मत गर्न र चुहावट रोक्न बजेट छुट्टयाएका छैनौं भन्नुहुन्छ। यसले पनि हामीलाई समस्या बनाइरहेको छ,’ डिभिजन प्रमुख भण्डारीले भने।
यही समस्या काठमाडौं महानगरले पनि व्यहोरिरहेको छ। काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले केयुकेएलका कारण महानगर आजित भएको बताए।
‘भर्खर सडक कालोपत्र गर्न पाएको छैन, भत्काउँदै आउँछ। हामीले समन्वय गर्न जाने हो र! उहाँहरूले आफै समन्वय गर्नुपर्यो नि! जताततै पाइप चुहिने भएको छ। कालोपत्र गर्न मिलेको छैन। समस्या बुझेर समाधानमा लाग्नुपर्ने हो नि!,’ उनले भने।
महालेखा परीक्षकको ६१ औं प्रतिवेदनले पनि यो समस्या चित्रण गरेको छ।
सडक, खानेपानी, सिँचाइ, विद्युतीकरण र सञ्चार लगायत पूर्वाधार विकास गर्दा अन्तरनिकायबीच समन्वय स्थापित हुन नसकेको प्रतिवेदनको निष्कर्ष छ। संसदको सार्वजनिक लेखा समितिले अन्तरनिकाय समन्वय गरी क्षति नहुने गरी निर्माण कार्य गराउन निर्देशन दिए पनि परिपालना नभएको देखिएको प्रतिवेदनमा भनिएको छ।
काठमाडौं उपत्यकामा नयाँ खानेपानी सञ्चाल बिछ्याइरहेको आयोजना कार्यान्वयन निर्देशनालय र सडक विभागबीच सम्झौता भएको थियो।
उक्त सम्झौताको बुँदा नम्बर ७ मा आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) बाट पाइप बिछ्याइसकिएको सडकमा विभागले मर्मत गर्दा तथा नयाँ काम गर्दा पाइपमा क्षति पुग्न गए पुनःनिर्माण गर्दा लाग्ने खर्च व्यहोर्नुपर्ने उल्लेख छ।
आयोजना कार्यान्वयन निर्देशनालयले २०७९-०८० सम्म १९ करोड ७६ लाख ६० हजार रुपैयाँ बराबर पाइपमा क्षति पुगेको मूल्यांकनसमेत गरेको छ।
तर अघिल्लो आर्थिक वर्षसम्म ४ करोड ३८ लाख ८५ हजार रुपैयाँ मात्र क्षतिपूर्ति दाबी गरेको छ। अर्थात क्षतिको मूल्यांकनको तुलनामा दाबी न्यून छ।
सडक, फुटपाथ तथा अन्य संरचना बनाउँदा यस प्रकारको क्षतिको सम्भावना अझ बढ्ने भएकाले अन्तरनिकाय समन्वय स्थापित गर्न महालेखाले ध्यानाकर्षणसमेत गरेको छ।
किन हुन्छ चुहावट?
काठमाडौं उपत्यकामा घरघरमा पानी पुर्याउन ‘डिआई’ अर्थात् डक्टाइल आइरन पाइप प्रयोग गरिरहेको छ। पहिले जिआई अर्थात् ग्याल्भनाइज्ड पाइप प्रयोग गरिएको थियो।
शीतयाममा तापक्रम घट्दा डिआई पाइप लिकेज हुने सम्भावना बढी हुने केयुकेएलका प्रवक्ता प्रकाश राईले बताए।
‘जाडोयाममा तापक्रम घटबढ हुँदा जिआई पाइपमा लिकेजको सम्भावना बढी नै हुन्थ्यो। डिआईमा पनि त्यो देखिँदोरहेछ। तथापि हामीले मर्मत गरिराखेका छौं,’ उनले भने।
शीतयाममा पानीको खपत कम हुने र वितरण प्रणालीमा रहेका पाइपमा पानीको चाप बढी हुने हुँदा पनि चुहावटको समस्या देखिने गरेको उनले बताए।
‘मेलम्चीबाट नियमित पानी आपूर्ति भइरहेको छ। चिसो याममा पानीको खपत तुलनात्मकरूपमा कम हुने हुँदा वितरण सञ्जालमा पानीको चाप बढी नै छ। यसले पनि चुहावटमा सहयोग पुर्याएको हुनसक्छ,’ राईले भने।
कतिपय ठाउँमा सडक डिभिजनले बाटो मर्मत गरिरहेकाले पनि आपूर्ति प्रणालीमा रहेका पाइपमा क्षति पुगेको र पानी चुहिएको उनले बताए।
सुख्खायाममा मेलम्ची पथान्तरण गर्दा पनि काठमाडौं उपत्यकाको खानेपानीको माग केयुकेएलले पूरा गर्न सकेको छैन। त्यसमाथि चार सय बढी ठाउँमा चुहावट नरोक्दा सडक लगायतका पूर्वाधारका साथै वितरण प्रणाली र उपभोक्ताको दैनिकीमै असर पुगिरहेको छ।
काठमाडौं उपत्यकामा अहिले दैनिक साढे ४८ करोड लिटर खानेपानीको माग रहेको केयुकेएलका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले जानकारी दिए।
उनकाअनुसार अहिले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी पथान्तरण भइरहेको छ। त्यसबाहेक काठमाडौं उपत्यकाका अरू स्रोतबाट दैनिक १० करोड लिटर आपूर्ति हुन्छ।
काठमाडौं उपत्यकामा साढे २१ करोड लिटर पानी अझै अपुग हुन्छ।
चुहावटका कारण पनि पानी वितरण अनियमित भइरहेको उपभोक्ताहरूको भनाइ छ।
केयुकेएलका प्रमुख कार्यकारी अधिकृत पौडेल अहिले घरघरमा सातामा दुई पटक पानी वितरण भइरहेको बताउँछन्।
मेलम्ची खानेपानी उपआयोजना–२ अन्तर्गत काठमाडौं उपत्यकामा २०६५/०६६ देखि खानेपानीको नयाँ सञ्जाल विस्तार गर्न थालिएको हो। अघिल्लो आर्थिक वर्षसम्म यस आयोजनामा ३७ अर्ब २८ करोड ५४ लाख खर्च भइसकेको छ। चक्रपथ बाहिरका सञ्जाल विस्तारको प्रक्रिया अघि बढिरहेको छ।
अहिलेसम्म थोकवितरणतर्फ १०२.५६ किलोमिटर पाइप बिछ्याउनुपर्नेमा ७९.२२ किलोमिटर पूरा भएको छ। वितरण सञ्जालतर्फ १ हजार ७८१ किलोमिटरमध्ये १ हजार ६०५ किलोमिटर अर्थात् ९०.१२ प्रतिशत काम पूरा भएको छ।
मेलम्ची खानेपानीको सुरूङ, हेडवर्क्स लगायतका संरचना बनाउन, पहुँचमार्ग र मुआब्जासमेत गरेर अघिल्लो आर्थिक वर्षसम्म ३१ अर्ब ३४ करोड रुपैयाँ खर्च भइसकेको छ।
काठमाडौं पानी पथान्तरण गर्ने हेलम्बुको मुख्य बाँध क्षेत्रको संरचना नै भेलबाढीले पुरेकाले मुहान एक किलोमिटर माथि हेलम्बुकै सर्कथली सार्नुपर्ने अवस्था छ। त्यसका लागि झन्डै चार अर्ब खर्च हुने प्रारम्भिक आकलन छ।
याङ्ग्री र लार्के खोलाबाट थप ३४ करोड लिटर पानी ल्याएर काठमाडौं माग धान्ने मेलम्ची आयोजनको लक्ष्य छ। पहुँच मार्ग लगायतका संरचनामा त्यहाँ पनि बाढीले क्षति पुर्याएको छ।
यो मेलम्चीको दोस्रो चरणको आयोजना हो।
काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजनाको दोस्रो खण्डका लागि एसियाली विकाससँग सरकारले १७० मिलियन २३ अर्ब, १५ करोड ९० लाख ४९ हजार रुपैयाँ बराबरको ऋण सहयोग स्वीकृत गरिसकेको छ।
त्यस्तै एसियाली विकास बैंकले सोही आयोजनाका लागि १५ मिलियन डलर अर्थात् २ अर्ब ४ करोड ३४ लाख ४५ हजार रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।
आयोजनालाई जापानसमेतले तीन मिलियन अमेरिकी डलर अर्थात् ४० करोड ४६ लाख ८९ हजार रुपैयाँ अनुदान दिने भएको छ।
अहिलेसम्म ६८ अर्ब ६२ करोड खर्चिएर ल्याएको पानी उपभोक्ताको धारामा नपुगी चुहिएर सडकमा खोला बग्न थालेपछि यसका पूर्वाधारमा गम्भीर प्रश्न उठेको छ।