नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइका लागि साउन १८ गतेको पेसी तोकिएको छ।
जाहेरवाला र साक्षी समेतको बकपत्र (बयान) सकेपछि साउन १८ गते सुनुवाइ गर्ने गरी पेसी तोकिएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
यस नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन उपप्रधान एवं ऊर्जामन्त्री समेत रहेका टोपबहादुर रायमाझी मुछिएका छन्। रायमाझी नेकपा एमालेका निलम्बित सांसद समेत हुन्। उनी हाल पुर्पक्षका लागि थुनामा छन्।
सूचना अधिकारी श्रेष्ठका अनुसार रायमाझी विरूद्धका जाहेरीवाला र साक्षी समेतले इन्कारी बयान कागज गराएका छन्।
‘ठगी लिखत कीर्ते र राज्यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुर’ को उक्त मुद्दाको साक्षी बकपत्र प्रस्तुत गर्दै प्रेमराज पन्थीले तत्कालीन अवस्थामा जिल्ला प्रहरी परिसर टेकुमा जाहेरीपत्रमा हस्ताक्षर मात्र गरेको र अन्य व्यहोरा आफ्नो नभएको उल्लेख गरे।
कानुन व्यवसायी अधिवक्ता धर्मराज रेग्मीले जिरह गर्दा पन्थीले टंक गुरूङको रेष्टुराँमा पटकपटक मूल प्रतिवादी सानु भण्डारी र केशव दुलालले बोलाएर जाने गरेको तर ती भेटघाटमा पूर्वमन्त्री रायमाझी र उनका स्वकीय सचिव लीला जिसी नरहेको लिखित बयान दिएका थिए।
पन्थीले जाहेरी लेख्दा आफूले ती कुरा उल्लेख नगरेको तथा आफूले एभरेष्ट होटलको चौथो तलामा सानु भण्डारीसँग मात्रै भेटेको, रायमाझीलाई नभेटेको स्पष्ट गरेको कानुन व्यवसायी अधिवक्ता रेग्मीले जानकारी दिए।
उनका अनुसार पूर्वमन्त्री रायमाझीको मुद्दा २९ महिनादेखि विचाराधीन अवस्थामा छ।
उक्त प्रकरणमा केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मासमेत मूल प्रतिवादी बनाइएकामा पूर्वमन्त्री रायमाझीलाई सहायक प्रतिवादी बनाइएपछि २०८० वैशाख २० गते जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो।
रायमाझी २०८० वैशाख ३१ गते पक्राउ परेका थिए।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले २०८० असार १ गते रायमाझीसहितलाई पुर्पक्षको लागि थुनामा पठाइएको थियो।
‘धरौटीमा रिहा भई मुद्दा लड्न पाउँ’ भनी जिल्ला अदालतको आदेशविरूद्ध रायमाझीले उच्च अदालत र सर्वाेच्च अदालतमा रिट निवेदन दिएको थियो। उक्त आदेशलाई नै उच्च अदालतले निरन्तरता दिएको थियो।
पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई उच्च अदालतले ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
(रासस)