सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको तर्फबाट तीन जना वकिलले बहस गरेका छन्।
बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलनको आरोप लागेका लामिछानेमाथिको मुद्दा जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा थुनछेक जारी छ। थुनछेकमा उनको पक्षबाट शुक्रबार तीन जनाले बहस गरेका हुन्।
वरिष्ठ अधिवक्ता सुशिल पन्त, सुरेन्द्र थापा र सञ्जय गोलेले बहस गरेका हुन्। तीन जनाले बहस गरेको भए पनि रविकै पक्षबाट आइतबार थप वकिलहरूले बहस गर्ने तयारी छ।
अधिवक्ताहरू सुरज बस्नेत, सुनीता राउत र पशुपति भण्डारीले पनि आइतबार बहस गर्ने तयारी छ। शुक्रबार जाहेरवालाको पक्षबाट वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले पनि बहस गरेका थिए।
आइतबार रवि पक्षका वकिलहरूले बहस गर्न सकेपछि जबाफी बहस गर्नेछन्। उक्त बहस सकेपछि न्यायाधीशले थुनछेक आदेश दिनेछन्।
रवि लामिछाने हाल परिवार र वकिलको जिम्मामा छाडिएका छन्।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधमा सरकारी वकिल कार्यालयले रवि लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर आइतबार मुद्दा दर्ता गरेको थियो।
गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोग पत्रबाट लामिछाने, पूर्वडिआइजी छविलाल जोशीसहित १४ जनाविरूद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको थियो।
मुद्दामा जिबी राई, लामिछानेसहित २८ जनाबाट ५५ करोड बढी र रवि, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र रविको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको छ।
सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए।