सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्।
काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बाएसी १९७९ नम्बरको कार र बर्दिबासबाट काठमाडौं आउँदै गरेको ना ३० प ८३२६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।
शुक्रबार बिहान १० बजे बिपी राजमार्गको गोलन्जोर गाउँपालिका-७ मा कार र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुनिलप्रसाद चौरासियाले जानकारी दिए।
उनका अनुसार मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका-५ बस्ने ३० वर्षीय सूर्यप्रसाद आचार्य र उनको पछाडि बस्ने बारा जितपुर-सिमरा उपमहानगरपालिका-४ बस्ने ३१ वर्षीय लोकनाथ वाग्ले घाइते भएका छन्।
'आचार्यको अवस्था गम्भीर छ भने वाग्ले मध्यम घाइते भएका छन्,' इन्स्पेक्टर चौरासियाले भने।
उनीहरू दुवै जनालाई शुभ-जीवन अस्पताल खुर्कोट पठाइएको छ भने कार चालक प्रहरीको नियन्त्रणमा रहेको उनले बताए।