पर्सामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा भड्काएको आरोपमा दुई जना र तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार दिउँसो शोभायात्रामा ढुंगामुढा र तोडफोड गर्ने चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा सुरूमा ढुंगा प्रहार गर्ने ३० वर्षीय शेख खुर्सेद र २२ वर्षीय सलाउद्दिन मियाँ ठकुराई छन्।
त्यस्तै भीड भड्किइसकेपछि तोडफोडमा उत्रिएका ३० वर्षीय बलजित सिंह र रवि सर्राफलाई पनि पक्राउ गरी अनुसन्धान गरेको हो।
'उनीहरू विरूद्ध सामाजिक सञ्जालबाटै प्रमाण संकलन भएका छन्। ढुंगा हानेको, तोडफोड गरेको देखिन्छ। अनुसन्धान हुन्छ,' उनले भने।
यसरी मानिस पक्राउ गरेपछि उनीहरूका आफन्तले जिल्ला प्रहरी कार्यालय पर्सा पुगेर प्रदर्शन गरेका छन्।
अहिले जिल्ला प्रशासन कार्यालयले वीरगञ्जमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।
त्यसअघि प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो।
अहिले निषेधाज्ञामा मानिसहरू दुई दुई जना गरी प्रहरी कार्यालयमा जम्मा भएको एसपी मिश्रले बताए।
'भेला भएकाहरूलाई हटाइएको छ। आज प्रदर्शनमा आएका दुई जना पनि नियन्त्रणमा छन्,' उनले भने।
भीड भड्काउने अभियोगमा पक्राउ परेकाहरूलाई बुधबार म्याद थप गर्ने तयारी छ।