सिराहामा यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्यु भएको घटनामा छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्।
बुधबार मन्त्री लेखकले आइजिपी दीपक थापालाई आवश्यक छानबिन गर्न निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ।
नवराजपुर गाउँपालिका-३ स्थित जगतपुर दोनवारी टोली २४ वर्षीया आनन्ददेवी सदायको मृत्यु भएको थियो। उनी मंगलबार घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
चार महिना अघि उनीमाथि यौन दुर्व्यवहार भएको थियो।
मृतक आनन्दीदेवी गत पुस ९ गते सिरहा बरियारपट्टी गाउँपालिका-१ मा बस्ने दिदीलाई भेट्न हिँडेको समयमा बखत स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवबाट यौन दुर्व्यवहार परेकी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एवं प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।
उनका अनुसार निजहरू उपर जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएकामा उनीहरू पक्राउ परेका छन्।
प्रहरी उपरीक्षक शर्माले आफू जिल्लामा आउनुअघिको घटना भएकाले यस सम्बन्धमा सुरुदेखि सुक्ष्म ढङ्गले अनुसन्धान गरिरहेको जानकारी दिए।
'गत फागुन २५ गते निजहरूविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको थियो। घटनालगत्तै पीडकहरू फरार छन्। उनीहरू नेपाल छाडी भारतमा लुकेका हुनाले खोजतलास गर्न चुनौती भए पनि प्रहरी प्रशासन निरन्तर लागिरहेको छ,' उनले भने, 'पीडितमाथि यौन दुर्व्यवहारलगत्तै प्रहरीले मेडिकल जाँच, जिल्ला अदालतबाट पीडकविरुद्ध पक्राउ पुर्जी जारी गर्ने काम गरेको छ।'
प्रहरी उपरीक्षक शर्माले आज मात्र घटनास्थल पुगी पीडितपरिवालाई भेटेको जानकारी दिए।
'मृतक आनन्ददेवीको दुई वर्षकी छोरी छिन्। आनन्दीदेवी एक वर्षदेखि माइतीमा बस्दै आएकी थिइन्। यौन दुर्व्यवहारमा परेकी आनन्दीदेवी माइतमा कोही नभएको बेला झुन्डिएको अवस्थामा हिजो मृत फेला परेकी हुन्,' उनले भने।
मृतकको शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। (राससको सहयोगमा)