सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा शिक्षकहरुका माग सम्बोधन गर्न सम्भव नरहेको बताएका छन्।
वुधबार झापामा न्युज एजेन्सी नेपालका प्रतिनिधिसँगको कुराकानीका क्रममा सभामुख घिमिरेले बजेट अधिवेशनमा बजेट सम्बन्धी विषयहरु नै बढी प्राथमिकता दिनुपर्ने भएकाले शिक्षकहरुका माग सम्बोधन गर्नसक्ने अवस्था नरहेको बताएका हुन्।
'अब आह्वान गर्ने अधिवेशनले पनि शिक्षा विधेयकलाई तुरुन्तै एक नम्बरको बुँदामा राखेर टुङ्ग्याएर अर्को विषयमा जानु सम्भव छैन । किनभने बजेट अधिवेशनले बजेटसँग सम्बन्धित विषयलाई नै प्राथमिकता दिनुपर्छ,' उनले भने।
त्यसकारण बर्खे अधिवेशनमा शिक्षा विधेयकलाई एक नम्बरको बुँदामा राखि टुङ्ग्याएर अर्को विषयमा जान सम्भव नरहेको सभामुख घिमिरेले बताए।
'बजेट जेठ १४ गते भित्रमा प्रस्तुत भइसक्नुपर्छ र असार मसान्तसम्ममा पारित भइसक्नुपर्छ। कानुनी प्रक्रियाको सीमाभित्रै बसेर काम गर्नुपर्ने बाध्यता हुन्छ,' उनले भने।
यद्यपि शिक्षा विधेयकलाई समेत ध्यानमा राखेर बजेट अधिवेशन केही छिटो बोलाइएको उनले बताए।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा टुंगिने बताएर शिक्षकहरूलाई आन्दोलन फिर्ता गरी कक्षाकोठामा फर्किन आग्रह गरेको छ।
शिक्षक महासंघले शिक्षकहरूको मागप्रति सरकार अनुदार भएकाले आन्दोलन निरन्तर जारी राख्नुको विकल्प नरहेको बताएको छ।
शिक्षकहरूले २०८० असोजमा भएको सहमति कार्यान्वयनको माग गर्दै काठमाडौंकेन्द्रीत आन्दोलन जारी राखेको छ।
शिक्षकहरूको माग सम्बोधनको विषयमा छलफल गर्न कांग्रेस-एमालेको दुईदलीय संयन्त्रको बैठक पनि बुधबार साँझ ५ बजे बस्दैछ। -न्युज एजेन्सी नेपाल