नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले विना दर्ता संचालन गरिएका स्कुटरको चेकजाँचलाई कडाइ गरेको जनाएको छ।
पछिल्लो समय यातायात व्यवस्था कार्यालयमा दर्ता नगरी नम्बर प्लेट र ब्लु बुकबिनै चलाउने क्रम बढेपछि कडाइ गरिएको हो।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्याम खत्रीले पछिल्लो पटक २२ वटा स्कुटरलाई कारबाही प्रक्रिया अगाडी बढाइएको बताए।
प्रहरी उपरीक्षक खत्रीका अनुसार गत चैत महिनामा मात्र चेकजाँचका क्रममा ५४ वटा स्कुटर नियन्त्रणमा लिइएको थियो। तीमध्ये ब्लुबुक सहितका आवश्यक कागजात लिएर आएपछि ३२ वटा स्कुटर सम्बन्धित व्यक्तिहरुलाई नै बुझाइएको र २२ वटा स्कुटर कारबाहीको प्रक्रियामा रहेको बताए।
पछिल्लो समय दर्ता नगरिएका स्कुटर बाक्लै देखिन थालेपछि दर्ता प्रक्रियामा कडाइ गर्न लागिएको उनले जानकारी दिए। दर्ता नै नगरेका सवारीसाधनले दुर्घटना गराएको अवस्थामा कारबाही गर्न र भागेको अवस्थामा खोज्न सम्भव छैन। सोही कारण दर्ता नगरी चलाइएका स्कुटरलाई कारबाही गरिएको उनले जानकारी दिए।
यस्तै ट्राफिक प्रहरीले वास्तविक स्वरुपलाई परिवर्तन तथा ध्वनी प्रदुषण गरी चलाउने २६ वटा मोटरसाइकललाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ विपरीत स्वरूप परिवर्तन तथा ध्वनी प्रदुषण गरी चलाउने मोटरसाइकललाई यातायात व्यवस्था कार्यालय मार्फत १० हजार सम्म जरिवाना लिन पाउने व्यवस्था छ।
सोहीअनुरुप चैत्र महिनामा मात्र २६ वटा मोटरसाइकलबाट २ लाख ६० हजार रुपैयाँ राजश्व संकलन गरिएको प्रहरी उपरीक्षक खत्रीले जानकारी दिए। खत्रीका अनुसार गत साउनदेखि चैत्र मसान्तसम्म स्वरुप परिवर्तन तथा ध्वनी प्रदुषण गरी चलाइएका १७३ वटा मोटरसाइकल कारवाहीमा परेका छन्। ती मोटरसाइकलबाट १७ लाख ३० हजार रुपैयाँ राजश्व संकलन भएको छ।
यस्तै बुटवल उपमहानगरपालिका भित्र दर्ता नगरी सञ्चालन गरिएका १३९ वटा अटो रिक्सालाई पनि कारबाही गरिएको छ। प्रहरी उपरीक्षक खत्रीले कारबाहीमा परेका अटो रिक्साबाट ८ लाख २४ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ।
बुटवल उपमहानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार २०७६ सालमै उपमहानगरपालिकामा दर्ता भएर एकहजार १८ वटा मात्र अटो रिक्सा सञ्चालन गर्न पाउने रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि बनाएको थियो।
तर व्यवसायी र अटो चालकहरुको व्यापक विरोधपछि रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि संसोधन गरी एकहजार ४४० वटा रिक्सा तथा अटो चल्न पाउने भनी संख्या निर्धारण गरेको छ।
बुटवलमा अहिले कति र अटो रिक्सा संचालन भइरहेका छन् भन्ने यकीन तथ्यांक कसैसँग छैन। चालक, व्यवसायी र बुटवलका सडकमा गुडिरहने रिक्साको चाप हेर्दा दैनिक तीन हजार हाराहारी रिक्सा तथा अटोरिक्सा गुड्छन्।
बुटवलको सडकको क्षमता र यात्रुहरुको चापभन्दा दोब्बर बढी रिक्सा एकैपटक सडकमा निस्किन थालेपछि बजार क्षेत्रको ट्राफिक व्यवस्थापनको लागि दर्ता नगरिएका रिक्सा संचालनमा रोक लगाइएको छ।
त्यस्तै हावाहुरी र सुख्खायाममा बढ्न सक्ने आगलागीका घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीलाई अग्नि नियन्त्रण तालिम प्रदान गरिएको छ।
प्रहरी उपरिक्षक खत्रीले नेपाली सेनाको मध्य पश्चिम पृतना हेडक्वाटर योगिकुटी व्यारेक बुटवलमार्फत ५० जना ट्राफिक प्रहरीलाई अग्नि नियन्त्रण सम्बन्धी प्रशिक्षण प्रदान गरिएको बताए।