दुर्गा प्रसाईंनिकट पब्लिक डिफेन्स फोर्स (पिडिएफ) का बागमती संयोजक तेजेन्द्र रायमाझी पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँ बस्ती बस्ने रायमाझीलाई पक्राउ गरेको हो।
उनी पिडिएफका बागमती संयोजक हुन्।
प्रहरीले उनलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो।
उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। राज्यविरूद्धको कसुर र आपराधिक उपद्रवमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।
चैत १५ गते काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईं नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको माग गरी प्रदर्शन भएको थियो।
उक्त प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले त्यस घटनामा संलग्न प्रसाईंसहित उनीनिकट व्यक्तिहरूलाई पक्राउ गरिरहेको छ।
अहिलेसम्म प्रहरीले ८५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये २३ जनालाई राज्यविरूद्धको कसुर, बाँकीलाई आपराधिक उपद्रवमा राखेको छ। १० जनालाई हाजिर जमानीमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।
राप्रपाका सांसद धवल शम्शेर राणालाई पनि उपचारका लागि प्रहरीले हिरासत मुक्त गरेको छ। उनी बुधबार उपचारका लागि भारत जाने कार्यक्रम छ।
साथै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अहिले हिरासतमा छन्।
प्रहरीले विभिन्न चरणमा पक्राउ परेका व्यक्तिहरूको बयान लिने काम गरिरहेको छ। सरकारी वकिलको कार्यालय काठमाडौंमा लगेर बयान भइरहेको हो।
अधिकांश थुनुवाको बयान भइसकेको स्रोतले बताएको छ। यद्यपि दुर्गा प्रसाईंको बयान हुन बाँकी छ। अन्यको अनुसन्धानमा खुल्दै जाँदा थप बयान पनि लिने काम भइरहेको हो।