प्रेम सम्बन्ध राखेर युवतीलाई भारतमा बेचबिखन गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ।
बैतडीको पञ्चेश्वर गाउँपालिका-४ का २३ वर्षीय मोहनबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार अछामको पञ्चदेवल बिनायक नगरपालिका-५ लयाटीस्थित आफन्तको घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
बैतडीका चन्द भारत बस्दै आएका थिए। उनले विभिन्न युवतीहरूसँग सामाजिक सञ्जालमार्फत चिनजान तथा सम्बन्ध बनाउने काम गर्थे।
आफू अविवाहित रहेको र विवाह गर्ने भन्दै विभिन्न युवतीसँग कुराकानी गरी प्रलोभनमा पार्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
त्यसरी युवतीलाई भारतसम्म लगेर बेचबिखन गरेको आरोप उनीमाथि छ।
चन्दले अछामकै एक युवतीलाई त्यसरी नै भारत पुर्याएको आरोपपछि प्रहरीले पक्राउ गरेको हो।
अछामकी युवतीलाई गत कात्तिक २८ गते त्यस्तै प्रलोभनमा पारेर भारत पुर्याएका थिए।
चन्दले ती युवतीसँग विवाह समेतको नाटक गरेको खुलेको छ। चार/पाँच दिन आफैँ बसेर बलात्कार गरेपछि अन्य पुरूषहरूले पनि बलात्कार गरेको प्रहरीले जनाएको छ।
पीडित युवती त्यहाँबाट भागेर नेपाल फर्किएपछि गत माघ ४ गते प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।
मानव बेचबिखन तथा ओसारपसार, शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन्।
त्यसबीच चन्दले अर्कै युवतीलाई पनि बेचबिखन गरेको डिएसपी चन्दले बताए।
चन्दमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।