नवलपरासीमा प्रहरीले स्रोत नखुलेको झण्डै ३६ लाख रुपैयाँ र लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले रामग्राम नगरपालिका वडा नं. ६ पोखरापालीबाट ३५ लाख ९९ हजार ८३५ नेपाली रुपैयाँ, ९ थान मोबाइल, विभिन्न नामका ६७ एम्पुल लागुऔषध र ट्याब्लेट, सिरिञ्ज तथा ४९७ मिलिग्राम हिरोइनसहित स्थानीय प्रेमनाथ बनियालाई पक्राउ गरेको हो।
लागुऔषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको प्रहरी टोलीले बनियाको घरमा खानतलासी गर्दा उक्त परिमाणमा नेपाली रुपैयाँ र लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए।
प्रहरीले बनियाले घरमै राखेर लागुऔषध कारोबार गर्दै आएको र उनलाई पनि घरबाटै पक्राउ गरेको जनाएको छ।
बनियाले लामो समयदेखि लागुऔषधको कारोबार गर्दै आएको सूचना पाएर भैरहवाबाट परासी पुगेको प्रहरीको ब्युरो टोलीले बिहीबार उनको घरमा खानतलासी गरेको थियो।
खानतलासीको क्रममा प्रहरीले टिनको ठूलो बाकसभित्र कपडासहित झोला र बाल्टीमा राखिएको अवस्थामा रकम बरामद गरेको थियो। बरामद भएको रकम लागुऔषध कारोबारकै हो वा अन्य कतैबाट आर्जन गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका बनिया यसअघि पनि लागुऔषध कारोबार, अभद्र व्यवहार लगायतका मुद्दामा सजाय भुक्तान गरी कारागारबाट निस्किएको व्यक्ति रहेको प्रहरीले जनाएको छ।