ललितपुरको जावलाखेलस्थित चिडियाखानाबाट दुर्लभ वन्यजन्तु रेड पाण्डा चोरीको प्रयास भएको छ।
मंगलबार अपराह्नतिर चिडियाखानामा आएका दुई जना युवकले चोर्ने प्रयास गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
ती दुई युवकले रेडपाण्डालाई झोलामा हालेर लैजाने प्रयास गरेको उनले बताए। तर पछि उनीहरूले रेड पाण्डा छाडेर भागेका थिए।
‘चिडियाखानामा एउटा रेडपाण्ड छ, दुई जना युवक आएका रहेछन्। उनीहरूले झोलामा हालेर लैजाने प्रयास गरेको देखियो। तर पछि उनीहरू त्यहाँबाट भागे,’ एससपी अधिकारीले भने।
घटनाबारे चिडियाखानाकै एक जना प्रतिनिधि र प्रहरीको संयुक्त टोलीले अहिले अनुसन्धान थालेको छ।
फरार भएका युवकहरूको खोजी भइरहेको एसएसपी अधिकारीले बताए।