काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको अनुसन्धान सकेसँगै आइतबार सरकारी वकिलले मुद्दा दर्ता गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले १०८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित गत बिहीबार सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो।
तर सरकारी वकिलले आइतबार ६१ जनाविरूद्ध मात्रै मुद्दा दायर गरेको हो।
५० जनाविरूद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर भएको हो। तीमध्ये दुर्गा प्रसाईंसहित ८ जनालाई ज्यान मार्न नहुने कसुर र ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरेको हो।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशम्शेर राणाविरूद्ध पनि राज्यविरूद्धको कसुरमा मुद्दा दर्ता भएको थियो। मुद्दा दायर गर्नलाई प्रहरीले उनीहरूलाई सम्पर्क गरे पनि उपस्थित नभएको प्रहरीले जनाएको छ।
बाँकी ११ जनाविरूद्ध आपराधिक उपद्रव मुद्दा दर्ता भएको हो। उनीहरूमाथि संगठित अपराधमा अनुसन्धान भएपनि संगठित अपराध गरेको तथ्य प्रमाणबाट नखुलेको भन्दै त्यसतर्फ मागदाबी लिइएको थिएन।
थप चार जनाविरूद्ध भने सरकारी वकिल कार्यालयले सोमबार मुद्दा दर्ता गर्दैछ। चार जना नाबालक भएकाले उनीहरूविरूद्ध भक्तपुर बाल अदालतमा मुद्दा दर्ता गर्न लागिएको जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले जानकारी दिए।
उनीहरूबाहेक ४३ जनाविरूद्ध भने विभिन्न कारणले मुद्दा नचलाउने निर्णय सरकारी वकिलले गरेको छ।
राज्यविरूद्धको कसुरमा पक्राउ परेका ९ जनाविरूद्ध सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेको हो।
गोपिकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, एनी कुँवर भन्ने अनिता कुँवर, दिपक खड्का, शिशिर जिसी, खेमराज सेढाई, मिनोज थापा र अनिल बस्नेतविरूद्ध मुद्दा नचलाउने निर्णय भएको हो।
उनीहरूविरूद्ध प्रमाण प्राप्त गर्न नसकेकाले मुद्दा नचलाउने निर्णय भएको थियो। दिपक खड्का दुर्गा प्रसाईंका अंगरक्षक हुन्।
'प्रस्तुत वरदातमा संलग्न रहेको वस्तुनिष्ठ प्रमाण हालसम्मको अनुसन्धानबाट नदेखिएकाले उनीहरूमाथि थप प्रमाण प्राप्त भएका बखत कानुन बमोजिम हुने नै हुँदा हाललाई उनीहरूमाथि मुद्दा नचलाउने गरी आजै निर्णय गरिएको छ,' सरकारी वकिलले गरेको निर्णयमा भनिएको छ।
त्यस्तै आपराधिक उपद्रवतर्फ २५ जनाविरूद्ध मुद्दा नचल्ने निर्णय भएको हो।
देवबहादुर थापा मगर, राजा ठाकुर हजाम, प्रसिद्ध मल्ल, नविन ढकाल, अशोक पराजुली भन्ने आलोक पराजुली, ईरफान हजाम, गणेशबहादुर गुरुङ, विवेक खनाल भन्ने विवेक रखाल, उपेन्द्रप्रसाद शाह, गणेश प्याकुरेल, सरुन थापा, स्टन भन्ने ईस्टन लामा, भविन्द्र वि.सि., विकास ओली, जिवलाल पुरी, आशिस तामाङ, लिला राना, मनिश कुमार शाही, भगवती रोक्का, सरिता केसी भन्ने सरिता खत्री, सुदर्शन थापा, सिता देवी राई, कृष्ण कुमार बस्नेत, मुकुन्द दाहाल र राज कुमार राईमाथि मुद्दा नचल्ने निर्णय भएको हो।
त्यसबाहेक थप ९ जनाविरूद्ध पनि सरकारी वकिलले मुद्दा चलाएको छैन।
उनीहरूको भने यकिन नाम थर वतन नखुलेकाले मुद्दा नचलाइएको जिल्ला न्यायाधिवक्ता निरौलाले बताए।
‘९ जनाको यकिन नाम थर वतन नखुलेकाले हो। खुलेको बेलामा पक्राउ परी आए त्यसअनुसार नै हुने गरी अघि बढेको हो,’ उनले भने।